खोजखबर

सिडिओ सुँगुर धपाउँदै

सौर्य अनलाइन २०६९ भदौ २६ गते २३:५६ मा प्रकाशित

राजविराज, २७ भदौ । सप्तरीका सिडिओ हरिराज पन्त नगरपालिकाका सडकमा छाडा छाडिएका सुँगुर धपाउने काममा लागेका छन् । पन्त मंगलबारबाट छाडा सुँगुर नियन्त्रण अभियानमा लागेका हुन् ।

छाडा सुँगुरका कारण नगर दुर्गन्धित भएको गुनासो आए पनि राजविराज नगरपालिकाले बेवास्ता गरेपछि सिडिओ पन्त आफै अभियानमा सक्रिय भएका हुन् । ‘किक क्याच’ नाम दिइएको छाडा सुँगुर नियन्त्रण अभियानअन्तर्गत मंगलबार एक दर्जन सुँगुर नियन्त्रण गरिएको सिडिओ पन्तले बताए । सयौँको संख्यामा सडकमा छाडिएका सुँगुरका कारण नगर क्षेत्रमा फोहोर हुन थालेपछि सबै पक्षलाई समेटेर नियन्त्रण अभियान सुरु गरिएको उनले बताए । नियन्त्रणमा लिइएको सुँगुर कोसीटप्पु वन्यजन्तु आरक्षस्थित जंगलमा छाडिने भएको छ । नगरमा छाडा सुँगुरको आतंक नहटेसम्म अभियानलाई निरन्तरता दिइने पन्तले बताए ।
अभियानमा सिडिओ पन्त, एसपी गणेशबहादुर थापाक्षेत्री, डिएसपी गोविन्द अधिकारी, सशस्त्रका एसपी वेचन यादव, कृष्णदल गणका गणपति रामप्रसाद अधिकारी, नगरपालिकाका कर्मचारी र सरसफाइकर्मी तथा ‘मेरो नेपाल’ नामक गैरसरकारी संस्था सहभागी थिए । छाडा सुँगुरका कारण समस्यामा परेका नगरवासीले सिडिओको अभियानलाई समर्थन गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । राम्रो कामको सुरुआत भएको भन्दै अभियानमा सिडिओका पछाडि स्थानीयको ठूलो लर्को लागेको थियो । सुँगुरले मन्दिरको प्रसाद र घरमा राखेको भातसमेत नछोडेको भन्दै सुँगुर नियन्त्रण नभएसम्म अभियान जारी राख्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय