पीपलबोटमा रत्नसमशेर र भूपिको छेडखानी

नेपाली साहित्यका वरिष्ठ कवि अनि संगीत क्षेत्रका स्वनामधन्य गीतकार उनी साँच्चै नेपाली वाङ्मयका रत्न हुन् । हँसिलो मुहार, कसिलो विचार साथमा उच्च सदाचार, मिजासिलो र फरासिलो मनका धनी छन् उनी । आफैँलाई पनि व्यंग्य हानेर विनोद गर्न सक्ने आँट भएका यी रत्नको पूरा नाम हो, रत्नसमशेर थापा । त्रिहत्तर वर्षीय रत्नसमशेर दुई छोरा, एक बहिनी, एक सहयोगी र पत्नीका साथ कमलपोखरीमा बस्दा रहेछन् ।
०१४ सालमा नेपाल पुस्तकालय र झम्सीखेल पुस्तकालयले आयोजना गरेको गीत प्रतियोगितामा अठार वर्षको उमेरमा जुँगा मठार्दै, ‘दुनियाँ बैगुनी हुँदामा, बित्यो जिन्दगी रुँदामा’ भन्ने आफ्नै रचना र स्वरमा गीत गाउँदै प्रथम भएका थिए रे † उनको घरमै सांगीतिक माहोल थियो । काका तबला बजाउँथे । काकाले बजाउन छाडेपछि उनी तबला बजाउन लागे । मुसुक्क हाँसेर केही थोतो दाँत देखाउँदै लजाउँदै भन्छन्, ‘फलमा सुन्तला मनपर्छ, बाजामा तबला † तबला नबजाएको पनि अब धेरै भयो । बजाउन सक्छु कि सक्दिनँ आफैँलाई थाहा छैन, सुन्तलाचाहिँ अवश्य खान सक्छु ।’
प्रात: भ्रमण कहिल्यै नगरे पनि उनी धेरै पहिला साँझ भ्रमणचाहिँ गर्थे । अब त त्यो पनि छुटेर बरन्डामा ओहोरदोहोर गर्दा रहेछन् । ध्यान र पूजापाठमा खासै रुचि छैन, सुत्ने बेलामा मनमनै देवताचाहिँ सम्झँदा रहेछन् । अहिलेसम्म पाँच हजार गीत लेखेका छन्, त्यसमध्ये दुई हजार आफ्नै हातले च्यातेका पनि छन् अरे † अहिलेसम्म तीन सय गायक–गायिकाले उनको गीत गाएका रहेछन् । धुन सुनेर तुरुन्तै गीत बुन्न सक्ने सीप भएका अनि हाजिरीजवाफका माहिर खेलाडी रत्नलाई उर्दूका प्रख्यात सायर तथा हिन्दी फिल्मी गीतका हस्ती साहिर लुधियानवीले बम्बईमा बस भनेका थिए रे कुनै बेला । खानामा दालभात, तरकारी र धनियाँको अचार मन पराउने रत्न रनभुल्लमा परेर भन्छन्– ‘खाना पनि खान्छु तर खै किन मोटाइनँ थाहा भएन † जहिले पनि उही र उस्तै सदाबहार सुकेनास ।’
पहिला बट्टाका बट्टा चुरोट खाने बानीलाई उनले अहिले दिनको एक खिलीमा झारेछन् । सोफामा बसेर खुट्टो हल्लाउँदै पहिल्यै तानेको चुरोटको ठुटोबाट अर्को सल्काउँदै रत्न पुराना दिन सम्झन्छन् । जति बेला कवि भूपि शेरचन र उनीबीच घोचपेच र ख्यालठट्टा चलिरहन्थ्यो । एकदिन रत्न न्युरोड पीपलबोटमा पुग्दा भूपि साथीहरूसँग गफ गर्दै थिए । रत्नलाई देख्नासाथ भूपिले प्याच्चै भनिहालेछन्, ‘हेलो मिस्टर सुकेनास †’ साथीहरू र भूपि गलल्ल हाँसे । रत्नले पनि पालोको पैँचो तिरिहाले, ‘हेलो मिस्टर ट्वाँटचन ।’ यो सुनेर भूपि र साथीहरू झन् जोडले हाँसे । एकपटक कवि सम्मेलनमा भाग लिन जाँदा भूपिले गाडीबाट हरियाली नभएको पहाड औँल्याएर भनेका थिए, ‘रत्न, हेर त यी कस्ता नांगा पहाड ?’ उनले पनि भनिहाले, ‘पहाडको ‘प’ झिकिदिए के बाँकी रहन्छ ?’ ‘हाड’ भन्दै भूपि र मञ्जुल दंग परेको प्रसंग सम्झन्छन्, यी मूर्धन्य गीतकार ।
थोरै माछामासु खाने आँसु गीतकार रत्न १० सालमा १४ वर्षको उमेरमा एसएलसी गरेपछि डाक्टर बन्ने धुनमा साइन्स पढ्न थालेछन् । जीवनमा विभिन्न खालको मोड र तोड आएपछि पढाइ बीचमै थाती राखेर मोरङ सुगर मिल, विराटनगरमा जुनियर असिस्टेन्टको जागिर खान पुगेछन् । दुई वर्षको जागिर खाएपछि उनलाई घरको सम्झनाले हिक्क र जागिरदेखि दिक्क लाग्न थालेछ । सुरुमा ठीकै भए तापनि पछि दुई साँढेहरूको बीचमा उनीजस्ता बाछा कर्मचारीको मिचाइ हुन थाल्यो । पहाडे हाकिमहरू कोठामा बोलाउँथे र भन्थे, ‘त्यहाँ हाम्रो बोलवाला छ, त्यसैले हाम्रो कुरा मान् ।’ त्यही बेला उनलाई यो पुरानो आहान याद आएछ, ‘जेठी माग्छे पानी, कान्छी माग्छे घाम म एक्लो बूढो कतातिर जाम ।’ त्यस्तो माखेसाङ्लोमा पर्नुभन्दा रत्न कति अलमल नगरी काठमाडौंतिर हिँडिदिएछन् ।
प्याज खान मन पराउने रत्न आफूले प्याज खाँदै गीत लेख्ने रियाज नगरेको दाबी पनि गर्छन् । गह्रुंगो स्वरका धनी रत्नलाई पालुंगो साह्रै नै मन पर्दो रहेछ । नियमित औषधि खाने टन्टा गर्नु नपर्ने रत्नलाई विराटनगरबाट फर्केपछि एक दिन नारायण गोपालले भेटेछन् । ६ वटा गीतको रेडियोबाट पाएको करार देखाउँदै उनीसँग ६ वटा गीत मागेछन् । रत्नले लेखेर दिए, नारायणले आफ्नो स्वर र संगीतमा जम्मै गीत रेकर्ड गराएछन् । उनको सुरुआती बेलाका ती गीतहरू यति हिट भए कि त्यस बेलाको बजार र पूरै देश प्रशंसाले पिटियो । यस्तो तहल्का मच्चियो कि त्यसपछि उनले गीतको क्षेत्रमा कहिले पछाडि फर्केर हेर्नु परेन । तीमध्येको एउटा गीत हो, ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला ।’ यस गीतका शेष प्रत्येक शब्दमा देश, कला, संस्कृति र परम्परा छताछुल्ल बगेको छ । कालजयी गीत लेख्ने रत्न नेपाली गीति क्षेत्रका अनमोल रत्न नै हुन् ।
रत्नसमशेरको थातबास नामुद पियक्कडका साथ रहे पनि उनले रक्सी कहिले मुखमा होलेनन् । भूपिले डाइरेक्ट रक्सी खा त कहिले भनेनन् तर भेट भयो कि उनी आफ्नो यो कविता थापालाई सुनाइहाल्थे रे–
‘ए मैले पिएकोमा रिसाएका साथीहरू, पिएर त हेर पिउन झन् गाह्रो छ ।
ए मरेर सहिद हुनेहरू, जिएर त हेर जिउन झन् गाह्रो छ ।’
थापाले पनि एउटा कविता लेखेर ‘रुपरेखा’ मा छपाएछन् । त्यो कविता यस्तो छ–
‘पिएर के हेरुँ साथी
जब कि नपिएरै म यहाँ अघाएको छु ।
मरेर सहिद किन हुँ साथी
जब कि जिउँदै यहाँ म मरेको छु ।’
यो कविता पढेपछि भूपिले आफ्नो कविता रक्सी खाने बेलामा उनलाई कहिल्यै सुनाएनन् रे †
विभिन्न देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री आदि विशिष्ट व्यक्तिहरू नेपाल भ्रमणमा आउँदा उनीहरूको सम्मानमा नगरपालिकाले नयाँ गीत रेकर्ड गरेर सुनाउने गथ्र्यो । गीत तयार गरेबापत पारिश्रमिक पनि राम्रै पाइन्छ भनेर पिएल सिंहले भनेका रहेछन्, एकपटक । गीत तयार गर्ने मौका कहिले कसले, कहिले कसले पाउँथ्यो । भारतका तत्कालीन प्रम नरसिंहा राव आउँदा यो जिम्मा रत्न र नातिकाजीले पाएछन् । पाहुना आए गए । एक दिन नातिकाजी र उनी नगरपालिका प्रमुख पिएल सिंहको कार्यकक्षमा पारिश्रमिक लिन पुगेछन् । पारिश्रमिकको कुरा गर्दा पिएलले भनेछन्, ‘उलि महान् ज्यागु छु देवा भाउँ (त्यत्रो महान् कार्य गरेकामा के पैसा चाहियो) ।’ रत्न र नातिकाजी निल्ल र जिल्ल परेर आएछन् । ‘पछि अरूबाट के चाल पाइयो भने पिएलले आफ्नो कार्यकालभरि त्यसै गरी–गरी हिँडेछन्’, उनी सुनाउँछन् ।
रत्न कोठामा यताउति गर्दै केही खोज्न थाल्छन् र भेट्टाउँछन् उनको गीतको नयाँ सिडी । कुराकानी बिर्सेर उनी र म मज्जाले गीत सुन्न थाल्छौँ ।

प्रतिक्रिया