प्रहरी जवानकै संलग्नतामा डकैती

विराटनगर, २७ भदौ । प्रहरी जवानकै संलग्नतामा एक साताअघि विराटनगरका दुई स्थानमा डकैती भएको प्रहरी अनुसन्धानमा देखिएको छ । १६ भदौमा विराटनगर–६ शान्तिटोलका सञ्जय भन्ने हितेन्द्र अग्रवाल र १८ भदौमा विराटनगर–४ वरगाछीस्थित नातिबाबु रिजालको घरमा भएको डकैतीमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान गौतम माझीसमेतको संलग्नता रहेको प्रहरी अनुसन्धानका क्रममा देखिएको हो ।

ती दुई स्थानमा भएको घटनामा सिआरभी टोलीमा खटिने गरेका प्रहरी जवान सुनसरी औरावनी–४ का २४ वर्षीय माझीसहितको समूहको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै घटनामा औरावनी–६ का सवारीचालक २५ वर्षीय मखन भन्ने निषनारायण माझी, औरावनी–५ का मजदुर २५ वर्षीय इन्द्रजित यादव, औरावनी–३ की गृहिणी तथा प्रहरी जवान माझीकी दिदी ३४ वर्षीया श्रीषा चौधरी र सवारीचालक विराटनगर–१६ का २६ वर्षीय राजन कामतको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
प्रहरीले उनीहरूका साथबाट बरामद गरेको जर्मनीमा बनेको एक थान अटोमेटिक पेस्तोल, एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली, तीन थान डेल कम्पनीको ल्यापटप, दुई थान नोकिया मोबाइल सेट, एक थान निकोन मल्टी क्यामेरा, एक थान एलजीको डिभिडी, एक थान भिभिटार मुभी क्यामेरा, घटनामा प्रयोग भएको को ४ प ५०७८ नम्बरको हिरोहोन्डा–एक्सजी मोटरसाइकल, केही गरगहना र तीन हजार ६ सय ७५ रुपियाँ नगदसहित सार्वजनिक
गरेको हो ।
प्रहरीले घटनामा संलग्न भनिएका विराटनगर–१६ का विक्रमकुमार दास चमार र अन्य दुई जना फरार रहेको बताएको छ । प्रहरीले शान्तिसुरक्षा कायम गर्न सञ्चालन गरेको गुन्डागर्दी नियन्त्रण विशेष अभियानकै क्रममा ती दुई स्थानमा डकैतीका घटनाहरू भएका थिए । प्रहरीका अनुसार १६ भदौमा उनीहरूले विराटनगर–६ स्थित शान्तिटोलका अग्रवालको घरमा डकैती गरेको थियो । राति करिब सवा ९ बजेतिर पाँच जनाको समूहमा आएका उनीहरूले घरको पछाडिपट्टिको ढोकाबाट प्रवेश गरी अग्रवालकी पत्नी र अन्य दुई कामदारलाई नियन्त्रणमा लिई लुटपाट गरेका थिए । त्यसपछि पुन: केही समयपछि घर आएका अग्रवालसमेतलाई नियन्त्रणमा लिएर सोही घरमा दोस्रोपटक लुटपाट गरेका थिए । लुटपाटका क्रममा उनीहरूले अग्रवालसँग पाँच लाख रुपियाँ मागेका थिए ।
त्यस्तै अग्रवालको घरमा डकैती गरेको दुई दिनपछि उनीहरूले पुन: १८ भदौमा बेलुकी सवा ८ बजेतिर विराटनगर–४ वरगाछीका रिजालको घरमा लुटपाट गरेका थिए । पाँच जनाको संख्यामा आएका उनीहरूले घरमा रहेकी रिजालकी पत्नी तथा अन्य महिला कामदारसमेतलाई हतियार देखाएर नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । तर, लुटपाट सुरु गर्नेबित्तिकै रिजालका बाबुले प्रहरीलाई खबर गरेपछि तत्काल प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेको थाहा पाउनेबित्तिकै उनीहरू एक थान पेस्तोल र चप्पलसमेत छाडेर इकराहीको बाटो हँुदै औरावनीमा रहेको श्रीषा चौधरीको घरमा पुगेका थिए । उनीहरूले लुटेको सामान श्रीषाकै घरमा राखेका थिए ।
रिजालको घरमा दिउँसै डकैती गर्न भनी आएका उनीहरूले घरमा निर्माणको काम भइरहेको देखेपछि घरछेउमा रहेको चिया पसलमा दिनभर बिताएका थिए । त्यसक्रममा चिया खान गएका रिजालका सवारीचालक बुद्धिकुमार तामाङसँग लुटपाटमा संलग्न भनिएका सवारीचालक मखनसँग चिनजान भएको र मोबाइल नम्बरसमेत साटासाट भएपछि सोही नम्बरका आधारमा प्रहरीले घटनामा संलग्नका बारेमा थाहा पाएको मोरङका एसपी निरजबहादुर शाहीले बताए । उनका अनुसार सोही नम्बरलाई आधार मानेर अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत प्रहरी जवान माझीसँग पनि मखनको पटकपटक सम्पर्क देखिएको थियो । त्यसपछि माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा घटनाको रहस्य खुलेको उनले बताए । प्रहरी जवान माझी पहिलो डकैतीको घटना हुनुभन्दा सात दिनअघिदेखि बिदामा बसेका थिए । चार दिनका लागि बिदा लिई घर गएका उनी दुवै घटनापछि मात्र कार्यालय फर्किएका थिए ।

प्रतिक्रिया