भाइरलबाट ६ को मृत्यु

चितवन : चितवनमा फैलिएको भाइरल ज्वरोका कारण ६ जनाको मृत्यु भएको छ । ज्वरो भाइरल इन्फ्लुयन्जा भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. विश्वराज खनालले बताए । ज्वरो इन्फ्लुएन्जा–बी भएको देखिएकाले अध्ययन गर्न केही बिरामीको स्याम्पल लिने र छिट्टै सार्वजनिक गरिनेसमेत उनले बताए । साउनको पहिलो सातादेखि २५ भदौसम्ममा चितवनमा ज्वरोका कारण ६ जनाको मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा दुई, चितवन मेडिकल कलेजमा तीन जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. खनाल र जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको टालीले तीन दिनदेखि चितवनका अस्पतालमा ज्वरोका कारणबारे अध्ययन गरेको थियो । अध्ययनपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको सरुवा रोग नियन्त्रण महाशाखा र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा चितवनको भरतपुरमा सम्पन्न ज्वरोसम्बन्धी अन्तरिक्रयामा यस्तो जानकारी गराइएको हो । चितवनका अस्पतालमा मृत्यु हुनेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका तीन र तीन चितवनकै रहेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. विजय पौडेलले बताए । चितवनमा पूर्वको जनकपुरदेखि पश्चिममा कपिलवस्तु र नजिकका पहाडी जिल्लाबाट समेत बिरामी आउने गरेका छन् ।
यस्तै, जाजरकोटमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयमा जाजरकोटमा शय्याको अभाव भएको छ । भाइरल ज्वरोका बिरामी अस्पतालमा भर्ना हुन आएपछि १५ शय्याको जिल्ला अस्पतालमा बिरामी राख्न समस्या परेको हो । गाउँगाउँबाट अस्पतालमा आएका बिरामीलाई बेड पाउन गाह्रो भएको अहेव रामप्रसाद शर्माले बताए । सोमबारसम्म अस्पतालमा बिरामी संख्या दुई दर्जन पुगेपछि बेड र ठाउँको समस्या परेको छ । उनले भने, ‘एक साताअघि मात्र अस्पतालका बेड खाली नै हुन्थे तर अहिले भाइरलको प्रकोप बढेपछि अस्पताल आएका बिरामीलाई भुइँमा राख्नसमेत ठाउँ छैन ।’ (सौस)

प्रतिक्रिया