प्रधान सेनापतिमा जवरा नियुक्त

काठमाडौं, २४ भदौं । राष्ट्रपति डा.रामवरण यादवले प्रधानसेनापतिमा गौरब शम्शेर जबरालाई नियुक्त गरि दर्जानी चिन्ह प्रदान गरेका छन् ।
सेनाका परमाधिपति समेत रहेका डा.यादवले आज विहान राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहका बीच जबरालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सोही अवसरमा प्रधानसेनापति जवरालाई डा.यादवले पद तथा गोपनीयताको सपथ समेत गराएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति डा.यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १ सय ४४ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको मिति २०६९ भादौं–११ को निर्णय बमोजिम आज जबरालाई प्रधानसेनापति पदमा नियुक्त गरेका हुन् ।
शीतल निवासमा आयोजित समारोहमा कामचलाउ सरकारका प्रधानमन्त्री, मन्त्री, नेपाल सरकारका उच्च पदस्त पदाधिकारी, सुरक्षा निकायका प्रमुख र नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिति रहेको थियो ।
नवनियुक्त प्रधानसेनापति जवराले सैनिक मुख्यालय भद्रकाली पुगेर आजै आफ्नो कार्यभार सम्हालेका छन् ।
सपथ लिने जवरा को हुन् ?
लामो सैनिक सेवाको अनुभव गरेका जवरा इमान्दार एवं उत्कृष्ट पेशागत ज्ञान राख्ने गरेको उनका समकक्षीहरु बताउछन् ।
जवराको जन्म स्व.उपरथी आदित्य शम्शेर जवरा र रानी सुनीता राणाको कोखबाट बिक्रम संवत २०१२ मंसिर–२७ गते काठमाडौंको बबरमहलमा भएको हो ।
उनले बिक्रम संवत २०३० साल फागुन–२५ गते श्री पुरानो गोरख गणको सहायक सेनानीको रुपमा नेपाली सेनामा प्रवेश गरेका थिए ।
उनले सुप्रवल जनसेवाश्री, बिख्यात त्रिशक्तिपट्ट, सुप्रवल गोरखादक्षिणबाहु, दैबीप्रकोप पीडितोद्धार पदक, दुर्गम सेवा पदक, परदेश सेवा पदक, यू.एन. मेडललगायतका मानपदवी, अलंकार तथा पदकहरु पाएका छन् ।
जवराका पत्नी रोहिणी राणा र दुई छोरी, दुई नाति र एक नातिनी छन् ।

प्रतिक्रिया