यसकारण सुनको अभाव

काठमाडौं, २६ भदौ । नेपाली बजारभन्दा भारतीय बजारमा सुनको मूल्य प्रतिकेजी ५० हजार रुपियाँ सस्तो छ । तर, नेपाली बजारबाट प्रतिदिन १० केजीका दरले भारतीय बजारमा सुन चोरी–निकासी भइरहेको छ ।

सुनचाँदी व्यवसायीका अनुसार यति हुँदा पनि सीमित व्यापारी र कालोबजारी गर्नेहरूलाई प्रतिकेजी एक लाख ६० हजार रुपियाँ फाइदा हुन्छ । अहिले भारतीय बजारमा सुनको मूल्य प्रतिकेजी सरदर ३० लाख भारु छ । नेपालमा चलेको मूल्य प्रतिकेजी सरदर ४८ लाख ५० हजार रुपियाँ छ । सोझो रूपमा भारतमा बेचिने सुनको मूल्यलाई नेपालीमा ‘कन्भर्ट’ गर्दा प्रतिकेजी ५० हजार रुपियाँ कम हुन आउँछ । कालोबजारी गर्नेहरूले यही ठाउँमा चलखेल गर्ने गर्छन् ।

तस्करहरूले भारतीय बजारमा प्रतिकेजी ३० लाख भारुमै सुन बेच्छन् । तर, उनीहरूले त्यो रकम सोझै नेपाल ल्याउँदैनन् । ती रकम उनीहरूले भारतमै रहेका नेपाली व्यापारीहरूलाई प्रतिभारु १ रुपियाँ ६० पैसालाई बढाएर १ रुपियाँ ६७ पैसाका दरले बेच्छन् । यसो गर्दा ३० लाख भारुको नेपाली ५० लाख १० हजार रुपियाँ हुन आउँछ । जब कि नेपाली बजारमा त्यति नै परिमाणको सुन बिक्री गर्दा ४८ लाख ५० हजार रुपियाँ मात्रै प्राप्त हुन्छ । अब भारतीय बजारमा बिक्री भएको सुनको मूल्य र नेपाली बजारमा बिक्री भएको सुनको मूल्य तुलना गर्दा एक लाख ६० हजार रुपियाँको फरक देखिन्छ । यही रकम तस्करहरूको खल्तीमा पुग्ने हो । यसरी तस्करहरू एक केजी सुनको एक लाख ६० हजार रुपियाँ कुम्ल्याउन सफल हुन्छन् ।
स्रोतका अनुसार नेपालबाट अवैध तरिकाले प्रतिदिन १० केजीका दरले सुन भारत निकासी हुन्छ । यस आधारमा प्रतिमहिना ३ सय केजी सुन भारतीय बजारमा पुग्छ । प्रतिकेजी एक लाख ६० हजारको दरले ३ सय केजी सुनको एक महिनामा खुद नाफा मात्रै ४ करोड ८० लाख रुपियाँ हुन आउँछ । यो तस्करहरूको खल्तीमा पुग्ने रकम हो ।
नेपाल रत्न तथा आभूषण संघका कोषाध्यक्ष नरेन्द्रकुमार गुप्ता भन्छन्, ‘नेपाली बजारमा सुनको अभाव हुनुको मुख्य कारण यही हो ।’ उनका अनुसार यस कार्यमा केही व्यवसायी तस्करसँग मिलेका छन् । तस्करहरू नेपालको वीरगन्ज, भैरहवा र जनकपुरको नाकाबाट भारतीय बजारमा पुग्ने गुप्ताको भनाइ छ ।
गुप्ताले तस्करबाट भारतीय बजारमा बिक्री भएका सुनको रकम महँगो मूल्यमा खरिद गर्नेहरू नेपाली व्यापारी रहेको बताए । भन्सारबाट आफूले चाहेको सामग्री कर नतिरी सजिलै भित्र्याउन सकिने भएकाले व्यापारीहरू भारतमै पुगेर तस्करहरूसँग महँगो मूल्यमा भारु खरिद गर्छन् । उनले भने, ‘भारतबाट सामान आयात गर्दा भारतीय व्यापारीलाई भारुमै मूल्य भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक भारु कानुनी रूपमा नेपाल राष्ट्र बैंकमा प्रज्ञापनपत्र दिएर लिनुपर्ने हुन्छ । यसो गर्दा कुन व्यापारीले कुन सामग्री कहाँबाट ल्याउँदै छ भन्ने जानकारी सबै भन्सार कार्यालयमा पुग्छ । व्यापारीले चाहेर पनि भन्सार छलेर सामग्री नेपाल आयात गर्न सक्दैन । तर, भारतीय बजारमा खरिद गरिएको भारुको कुनै कार्यालयमा रेकर्ड हुँदैन । यसो गर्दा व्यापारीले सजिलै भन्सार छल्न सक्छन् ।’
व्यवसायीका अनुसार यस कार्यमा नेपाल सुनचाँदी कम्पनीका केही पदाधिकारीसमेत संलग्न छन् । व्यवसायी भन्छन्, ‘तस्करहरूले उनीहरूकै संरक्षणमा भारतीय बजारमा सुन तस्करी गरिरहेका छन् ।’ उनीहरूले यस कार्यमा नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य, संघका महासचिव तथा नेपाल सुनचाँदी कम्पनीका अध्यक्ष माणिकरत्न शाक्य, सालीमार ज्वेलर्सको लगानी रहेको ज्वालाजी ट्रेडर्सलगायत व्यवसायी संलग्न रहेको अरोप लगाएका छन् ।
संघका महासचिव तथा कम्पनीका अध्यक्ष शाक्यले भारतीय बजारमा सुन तस्करी भएको बारे जानकारी नभएको बताए । सुन तस्करीमा आºनो संलग्नता नभएको जिकिर गर्दै उनले भने, ‘आरोप त जसले जसलाई पनि लगाउन सक्ने भयो नि ?’ उनका अनुसार नेपाली बजारमा सुन कमी देखिनुमा बजारमा सुनको माग धेरै भएकाले हो । शाक्यले भने, ‘नेपाली बजारमा दैनिक २० देखि २५ केजी सुनको आवश्यकता पर्छ तर अहिले प्रतिदिन १५ केजी सुन मात्रै आयात गर्ने अनुमति छ, यसैले पनि बजारमा सुन कमी भएको हो ।’

प्रतिक्रिया