कामचलाउ फेसबुक

काठमाडौं, २५ भदौ । फेसबुक युवापुस्तामाझ निकै लोकप्रिय छ । विशेषगरी सहरी युवालाई आफ्नो मोहजालमा कैद गरेको छ । फेसबुकमा बस्ने युवा घन्टौँ बितेको पनि पत्तो पाउँदैनन् । यही नाम सापटी लिएर बनाइएको चलचित्र फेसबुकबाट पनि तपाईंले यस्तै रोमाञ्चकताको अपेक्षा गर्नुभयो भने तपाईं निरास हुनुहुनेछ । सुनीलकुमार थापाले निर्माण गरेको चलचित्र फेसबुक प्रचारप्रसारका हिसाबले तामझामपूर्ण लागे पनि हलमा पुगिसकेपछि भने त्यो ‘रिचनेस’ पाइँदैन । कुनै नौलो कथाजस्तो लाग्दैन, पुरानै शैलीको प्रस्तुति ठीकै खालको मात्र छ ।
शीर्ष भूमिकामा अभिनय गरेका स्वतन्त्र प्रताप शाह (योदिन) र झरना थापा (संस्कृति) का वरिपरि घुमेको छ पूरै चलचित्र । सिंगापुर बस्ने योदिन र काठमाडौंकी संस्कृतिलाई फेसबुकले नजिक्याउँछ, प्रेममा पर्छन् । अरूको षड्यन्त्रका कारण सबै सम्पत्ति गुमाएर बुबा टाट पल्टिएपछि संस्कृति एउटा डिपार्टमेन्ट सेन्टरमा काम गर्न थाल्छे । कामकै सिलसिलामा कम्प्युटर इन्जिनियरिङ कोर्स सकेर फुर्सदमा बसेको विवेकसँग उनको भेट हुन्छ । उनीहरूले साथी बटुल्छन् र योजना बनाउँछन् । योजनामुताबिक सिंगापुरमा करोडौँको व्यवसाय गर्ने योदिन प्रेमिकाको आग्रहमा नेपाल आउँछ । यहाँ आउनासाथ उसको अपहरण हुन्छ । उसलाई खोज्न मामा (सुनील थापा) र संस्कृति पुलिसको शरणमा पुग्छन् । सिभिल पोसाकमा हिँड्ने डिएसपी नेपालको हातमा यो केस पुग्छ । अपहरण किन र केका लागि भन्नेमै चलचित्र अन्त्यसम्म रुमल्लिएको छ । क्लाइमेक्सको केही अगाडि
मात्र अपहरणको रहस्य खुल्छ । एका दुई
ठाउँमा फेसबुक प्रयोगको प्रसंग देखाएर चलचित्रको नाम पुष्टि गर्ने प्रयास गरिएको छ । तर, सुरुदेखि अन्त्यसम्म पैसाका लागि अपहरण, हत्या–
हिंसा र साथीबीचको धोकाका प्रसंग बढी रहेकाले नाम चलचित्रसँग मेल नखाएझैँ देखिन्छ ।
कथामा नवीनता नभए पनि एकपछि अर्काे आउने दृश्यले दर्शकलाई कौतूहल पैदा गराएर बाँधेर राख्न सक्छ । झरना थापाले विगतका रोनाधोनावाला भन्दा बिल्कुलै पृथक् अभिनय गरेकी छन् । निर्देशक सुरज सुब्बाको अघिल्लो चलचित्र ‘सायद’ कै जस्तो आशा गरेर जाने दर्शक यसमा भने निरास हुन सक्छन् । त्यसो त कति कुरा सायदसँग मिल्दाजुल्दा पनि लाग्छन् । यद्यपि, अनावश्यक दृश्य राखेर चलचित्र लम्बाउने परिपाटीबाट भने यो चलचित्र मुक्त हुन खोजेको छ ।
चलचित्रका गीत मात्रै सिंगापुरमा खिचिएका छन् । अन्य कथानक दृश्य एउटै पनि त्यहाँ खिचिएका देखिन्नन् । जसले सिंगापुरै पुगेर यो चलचित्र छायांकन गर्नुपथ्र्यो भन्ने कुराको औचित्य पुष्टि गर्दैन । स्वतन्त्र प्रताप शाहको अभिनय निकै राम्रो छ । तर, उनलाई चलचित्रको बीचमा एकाएक लाटो भूमिकामा प्रस्तुत किन गरियो, त्योचाहिँ प्रस्ट हुन सकेको छैन । यस्ता अरू पनि केही प्रसंग छन्, जसले निर्देशनमाथि औँलो ठडिन सक्ने ठाउँ राखेका छन् । सुवास थापा (विवेक) को अभिनय पनि प्रशंसायोग्य छ । सायदमा उत्कृष्ट अभिनय देखाएका विल्सनविक्रम राई यस चलचित्रमा चाहिँ फिका लाग्छन् । चलचित्रको द्वन्द्वमा केही फरकपन छ । सुनील थापा (मामा) लाई सुरुमा मेजर क्यारेक्टरजसरी प्रवेश गराइए पनि बीचमा पात्रहरूको गोलमालसँगै उनी हराउँछन् । प्रारम्भमा राजेश हमाललाई जसरी स्ट्रोङ देखाइएको छ, अन्त्यसम्मै त्यसरी लैजान
सकेको छैन ।
करिब साढे दुई घन्टाको यो चलचित्र मध्यान्तरसम्म ‘स्लो’ लाग्छ । चर्चा गरिएजतिको मनोरञ्जनपूर्ण नभए पनि यो चलचित्र अपराधको अन्त्य नराम्रो नै हुने सन्देश दिन भने सफल छ । समग्रमा भन्नुपर्दा यसले नेपाली चलचित्र भण्डारमा एउटा संख्या मात्र थपेको छ ।

प्रतिक्रिया