तेह्रथुममा भाइरल ज्वरोको प्रकोप

ताप्लेजुङ, २४ भदौ । तेह्रथुमको इवा गाविसमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिए पछि सर्वसाधारण प्रभावित भएका छन् ।
ज्वरोबाट अधिकांस स्थानीयवासी विरामी परेका छन् । विरामीलाई सुरुमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने जस्ता लक्षण देखिएको छ ।
रोग नियन्त्रण बाहिर गएकाले अधिकांस विरामी पाँचथर अस्पतालमा रिफर गरिएको इवा स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मण विश्वकर्माले बताए ।
‘दैनिक ३०/४० विरामी आउने गरेका छन्,’ उनले भने, ‘विरामीको चाप बढेको छ तर स्वाथ्य चौकीमा सिटामोल पनि छैन ।’
उनले औषधि अभावका कारण उपचार पछि विरामी खालीहात फर्कन बाध्य भएको बताए ।
भाईरल ज्वरोका विषयमा जिल्ला अस्पताल तेह्रथुममा एकसाता अघि जानकारी गराए पनि अस्पतालले खासै चासो नदेखाएको विश्वकर्माको गुनासो छ ।
अस्पतालले ढुवानीको समस्या देखाउँदै औषधि ल्याउन ढिलाई गरेको छ । प्रकोप फैलिएको इवा गाविस सदरमुकाम म्याङलुङदेखि डेढ दिनको पैदल दुरीमा पर्छ ।

प्रतिक्रिया