राष्ट्रियताको बहस

विविध कारणले गर्दा नेपाली राष्ट्रियता अहिले इतिहासकै एक अत्यन्त नाजुक स्थितिमा छ । जसले राष्ट्रियता अस्मितामाथि समेत गम्भीर प्रश्नचिह्न खडा गरेको छ । ज्ञात रहोस् यस्ता संकटहरू विगतमा पनि पटक–पटक नआएका होइनन् । तर स्वाभिमानी तथा वीर नेपाली पुर्खाले तिनको डटेर सामना गर्न सकेकै कारण नेपाल राष्ट्र विश्व मानचित्रमा आजसम्म रहन सकेको हो । र, हामी सबैले नेपाली भनी गर्वले शिर ठाडो पार्न पाएका हौँ । तसर्थ, अहिलेका सबै राष्ट्रप्रेमी जनताको चिन्ता एवं चासोको विषय पनि वर्तमान विषम परिस्थितिमा नेपाली राष्ट्रि्रयताको जगेर्ना कसरी गर्ने भन्ने हो । जसका लागि यस गहन समस्याका जड तत्त्वहरू के–के हुन् ? र यो अवस्था पैदा गर्नमा को–को दोषी छन् ? सर्वप्रथम सो को पहिचान गरिनु आवश्यक हुन्छ ।
हामीलाई थाहा छ नेपाली राष्ट्रि्रयतामाथि अहिलेको यो गहिरो संकट एकै दिनमा आएको पक्कै होइन । यो नेपाली राष्ट्रि्रयताका आधारहरू बिस्तारै कमजोर हुँदै जानु तथा त्यसको सीमित देशी विदेशी शक्तिले गलत फाइदा लिन खोज्नुले गर्दा भएको हो । यसो हुनुमा नेपालको पञ्चायत सत्ता तथा बहुदलपछिका केही राजनीतिक नेतृत्वको स्वार्थी, अदूरदर्शी, अलोकतान्त्रिक र राष्ट्रघाती चरित्र मुख्य रूपमा जिम्मेवार छ । अहिले नेपाली राष्ट्रि्रयतामाथि चौतर्फी प्रहार भइरहेको छ । यसका आधारहरू, मूल्य एवं मान्यताहरू दिनानुदिन भत्काइँदैछन् । हो निश्चय नै इतिहासमा केही गल्तीहरू भएका छन् । तर, त्यसको विपरीत सम्पूर्ण नेपाली इतिहासलाई नै बंग्याउने र त्यसको गलत अर्थ लगाउने कार्यमा केही प्रायोजितहरूको भीड उद्यत छ । नेपाली समाजको स्वाभाविक विकासक्रमलाई बिथोल्ने, विभिन्न समूहलाई उत्तेजनामा ल्याउने, धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव बिथोल्ने, प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने, विभिन्न समुदायले मानिआएका संस्कृति, प्रथा, परम्परालाई नीच देखाउने, आदिजस्ता कार्यहरू विभिन्न नाममा खुलेआम भइरहेका छन् । जसले राष्ट्रि्रयतालाई कमजोर बनाउँछ । यस्ता छद्मभेषीहरूलाई नेपाली जनताले समयमै चिन्न सक्नुपर्छ ।
भनिन्छ कुनै पनि समुदायको अस्तित्वलाई विलिन बनाउनुछ भने सबैभन्दा पहिला तिनीहरूको संस्कृतिमाथि आक्रमण गर्नुपर्छ । र सांस्कृतिक धरोहरहरू जस्तै: भाषा, धर्म, प्रथा, परम्परा, सामाजिक मूल्य, मान्यताहरूलाई बिस्तारै कमजोर र खण्डित तुल्याउनुपर्छ । यो रणनीतिक हतियार औपनिवेशिक कालको सुरुआतदेखि नै साम्राज्यवादीहरूले तेस्रो विश्वका मुलुकहरूमा प्रयोग गर्दै आएका हुन् । जसको निरन्तरतामा आजका मितिसम्म कत्ति पनि कमी आएको छैन बरु विभिन्न स्वरूपमा झनै बढोत्तरी भइरहेको