सेयर कारोबार र रेमिट्यान्स

काठमाडौ, २४ भदौ । चार सय अंकभन्दा तल झरेको नेप्से परिसूचक पुन: चार सयभन्दा माथि पुगको छ । नेप्सेमा उत्तारचढाव आउने क्रम जारी रहे पनि खासै सुधार आउन सकेको छैन ।

हाम्रो सेयर बजार अहिले तीन खर्ब ८७ अर्ब ११ करोड रुपियाँको आसपासमा रहेको छ । बजारमा १५ लाख लगानीकर्ता रहेको अनुमान गरिएको छ । यसमा पनि आधाभन्दा कमले मात्रै नियमित सेयर खरिदबिक्री गर्ने गरेको आँकलन सेयर विश्लेषकले गरेका छन् ।
यस्तो अवस्थामा सेयर बजारलाई उकास्न वैदेशिक रोजगारीबाट आउने रकमलाई प्रवाह गर्नसके बजारमा केही मात्रामा भए पनि चहलपहल बढ्ने थियो । नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको आव ०६८/६९ को विवरणमा रेमिट्यान्स आप्रवाहमा अघिल्लो वर्षका तुलनामा ४१ दशमलव ८ प्रतिशतले वृद्धि भई तीन खर्ब ५९ अर्ब ५५ करोड रुपियाँ उल्लेख गरेको छ । योभन्दा अघि रेमिट्यान्स वृद्वि ९ दशमलव ४ प्रतिशत रहेको थियो ।
हाम्रो बजेट र रेमिट्यान्सको रकम एउटै हाराहारीमा रहेका छ । योभन्दा अघि सरकारले तीन खर्ब ८४ अर्ब रुपियाँको बजेट सार्वजनिक गरेको थियो । चालु आवमा एक तृतीयांश बजेट मात्रै आएको अवस्था छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तमाङ रेमिट्यान्सकै भरमा मुुलुक चलेको बताउँछन् । उनी रेमिट्यन्सको रकमलाई विविध क्षेत्रमा प्रवाह गर्नुपर्ने बताउँछन् । अर्थविद् डा. चिरन्जीवी नेपालको भने रेमिट्यान्सको रकम सेयरमा खासै लगानी नभएको टिप्पणी छ । उनका अनुसार कुल रेमिट्यान्स रकमको ७९ प्रतिशत खानाको लागि खर्च भइरहेको छ । बाँकी ७ प्रतिशत ऋण तिर्न, ४ प्रतिशत शिक्षामा, २ दशमलव ४ प्रतिशत पुँजी निर्माणमा र बाँकी केही नगन्य रकम मात्रै सेयरमा लगानी भएको हुनसक्छ ।
हाम्रो सेयर बजार आशाभन्दा बढी निराशावादी छ । सेयरको इतिहासमा हेर्ने हो भने ०५२/५३, ०५७/५८ तथा ०६४/६५ देखि हालसम्मको अवधि निराशाजनक अवस्थामै छ । यही अवधिमा नेप्से तीन सयभन्दा तल झर्यो । ०६५ साउनको अन्ततिर माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गर्दा नेप्से एक हजार एक सय हाराहारीमा थियो । त्यसको केही दिन पछि १५ भदौमा परिसूचक एक हजार एक सय ७५ दशमलव ३८ अंकमा पुग्यो । त्यही दिन बजार पुँजीकरण ६ खर्ब १२ अर्ब ५४ करोड रुपियाँ रहेको थियो ।
तर अहिले नेप्से ४ सयको आसपासमा रहेको छ । यो अवधिमा बजारले दुई खर्ब २५अर्ब ४३ करोड रुपियाँ गुमाएको तथ्यांकले पुष्टि गर्छ । नेपालजस्तो सानो पँुजी भएको सेयर बजारमा दुई खर्बभन्दा बढी रकम गुमाउनु भनेको अभिशाप हो । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनका अर्थमन्त्री वर्षमान पुनले आफूलाई निजीक्षेत्र र लगानीमैत्रीका रूपमा जतिसुकै प्रस्तुत गरे पनि अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन भन्ने कुराको प्रमाण नेप्से परिसूचक हो ।
भट्टराई प्रधानमन्त्री भएको दिन ११ भदौमा १० अंकले घटेको नेप्से परिसूचकको उल्टो गति अझै निरन्तर छ । त्यसैले नेप्से घट्नुको प्रमुख कारण भनेको माओवादी नेतृत्वको सरकार हो । यो तबसम्म घटिरन्छ, जबसम्म सेयरबजार र लगानीकर्ताले माओवादी नेतृत्वको सरकारलाई विश्वास गर्दैनन् । त्यसैले उनले व्यवहारमा माओवादी निजीक्षेत्रको ‘मित्रशक्ति’ हो भन्ने कुरा प्रमाणित गर्न सक्नुपर्छ ।
कामचलाउ भए पनि बाबुराम सरकारले सेयर बजारलाई उकास्न खानामा मात्र खर्च हुने ७९ प्रतिशतको रेमिट्यान्स रकमलाई घटाई सेयरमा लागनी गर्ने वातावरण सिर्जना गर्नुपर्छ । योभन्दा अघि पनि कृषि विकास बैंकले जारी गरेको ९६ करोड रुपियाँ बराबरको सेयर खरिदमा गाउँ–गाउँबाट दरखास्त परेको उदाहराण हामीसँग छ । त्यो भनेको रेमिट्यान्सको रकम सेयरमा आएको हो । त्यसैगरी चिलिमे हाइड्रोपावरले जारी गरेको सेयरमा रसुवाबासीले ठूलो रकम लगानी गरे । यसमा पनि रेमिट्यान्सको रकम रहेको थियो ।
तामाकोसीमा पनि सरकराले १० प्रतिशत स्थानीयबासीलाई सेयर दिने भनेको छ । त्यसैगरी पश्चिमसेती परियोजनाले पनि १० अर्ब सेयर जारी गर्ने भनेको छ । यस्तो परियोजनामा लगानी गर्न स्थानीयबासीले रेमिट्यान्सकै भरपर्नु पर्ने भएकाले अबका दिनमा सरकारले रेमिट्यान्सको रकम सेयरमा लगानी गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ ।

