सेनाको नेतृत्व लिन ठाकरे इच्छुक

मुम्बई : भारतको हिन्दू चरमपन्थी पार्टी शिव सेनाका प्रमुख बाल ठाकरेले भारतीय सेनाको कमान्ड आफ्नो हातमा सुम्पिए एक महिनाभित्र देशका सबै समस्या समाधान गर्ने दाबी गरेका छन् । पार्टीको मुखपत्र ‘दोपहरका सामना’ मा शनिबार प्रकाशित अन्तर्वार्तामा उनले यस्तो दाबी गरेका हुन् । ‘सेनाको लगाम मेरो हातमा दिएर हेर्नुस्, एकै महिनामा सबै कुरा सुधारेर म चमत्कार देखाइदिन सक्छु ।’
मुसलमान धर्मावलम्बीप्रति असहिष्णु मानिने उनले मुस्लिम चरमपन्थीलाई ‘बाँकी नराख्ने’ चेतावनीसमेत दिएका छन् । पाकिस्तान र बंगलादेशबाट भारतीय राज्य महाराष्ट्रमा आई आतंक मच्चाउने मुसलमान धर्मान्धहरूलाई बाँकी नराख्ने चेतावनी उनले दिएका हुन् । पाकिस्तानी क्रिकेट खेलाडीलाई भारत प्रवेश गर्न नदिने अडानमा आफू अझै अडिग रहेको उनले प्रस्ट पारेका छन् । (एजेन्सी)
‘ठाकरे बिहारी हुन्’
भारतको राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवले महाराष्ट्रको प्रभावशाली ठाकरे परिवार बिहारी भएको बताएका छन् । उनीहरूले महाराष्ट्रमा घुसपैठ गरेर राजनीति गरेको आरोप लगाउँदै उनीहरूले अविलम्ब महाराष्ट्र त्याग्नुपर्ने जिकिर लालुले गरेका छन् ।
‘ठाकरे परिवारको उद्भव विहारमा भएको हो र पछि गएर उनीहरू महाराष्ट्रमा बसाइँ सरेका हुन् । उनीहरू मुम्बईका ‘घुसपैठिया’ हुन् । त्यसैले जतिसक्दो चाँडो उनीहरूले महाराष्ट्र छोड्नुपर्छ,’ लालुले भने । महाराष्ट्रमा बिहारीलाई हेला गरिने प्रसंग कोट्याउँदै विहारका पूर्वमुख्यमन्त्रीसमेत रहेका लालुले भने, ‘आफ्नो कडा मिहिनेतबाट बिहारीहरूले महाराष्ट्र निर्माण गरिरहेका छन् । उनीहरूले महाराष्ट्रको स्वार्थविरुद्ध कुनै काम गरेका छैनन्, उनीहरूले त्यहाँ कुनै समस्यै पनि निम्त्याएका छैनन् । उनीहरूलाई महाराष्ट्रमा बस्ने पूरा अधिकार छ ।’ ठाकरेले विहारीलगायत उत्तर भारतका अन्य मानिसविरुद्ध अभियान आरम्भ गरेको र यसको प्रतिरोध गर्न बिहारका मुख्यमन्त्री नीतिश कुमार चुकेको आरोप लगाए ।

प्रतिक्रिया