छ । किनकि सांस्कृतिक बिचलन सबैभन्दा ठूलो बिचलन हो । जसले मानिसको पहिचानलाई समाप्त पार्दै अस्तित्वविहीनजस्तै बनाइदिन्छ । संस्कृति नै हरेक मानव सभ्यताको सम्बल हो । त्यसैले पनि चिनियाँ नेता माओले सांस्कृतिक क्रान्तिका कुरा त्यति जोडदार ढंगमा गरेका होलान् । तर, माओवादको दुहाई दिने उनको सानो छिमेकी मुलुक नेपालका माओवादीले क्रान्तिका नाममा चलाएको भ्रान्ति उद्योग र सांस्कृतिक बिचलनलाई देखेका भए माओ पनि पक्कै स्तब्ध हुन्थे होलान् ।
राष्ट्रि्रयताको निर्माण केही विम्ब, प्रतीक, मिथक, ऐतिहासिक तथ्य, भौगोलिक एवं राजनीतिक अवस्थिति, इतिहास, धर्म, संस्कृति, सामयिक आवश्यकता, आदिको आधारमा हुन्छ । यसका मूर्त एवं अमूर्त दुवै पाटा हुन्छन् । नेपाली राष्ट्रि्रयता पनि यस्तै विविध तत्त्वहरूको संयोगबाट निर्मित भएको हो । अनेकतामा एकता बहुल (जाति, भाषा, धर्म, संस्कृति), धार्मिक सहिष्णुता, हिन्दुत्व, नेपाली सम्पर्क भाषा, हिमाल, पहाड, तराई, भूपरिवेष्ठितता आदि नेपाली राष्ट्रि्रयताका मौजुदा आधारहरू हुन् । तर, अहिले ती सबै आधारहरूमाथि चौतर्फी रूपमा निरन्तर प्रहार भइरहेको हुँदा नेपाली राष्ट्रियता इतिहासको एक अत्यन्त संकटापन्न स्थितिमा आइपुगेको हो ।
समयक्रममा ऐतिहासिक विकाससँगै राष्ट्रियताले पनि नवीन परिभाषा खोज्ने तथ्यलाई नकार्न सकिँदैन । नागरिक राष्ट्रवाददेखि जातीय राष्ट्रवादसम्मको आयामिक फड्को (पाराडाइम सिफ्ट) मा यसमा धेरै आरोह अवरोहहरू देखापरे । नेपालमा पनि शताब्दियौँ अगाडि विकसित र निरन्तरता प्राप्त राष्ट्रवादको नयाँ परिभाषा खोज्न सकिएको छैन । पृथ्वीनारायण शाहको ‘दुइ ढुंगाबीचको तरुल’ को अवधारणालाई वर्तमान आवश्यकताका आधारमा पुन: परिभाषित गर्न सकिएको छैन । वर्तमान नेपाली राष्ट्रवादलाई पहाडे वा महेन्द्र राष्ट्रवाद भनेर आलोचना मात्र गरिरहनुको कुनै तुक छैन । अहिलेको खाँचो राष्ट्रियताको नवीन अवधारणाको हो । जसले वर्तमान आवश्यकता र चुनौती तथा भविष्यका आकांक्षाको उचित सम्बोधन गर्न सकोस् । हिमाल, पहाड, तराई, पूर्व, पश्चिम, उत्तर, दक्षिण सबै भूगोलमा बस्ने नेपालीलाई एकताको सूत्रमा बाँध्न सकोस् । त्यस्तो स्पष्ट मार्गचित्र कुनै पनि राजनीतिक दलहरूले आजका मितिसम्म प्रस्तुत गर्न सकेका छैनन् । जसलाई आधार मानेर मुलुक समृद्धि एवं विकासको मार्गमा निश्चिन्तसँग दशकौँअगाडि लम्कन सकोस् ।
