पुनःस्थापना भए राष्ट्र र जनताको अपमान

काठमाडौं, २३ भदौ । कांग्रेस र एमालेका नेताहरुले संविधानसभा पुनःस्थापना गरिए त्यसले मुलुकलाई झनै समस्यामा पर्ने चेतावनी दिएका छन् । उनीहरुले राष्ट्र, जनता, लोकतान्त्र र सर्वोच्च अदालतको सम्मानका लागि पनि संविधानसभा व्यूताउन नहुने बताए ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले संविधानसभा पुनःस्थापना भए लोकतन्त्र र सर्वोच्च अदालतको फैसलाको अवहेलना हुने टिप्पणी गरे ।
‘संविधानसभा पुनःस्थापना भए लोकतन्त्रको मर्म आवधिक निर्वाचन र सर्वोच्च अदालतको फैसलाको अवहेलना हुन्छ,’ उनले भने ।
सत्ताका लागि एमाओवादीले संविधानसभा विघठन गराएको बताएका केसीले भने, ‘एमाओवादीले विपक्षी दललाई सत्ता प्राप्तीका लागि सहमतिमा नआएको आरोप लगाउनु दरिद्र मानसिकता बाहेक केही होईन ।’
उनले संविधानसभा पुनःस्थापना भएमा मुलुकको अस्तित्वनै समाप्त हुने चेतावनी दिए । उनले भने, ‘चार वर्षमा केही गर्न नसकेको संविधानसभाले तीन दिनमा के गर्ला ?’
उनले संविधानका विवादित विषयमा छलफल नचलाउन सुझाव दिएका छन् । नयाँ निर्वाचनबाट आउने जनताका प्रतिनिधिले संविधानका विवादित विषयमा छलफल गरेर नयाँ संविधान जारी गर्ने बताए ।
एमालेका नेता भीम रावलले संविधानसभाको पुनःस्थापना भए जनताको अपमान हुने बताए ।
उनले एमाओवादीले सत्ताका लागि संविधानसभाको बलिदान गरेको बताए । उनले भने, ‘अहिले अरुलाई सत्ताको लोभ गरेको भनेर एमाओवादीले लगाएको आरोप नौटंकी मात्रै हो ।’
उनले भने, ‘संविधानसभाको पुनःस्थापनाले मुलुकको औचित्य समाप्त हुन्छ ।’
एमाओवादीका नेता तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले दलहरुवीच संविधानका विवादित विषयमा सहमति भए छोटो समयका लागि संविधान पुनःस्थापना गर्न सकिने बताए ।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नयाँ निर्वाचनका लागि पनि संविधानसभा पुनःस्थापना अवाश्यक रहेको बताए ।

प्रतिक्रिया