इलाममा सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय बुद्धिचाल

काठमाडौं, २५ भदौ । नेपाली बुद्धिचालकै इतिहासमा सर्वाधिक नगद पुरस्कार राशिको रामप्रसाद गौतम स्मृति अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता इलाममा असोज दोस्रो सातादेखि हुने भएको छ ।
इलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता ८ देखि १३ असोजसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा करिब १० राष्ट्रका २०० खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो ।
शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश: ६० हजार, ४० हजार र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । २०औँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार दिइने बताइएको छ । यसबाहेक अन्य विभिन्न २० विधामा पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
फिडे स्विस लिग प्रणालीअनुसार १० राउन्डसम्म खेल सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा गजुरमुखी निर्माण कम्पनी प्रालि तथा सह–प्रायोजकमा निर्माण व्यवसायी महासंघ, काठमाडौं रहेको छ । प्रतियोगिताको अनुमानित बजेट १३ लाख ९० हजार रुपियाँ रहेको छ ।
प्रतियोगितामा अमेरिकाका जिएम तथा अस्ट्रेलिया र भारतलगायत देशका आइएमको सहभागिता निश्चित भइसकेको छ । साथै युएई, बंगलादेश, श्रीलंकालगायत अन्य देशका उपाधिधारी खेलाडी पनि सम्पर्कमा रहेको आयोजक कमिटीले जनाएको छ । सहभागी सम्पूर्ण खेलाडीलाई आवासको व्यवस्था आयोजकले नै गरेको छ । यसैगरी, रेटिङ क्याटोगोरी, उमेरसमूह र महिलामा भिन्नाभिन्नै पुरस्कार राखिएको छ । रामप्रसाद गौतम प्रायोजक संस्था गजुरमुखीका संस्थापक हुन् । प्रायोजक संस्थाका अध्यक्ष दीपक गौतमले यसखाले सकारात्मक प्रस्ताव आए नेपाली चेसका लागि सधँै सकारात्मक रहने बताए । प्रतियोगितामा नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रतिक्रिया