यदि पृथ्वीनारायण शाहको एकीकरणपश्चात् आधुनिक नेपालको इतिहास सुरु भएको मान्ने हो भने उनको एकीकरणको अभीष्ट पनि ठूलो देशको शासक बन्ने महत्त्वाकांक्षाभन्दा पनि छरिएर कमजोर रूपमा रहेका बाइसी चौबिसी राज्यहरूलाई एउटै सिंगो तथा सशक्त राज्य बनाउनु र विश्वमा बढ्दो ब्रिटिस साम्राज्यवादको क्रूर पञ्जाबाट यो भूभागलाई बचाउनु थियो भनेर बुझिनु पर्दछ । जुन भावना उनको दिव्योपदेशमा पनि अभिव्यक्त भएको पाइन्छ । अन्यथा उनीप्रति अन्याय गरेको ठहरिनेछ । र साँचो अर्थमा त्यतिबेलादेखि नै नेपाल राष्ट्र र नेपाली राष्ट्रि्रयता निर्माणको अभियान सुरु भएको मान्नुपर्ने हुन्छ ।
हरेक मुलुकका राष्ट्रियताका केही न केही मौलिक विशेषताहरू हुन्छन् र ती अर्को राष्ट्रको भन्दा नितान्त भिन्न हुन्छन् । यो दर्शन राष्ट्रि्रयताको सवालमा पनि धेरै हदसम्म मान्य छ । विगतको नागरिक राष्ट्रि्रयतादेखि वर्तमानको जातीय राष्ट्रि्रयतासम्मको लामो यात्रामा राज्यका विभिन्न स्वरूपहरू देखिएका भए तापनि चुरो कुराचाँहि राष्ट्र र जनताबीचको सम्बन्ध नै हो । राष्ट्रवाद राष्ट्रियताको सम्बल हो । राष्ट्रियता बलियो हुनका लागि त्यस राष्ट्रमा बस्ने सबै समुदायका जनताहरूबीच सुमधुर सम्बन्ध हुन जरुरी छ । राष्ट्रि्रय जीवनका विविध पक्षमा एकता तथा सौहार्दता कायम हुन सकेमा मात्रै राष्ट्रि्रयता सुदृढ हुन सक्दछ । जसका लागि समाजका हरेक तह र तप्काका अभियन्ताहरूको सकारात्मक भूमिका अपरिहार्य हुन्छ ।
‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ तथा ‘ज्यूँदै मर्‍यो त्यो जसले बिस्र्याे देशको माटो’ नेपाली साहित्यका मूर्धन्य स्रष्टा बालकृष्ण समका यी सर्वकालिक अभिव्यक्तिले देशभक्तिको अपूर्व महिमा उद्घाटित गरेको छ । यो साँचो हो कि यदि देशभक्ति मर्‍यो भने देश पनि मर्छ । देश भूगोलमा र जनताको मनमा सँगसँगै बाँच्न सक्नु पर्दछ । त्यही गहन र सघन जनभावना नै समग्रमा देशभक्ति हो । त्यसैले कुनै पनि देश दीर्घकालसम्म बाँच्नका लागि सबैभन्दा बढी त्यहाँ बस्ने जनताको मनमा बाँच्न सक्नुपर्छ । र, त्यो देशभक्ति जनताको मनमा जगाउन सक्नु नै एक असल राज्यको सफलता हो । जसमा राजनेताहरूको भूमिका अपरिहार्य हुन्छ । इतिहासमा लेखिएका वीरता अनि बलिदानीका कथा यिनै माटोको मायामा वशीभूतहरूको हो । जसले देशभक्तिको मोहजालमा आफ्नो जिउज्यान देशको नाममा अर्पण गरे र सहिदको सम्मानित दर्जा प्राप्त गरे । तर, हालको नेपाली परिवेशमा अपराधीहरूलाई समेत यो दर्जा दिएर राज्यले सच्चा सहिदहरूको र सहिद शब्दकै अपमान गरेको छ ।
राष्ट्रि्रयताको खोक्रो ढ्वाङ फुक्ने तथा अनावश्यक गह्रौँ भारी बोक्न चाहने दुवै पक्षको बीचबाट अब एउटा सन्तुलित एवं मध्यमार्गी शक्तिको उदय हुनु अपरिहार्य छ । जसले दुवै विपरीत ध्रुवबीच सन्तुलन कायम गर्दै र अतिवादीहरूका कुटिल चालहरूबाट चनाखो रहँदै राष्ट्रि्रयताको सामयिक परिभाषाको बलमा नेपाल राष्ट्र्र र नेपाली जनताको सुन्दर भविष्य कोर्न सकोस् । आशा गरौँ त्यो दिन धेरै टाढा नहोस् ।

प्रतिक्रिया