प्रचण्डको “सवारी”मा चितवनका विद्यालय बन्द

चितवन, २६ भदौ । सोमबार सार्वजनिक बिदा होइन तर चितवनका सारा विद्यालय बन्द भए । बन्द हुनुको कारण थियो, एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालको जिल्लामा ‘सवारी’ ।

प्रचण्ड आफ्नो गृहजिल्लामा आउँदा तीन सयभन्दा बढी सामुदायिक तथा एक सय ५० निजी विद्यालयको पठनपाठन बन्द भएको हो । बन्दबाट करिब एक लाख ५० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । प्रचण्डको प्रमुख आतिथ्यमा भएको अखिल नेपाल शिक्षक संगठन चितवनको छैटाँै जिल्ला सम्मेलनका लागि विभिन्न शिक्षक संगठन र प्याब्सन चितवनले विद्यालय बन्दको आह्वान गरेका थिए । नेपाल शिक्षक युनियन, अखिल नेपाल शिक्षक संगठन, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र प्याब्सन चितवनले सबै विद्यालय बन्द गर्न सहमति गरेपछि सरोकारवालाहरूसहित विभिन्न संघ–संगठनले विरोध गरेका थिए तर आयोजकले कुनै सुनुवाइ गरेनन् ।

संगठनको छैटाँै जिल्ला सम्मेलनमा शिक्षकहरू सहभागी हुनुपर्ने भएकाले वर्षेबिदाबाट कट्टा हुने गरी एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको अखिल नेपाल शिक्षक संगठनका जिल्ला संयोजक टेकबहादुर थापाले बताए । उता सोही कार्यक्रममा सहभागी भएका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विद्यालय शान्तिक्षेत्र भएको भन्दै शिक्षकहरूलाई विद्यार्थीको भविष्यमा ख्याल गर्न आग्रह गरे । उनले सबै शिक्षक संगठन मिलेर बन्दको आह्वान गरेकाले आफूले प्रयत्न गरे पनि विद्यालय बन्द फिर्ता गराउन नसकेको प्रतिक्रिया दिए ।
अध्यक्ष प्रचण्डले कार्यक्रममा विद्यालय बन्दका विषयमा खासै बोलेनन् । कार्यक्रममा सहभागी भएका अन्य शिक्षकका नेताहरूले पनि कुनै प्रतिक्रिया दिएनन् । यसअघि विद्यालय बन्द गर्ने घटना ‘पूज्यहरूको त्याज्य व्यवहार’ भएको इन्सेकले टिप्पणी गरेको थियो । पेसागत संस्थाको नियमित क्रियाकलापका लागि डेढ लाख विद्यार्थीको पढ्न पाउने अधिकार हनन हुने गरी समझदारी गरिनु अत्यन्त गैरजिम्मेवार र अराजकताको पराकाष्ठा भएको इन्सेक चितवनका संयोजक मुकुन्द दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै नेपाल विद्यार्थी संघ चितवन, अनेरास्ववियु चितवन, अखिल क्रान्तिकारी, अखिल छैटाँैलगायतका विद्यार्थी संगठनले पनि संयुक्त विज्ञप्ति जारी गरी विद्यालय बन्दको कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेका थिए । यस्तै संस्थागत विद्यालय अभिभावक संघ चितवनका अध्यक्ष राजेन्द्र न्यौपानेले विज्ञप्ति जारी गरी विद्यालय बन्द गर्नाले विद्यार्थीमा नकारात्मक प्रभाव पर्ने र यसले भोलिका दिनमा समेत निरन्तरता पाउन सक्ने भन्दै जिम्मवार बन्न आयोजकलाई आग्रह गरेका थिए ।
जिल्लाभरमा प्रावि, निमावि र मावि गरी तीन सय ८८ सामुदायिक/सरकारी विद्यालय र एक सय ६६ निजी/संस्थागत विद्यालय छन् । सामुदायिक/संस्थागत दुवैका ७५ हजार ९ छात्रा र ७१ हजार एक सय ४४ छात्र छन् । चितवनमा एक लाख ४६ हजार एक सय ५३ विद्यार्थी अध्ययनरत रहेका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादी दुवै दलसँग आबद्ध अखिल नेपाल शिक्षक संगठनको विद्यालय बन्द गर्ने कार्यक्रममा सहमति रहेको छ ।
यसअघि गएको शैक्षिक सत्रमा ३३ दिन विभिन्न कारण चितवनका विद्यालय पूर्णरूपमा बन्द भएको इन्सेक चितवनले प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसपछि प्राकृतिक प्रकोप वा अन्य भयावह घटनाबाहेक शैक्षिक गतिविधि सञ्चालन हुने दिन विद्यालय बन्द नगर्ने प्रतिबद्धता सबै सरोकारवालाले जनाएका थिए । तर, प्रतिबद्धताविपरीत विद्यालय बन्द गर्ने सहमति शिक्षक संगठन र विद्यालय सञ्चालकबाट भएपछि यसको चौतर्फी कडा आलोचना भएको छ ।

प्रतिक्रिया