नेपाल सेमिफाइनलमा

कोलम्बो, २६ भदौ । कप्तान जमुना गुरुङले प्रतियोगितामा लगातार दोस्रो हयाट्रिक गरेसँगै नेपाल दोस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह–बीमा लगातार दोस्रो खेलमा फराकिलो जित हात पार्ने क्रममा नेपालले सोमबार कोलम्बोको सिआरएफसी मैदानमा भएको खेलमा माल्दिभ्सलाई ५–० ले पराजित गर्‍यो ।
नेपाल अंकतालिकामा ६ अंकका साथ पहिलो स्थानमा छ भने समूहचरणको खेल बाँकी छँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपालका लागि दीपा अधिकारी र अनु लामाले एक–एक गोल गरे ।
पाकिस्तानलाई पहिलो खेलमा ८–० को फराकिलो अन्तरले पराजित गर्ने क्रममा पनि चार गोल गरेकी जमुनाको यो चौथो अन्तर्राष्ट्रिय हयाट्रिक हो भने उनले यसै खेलसँगै अन्तर्राष्ट्रिय गोलसंख्या २४ पुर्‍याएकी छन् । लगातार १३ वर्ष राष्ट्रिय टोलीमा रहेकी जमुनाले यो महत्त्वपूर्ण सफलताको श्रेय टिमका अन्य खेलाडीलाई दिएकी छन् । ‘यो हयाट्रिकको सम्पूर्ण श्रेय म मेरो टिमलाई दिन चाहन्छु,’ उनले भनिन् ।
त्यसो त बलियो नेपालसँगको खेलमा माल्दिभ्स रक्षात्मक भएपछि जमुनाले हयाट्रिकको आस भने गरेकी थिइनन् । उनले तीनवटै गोल दोस्रो हाफमा गरिन् । माल्दिभ्सले खेलको लगभग सम्पूर्ण समय नेपाललाई रोक्न नै प्रयोग गर्‍यो । एउटा पनि उल्लेखनीय आक्रमण पनि नगरेको माल्दिभ्सले एउटा मात्र कर्नर पाएको थियो ।
नेपालले पहिलो आक्रमण भने पाँचाँै मिनेटमा गरेको थियो । प्रतियोगिताको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाल आर्मीकी दीपाले पाँचौँ मिनेटमा गोलको अवसर सृजना गरेकी थिइन् । दायाँ फ्लान्कमा राम्रो मुभ बनाएकी दीपाले उत्तिकै राम्रो क्रस गरेकी थिइन् । दीपाले गरेको क्रसमा जमुनाले डाइभिङ हेडको प्रयास गरे पनि उनले बल भेटिनन् । १९औँ मिनेटमा दीपाले प्रमिला राईको पासलाई उपयोग गर्दै गोल गरिन् । उनको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भयो ।
३५औँ मिनेटमा अनुले नेपालको अग्रता दोब्बर पारिन् । अनुले प्रमिलाको क्रसमा हेडमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । माल्दिभ्सका रक्षकहरूले कडा निगरानीमा राखेपछि पहिलो हाफमा जमुना गोल गर्न असफल भइन् । उनले ५९औँ मिनेटमा पहिलो गोल गरिन् । उनले अनुको पासलाई उपयोग गरेकी थिइन् । निर्धारित समय सकिन दुई मिनेट बाँकी हँुदा दीपाले दिएको पासलाई जमुनाले छातीले नियन्त्रणमा लिई कन्ट्रोल गर्दै सहज गोलमा परिणत गरिन् ।
तीन मिनेटपछि नै माल्दिभ्सकी डिडी साफा इब्राहिमको हयान्ड भएपछि प्राप्त पेनाल्टीमा जमुनाले सहज गोल गरिन् । नेपालका प्रशिक्षक किशोर केसीले आफ्नो टोलीमा सुधार आएको देखे पनि अझै धेरै गर्न बाँकी रहेको बताए ।
उनले टोली प्राविधिक रूपले राम्रो देखिए पनि मिडफिल्ड र फरवार्ड लाइनबीच राम्रो समन्वय हुन नसकेको बताए । मिडफिल्डर सजना राणा र निरु थापाको अनुसँगको तालमेल नमिलेको गुनासो केसीको रहयो ।
समूह–बीमा अफगानिस्तान चार अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तानले सोमबार भएको खेलमा पाकिस्तानलाई ४–० ले पराजित गर्‍यो । अफगानिस्तानले अन्तिम खेलमा नेपाललाई बराबरीमा रोके पनि सेमिफाइनल प्रवेश गर्नेछ । त्यो खेलमा अफगानिस्तान पराजित भए अर्को खेलमा बराबरी भए या पाकिस्तानले जिते या बराबरी भए पनि अफगानिस्तान सेमिफाइनल प्रवेश गर्नेछ । अफगानिस्तानको हार र माल्दिभ्सको पाकिस्तानमाथिको जितले गोल अन्तरको आधारमा दोस्रो हुने टोलीको चयन हुनेछ । एजेन्सी

प्रतिक्रिया