प्रिमियममा डलर खरिद गर्दै मनी चेन्जर

काठमाडौं, २४ भदौ । बजारमा अमेरिकी डलर अभाव भएर बैंकले ग्राहकले मागेजति डलरमा नगद दिन नसकेपछि मनी चेन्जरहरूले प्रिमियममा डलर किन्न थालेका छन् । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर ९० रुपियाँको हाराहारीमा विनिमय दर तोकेका बेला मनी चेञ्जरहरूले भने एक अमेरिकी डलर बराबर ९१ रुपियाँसम्म दिएर अमेरिकी डलर संकलन गर्ने गरेको डलर साट्न गएका एक पथप्रदर्शकले बताए ।
नेपालको सन्दर्भमा अमेरिकी डलर आम्दानी गर्नेमा विभिन्न निर्यात कम्पनी पर्दछन् । नगदमै अमेरिकी डलर आर्जन गर्नेमा भने विदेशी पर्यटकको आतिथ्यता स्वीकार गर्ने होटल व्यवसायी, तिनीहरूको सम्पर्कमा रहेका हस्तकला व्यापारी र पर्यटकीयस्थलमा व्यवसाय गर्ने व्यापारी र पथप्रदर्शक पर्दछन् । पथप्रदर्शकले विभिन्न पर्यटकीय स्थलमा घुमाएबापत् टिप्सका रूपमा पनि केही रकम पाउने गर्दछन् । प्राय: राष्ट्र बैंकको दरभन्दा कम दरमा डलर किन्ने मनी चेन्जरले बैंंकमा डलर अभाव भएका बेला भने बढी दर दिन थालेको पथ प्रदर्शक ऋषि पनेरूले बताए । उनका अनुसार बौद्ध आसपासका मनी चेन्जरले सबैभन्दा बढी दरमा डलर किन्ने गरेका छन् । ठमेल आसपासका मनी चेन्जरले भने बौद्धको तुलनामा कम दरमा डलर किन्ने गरेको उनले बताए । पथप्रदर्शक, पर्यटन क्षेत्र वरपरका व्यापारीबाट संकलन गरेको रकम मनी चेन्जरले अवैध व्यापारमा संलग्न व्यक्तिलाई दिने गरेको स्रोतले बतायो । साधारणतया मनी चेन्जरले आफूसँग बढी भएको डलर बैंकमा नै लगेर जम्मा गर्नुपर्ने भए पनि त्यसो नगरेकाले बजारमा डलरको अभाव देखिएको स्रोतले बतायो ।
नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको असार मसान्तसम्म ४ खर्ब ३९ अर्ब ४६ करोड रुपियाँ विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा भने बैंकिङ क्षेत्रमा रहेको परिवत्र्य विदेशी मुद्रा सञ्चिति ०६८ असारदेखि ०६९ असार मसान्तसम्म २४ दशमलव ४ प्रतिशतले वृद्धि भई अमेरिकी डलर तीन अर्ब ८७ करोड पुगेको छ । विदेशी विनिमय सञ्चितिले ११ दशमलव ६ महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । खातामा अर्बांै अमेकिरी डलर रहे पनि अमेरिकी डलर नगदै लिएर जानेलाई भने राष्ट्र बैंकले नगद दिन सकेका छैनन् । राष्ट्र बैंकमा उच्च दरमा विदेशी विनिमय सञ्चिति भएपछि विदेश जानेलाई प्रत्येक पटक २५ सय अमेरिकी डलर विदेश लिएर जान पाउने व्यवस्था हालैको मौद्रिक नीतिमार्फत गरिएको हो । तर, बैंकले ग्राहकले मागेजति अमेरिकी डलर दिन नसकेपछि प्रत्येक ग्राहकलाई अधिकतम पाँच सय डलरसम्म दिने गरेका छन् । राष्ट्र बैंकले अनावश्यक डलरको माग गर्नुसट्टा जुन देशमा जाने हो, सोही देशको मुद्रा लिएर यात्रा गर्न आह्वान गरिसकेको छ ।
न्यून विजकीकरणबाट सामान ल्याउँदा गर्नुपर्ने परिपूर्ति डलरबाट भइरहेकाले नेपालमा डलरको अभाव देखिएको नेपाल चीन व्यापारमा संलग्न एक अधिकारीले बताए । नेपाल र चीनबीच बैकिङ प्रणालीमार्फत अत्यन्त कम मात्र कारोबार हुने गरेकाले न्यून विजकीकरणबाट सामान ल्याएर बाँकी दिनुपर्ने रकम भने डलरमा भुक्तानी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही समयअघि अवैध डलरसहित चिनियाँलाई पक्राउ गरेको थियो । ती अधिकारीका अनुसार सो रकम भने न्यून विजकीकरणको भुक्तानी स्वरूप नै चीनतिर पठाइएको हो ।
पछिल्लो समयमा भने चीनबाट सुन तस्करी गरेर नेपाल ल्याउने गरिएका कारण डलरको अभाव हुने गरेको ती अधिकारीले बताए । स्रोतका अनुसार चीनमा प्रतिदश ग्राम ४८ हजार नेपाली रुपियाँ पर्छ भने नेपालमा भने करिब साढे ५१ हजार रुपियात्त् पुगिसकेको छ । नेपालमा भन्सार शुल्कस्वरुप नै प्रति १० ग्राहक २३ सय रुपियाँ तिनुपर्ने हुँदा सुन महँगो भएको हो । नेपालमा भन्दा चीनमा सुन सस्तो भएपछि त्यहाँबाट सुन नेपाल झिकाएर भारत पठाउने गरिएको र चीनमा नेपाली रुपियाँ नचल्ने र बैंकिङ प्रणालीमार्फत समेत त्यसको भुक्तानी गर्न नसकिने हुँदा डलरमै भुक्तानी गर्नुपर्छ । चीनबाट अवैध आयात गरिएको सुन डलरमा भुक्तानी गरिएको कारण नै डलर अभाव भएको हो ।
नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले राष्ट्र बैंकले पर्याप्त मात्रामा डलर दिन नसकेको र मनी चेन्जरलगायत अन्य निकायबाट पनि पहिला जसरी डलर नगद जम्मा हुन नआएका कारण डलर अभाव भएको बताए । अल्पकालीन समाधान स्वरूप विदेशी मुद्राको कारोबार गर्नेको संगठन फेडानले गरेको अनुरोधअनुसार बंैंकहरूले प्रत्येक सेवाग्राहीलाई सय डलरसम्म नगदै उपलब्ध गराउने गरेको उनले बताए । ‘विदेश जाँदा सकेसम्म सम्बन्धित देशकै मुद्रा लिएर जान सल्लाह दिन थालेका छौँ,’ उनले भने ।

प्रतिक्रिया