नेप्से तीन अंकले घट्यो

काठमाडौं : नेप्से परिसूचकमा ३ दशमलव ४३ अंकले ह्रास आएको छ । राजनीति अन्योलका कारण नेप्से घटेर गतसाता चार सय ८ दशमलव ४४ अंकमा पुगेको छ ।
गतसाता नेपाल स्टक एक्सचेन्जमा एक सय २७ कम्पनीका कारोबार भएका छन् । जसमा आठ हजार ६ सय ४७ कारोबारबाट ३४ करोड १८ लाख १८ हजार हजार रुसपयाँ बराबरका १३ लाख तीन हजार पाँच सय ७८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
यसअघि एक सय २२ कम्पनीको कारोबार भएको छ । जसमा सात हजार दुई सय ७४ कारोबारबाट ३६ करोड ५३ लाख ३८ हजार रुपियाँ बराबरका १२ लाख ४० हजार ६ सय ८२ कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गतसाताका तुलनामा ६ दशमलव ४४ प्रतिशतले ह्रास आएको छ । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र १७ करोड ५९ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५१ दशमलव ४८ प्रतिशत हो ।
गतसाता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव .१४ अंकले वृद्धि भई एक सय ३ दशमलव ७६ अंकमा पुगेको छ । कारोबार रकमका आधारमा दुई करोड ९९ लाख रुपियाँको कारोबार भई चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरीे सेयर संख्या, कारोबार संख्यामा पनि चिलिमे हाइड्रो नै रहेको छ । साताको उत्कृष्ठ पाँच कम्पनीमा चिलिमे हाइड्रोपावर, एभरेस्ट बैंक, बैंक अफ काठमाडौं, ग्रान्ड बैंक र नेपाल इन्भेस्टमेन्ट बंैक रहेका छन् । सेयर सूचीकरणतर्फ त्रिवेणी विकास बैंकको बोनस र हकप्रद सेयर रहेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया