जुडो जसको जीवन हिस्सा हो

काठमाडौं, २३ भदौ । उनी खेलाडी हुन्, तर भिन्न किसिमका । उनी प्रशिक्षक हुन्, तर फरक प्रकृतिका । उनी सर्वसाधारण नेपाली नागरिक हुन्, तर बेग्लै स्वभाव पालेका । उनी राष्ट्रिय खेलकुद परिषद्मा विक्रमीय ०६० देखि अनि त्यही समयदेखि नै ‘चाइल्ड वातावरण सेन्टर नेपाल’मा पनि र केएमसी बहुउद्देश्ययीय मार्सल आटर््स केन्द्रमा पनि भोलन्टियर प्रशिक्षक छन् । उनी सडक बालबालिका र फरक ढंगले सक्षम लाटा–बहिरा बालबालिकालाई आत्मरक्षा कला सिकाउँछन् । उमेर धेरै भएको छैन, जीवनको ४१औँ भोटो फटाउने क्रममा हिँडिरहेका छन् । यत्तिमै पनि उनलाई नेपाली खेलक्षेत्रमा, खासगरी उचाल्ने र पछार्ने जापानी मार्सल आर्ट जुडो खेलमा, धर्मकुमार श्रेष्ठ भनेर धेरैले चिन्छन् । उनले जापानस्थित कोदोकान जुडो इन्स्टिच्युटबाट सन् ०१२ मा ब्ल्याकबेल्ट तेस्रो डान हासिल गरिसकेका छन्, जुन इन्स्टिच्युटबाट उनले चार वर्षपहिले दोस्रो डान प्राप्त गरेका थिए । उनी अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् ।
तर यतिबेला उनको चर्चा उनकै अग्रसरतामा यही भदौ महिनामा सफलतापूर्वक आयोजना भएको नेकोस दोस्रो राष्ट्रिय जुडो प्रतियोगिताको सन्दर्भले भएको हो । त्यस प्रतियोगितामा देशभरिबाट आएका दुई सय ७७ जना सहभागीले १८ स्वर्ण, १८ रजत र ३६ कांस्य पदकका लागि आआफ्नो क्षमता अजमाएका थिए । प्रतियोगिताको प्रथम संस्करण दुई वर्षपहिले ०६७ मा भएको थियो । अझ त्यसभन्दा दुई वर्षअघि काठमाडौंमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा पनि उनको सक्रियता उन्नाइस थिएन ।
‘खेलकुद, त्यसमा पनि जुडो, मेरा लागि एक किसिमको प्यासन हो । यो त मेरो जीवनको एउटा हिस्सा भइसकेको छ,’ धर्म भन्छन् ।
सायद यो भनाइमा जुडोसित उनको साइनो कसरी जोडिन पुग्यो भन्ने कारण लुकेको छ । उनी काभ्रेको एउटा गाउँ बोल्धे फेदिचे–१ माहुरेमा पिता कृष्णलाल र आमा ठकुमाया श्रेष्ठका तीन छोरा, तीन छोरी सन्तानमा कान्छो भएर जन्मेका थिए । अलि हुर्केपछि उनले त्यहाँ के देखे भने काठमाडौं गएर कराते सिकेर आएका तामाङ युवकहरू गाउँका सोझासुधा मानिस अनाहकै पिट्ने र अन्य किसिमले दु:ख दिने गरिरहन्थे । धर्मलाई यो मनै परेको थिएन । अनि जतिखेर उनी छिमेकी गाउँ ठूलो पर्सेलस्थित श्री पञ्चकन्या माविबाट एसएलसी सकेर उच्चशिक्षाका लागि काठमाडौं आए, त्यतिबेला ‘हेरौँ न त, यो कराते भनेको कस्तो हुँदो रहेछ †’ भन्ने सोचेर केही वर्ष अध्ययनतिर लगाएपछि ०५४ मा सितेरियो कराते सिक्न दशरथ रंगशाला छिरे । तर, सितेरियो कराते सिक्न थालेको चार महिना मात्र भएको थियो, उनलाई त्यहाँको वातावरण र अनुशासन पक्ष आफूलाई सुहाउने किसिमको लागेन । अनि उनी कराते छाडेर जुडो सिक्नतिर लागे । खड्गबहादुर दाहाल, सूर्यनारायण श्रेष्ठ, रोमबहादुर लामा, वीरेन्द्र रञ्जित, रमेश डंगोल, बस्तीराम लामा आदि गुरुबाट नियमित प्रशिक्षण लिँदै धर्मले ०५९ मा ब्ल्याकबेल्ट हासिल गरिछाडे ।
धर्मको एउटा विशेषता थियो, ब्ल्याकबेल्ट लिने अवस्थासम्म उनी आफू बसिरहेको स्थान बूढानीलकण्ठबाट रंगशाला आउँथे र प्रशिक्षण सकेर त्यत्ति नै लामो समय खर्चिंदै फर्कन्थे । उनलाई अहिले यस्तो लाग्छ, ‘जुडो प्रशिक्षण गर्न र खेल्नका लागि पर्याप्त सामग्री छैन । त्यसो भएर पनि जुडो अहिलेको अवस्थासम्म आउन सकेकामा गर्वको अनुभूति हुन्छ । वास्तवमा जुडोमा लागेकाहरू समर्पित र लगनशील भएको हुनाले नै यो स्थिति हासिल गर्न सकिएको हो ।’
आखिर गर्व पनि किन नहोस् ? मद्रास साफ खेलकुदमा जुडोका रमेश बस्नेत, जितबहादुर चौधरी र वीरबहादुर रानाले स्वर्णपदक जितेका थिए । एसियन जुनियर जुडो च्याम्पियनसिपको हङकङ संस्करणमा लीला अधिकारीले, यमन संस्करणमा सुनीता मगरले र थाइल्यान्ड संस्करणमा फुपू लामु खत्रीले स्वर्णपदक जितेर देशको झन्डा विदेशमा फर्फफराए । पछिल्लो ढाका साफमा लिफ्ट चुँडिएर घाइते भएर पनि साहसपूर्वक खेल्दै कांस्य पदक जितेकी देबु थापाको प्रशंसामा आमखेलप्रशंसकले कम्ती शब्द खर्चेका थिएनन् । रजत र कांस्य पदक त नेपाली जुडोकाहरूले नियमित जस्तै ल्याइरहेकै छन् । यसको अर्थ एउटै हो, जुडो पनि विदेशमा नेपाललाई सफलता दिलाउनसक्ने एक सम्भावित खेल हुनसक्छ ।
जुडो खेल्ने मात्र होइन, धर्म गाउँमा ‘हलो जोत्ने अभियान’ का प्रगतिशील अगुवा पनि हुन् उनी । तिनताका उनको गाउँ बोल्धे फेदिचेमा नेवार समुदायले हलो जोत्ने चलन थिएन । स्थानीय तामाङहरू कुर्नु पर्ने, कहिले मानिस नपाइने, कहिले गोरुको जुगाड नमिल्ने त कहिले सबै जुगाड मिल्दा वर्षे खेतीका लागि निकै ढिलो भइसक्ने अवस्था भइरहन्थ्यो । यस्तैमा धर्मले केही साथी जम्मा गरे र नेवार युवाहरू मिलेर खेत जोते । त्यस्तो ‘अपरम्परागत’ कार्य गरेकाले पिता कृष्णलाल छोरा धर्मलाई पिट्न लठ्ठी लिएर घरमा कुरेर बसेका थिए । तर, धर्म हलो जोतिसकेपछि भागेर पल्लो गाउँ ठूलो पर्सेल पुगे । सात दिनसम्म उनी घर आएनन् । त्यसपछि त एक, दुई, तीन गर्दै नेवारहरूले आफैँ खेत जोत्न थालेका थिए । अचेल त त्यो गाउँमा बाहुनहरूले पनि हलो चलाउन थालिसकेका छन् ।
त्यस्तै अर्को एक प्रसंग पनि छ । तामाङले नेवार समुदायले हेप्ने संस्कारविरुद्ध गाउँमा ‘देवीस्थान भजन समाज’ गठन भएको थियो । यसमा नेवारी भजन–कीर्तन गर्ने काम हुन्थ्यो । पछि धर्मकै अगुवाइमा त्यो समाजलाई सामाजिक क्लबको रूपमा जिल्ला प्रशासनमा दर्ता गराइ सक्रिय गराइएको छ, अहिले यो संस्था हेप्ने र हेपिने संस्कारविरुद्धको ‘युनिटी’ बनेको छ ।
अझ रोचक के छ भने धर्म नयाँ बजारस्थित बहुउद्देश्ययीय मार्सल केन्द्रमा बहिरा बालबालिकालाई जुडो सिकाउँछन् । यही प्रशिक्षणका लागि उनले साइन ल्याङवेज
(सांकेतिक भाषा) सिकेर त्यसमा डिप्लोमा गरेका छन् । बहिरा बालबालिकालाई सिकाउँदा उनी सांकेतिक भाषामै संवाद गरिरहेका हुन्छन् । मध्य बानेश्वरमा बहिरा बालबालिका बस्ने होस्टल छ । उनी त्यहाँ महिनामा दुई–तीन दिन जान्छन् र लामो समय बिताउने गर्छन् । उनले केही समय अन्धा बालबालिकालाई पनि जुडो सिकाएका थिए तर पर्याप्त संरचना र स्रोत अभावमा त्यो भने निरन्तर हुन सकेन ।
सुनिता मगर, फुपू लामु खत्री, पाकिस्तानमा भएको साफ जुडो च्याम्पियनसिपमा रजत विजेता रमेश मगर, ढाका साफका कांस्य विजेता दीपककृष्ण श्रेष्ठ आदि बहुउद्देश्ययीय मार्सल आटर््स केन्द्रकै उत्पादन हुन् । विदेशमा सहभागी हुने खेलाडीमध्ये ७५ प्रतिशत खेलाडी यही केन्द्रकै उत्पादन हुने गरेका छन् । तर, नेपाल जुडो ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष, नेपाल एइकिडो संघका कोषाध्यक्ष, नेपाल जुडो संघका सचिव, नेपाल नेसनल मार्सल आर्ट गेम्स कमिटीका महासचिव र नेपाल खेलकुद महासंघका सचिवसमेत रहेका धर्म त्यति सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘परिवर्तन त विकासका लागि हुनु पर्ने हो । तर, खेलकुदमा त्यसो भएको छैन । खेलकुदको विकास गर्ने नाममा खेलाडीलाई ‘युज’ गरेर धन्दा गर्नेहरूको बोलबाला छ । त्यस्तालाई निर्मूल नगरेसम्म खेलकुदको विकास हुन सक्दैन ।’
धर्मलाई राष्ट्रिय खेलकुद परिषद्को काम गर्ने शैलीप्रति असहमति छ । राखेपको प्राथकितामा खेलकुद होइन, राजनीतिले ठाउँ ओगटेको उनको ठम्याइ छ । खेलकुदमा पर्याप्त रकम विनियोजन हुनपर्ने, नियमित प्रशिक्षण, क्याम्प, डाइट आदिको समुचित व्यवस्था हुनु पर्ने र सक्षम प्रशिक्षक भए मुलुकभित्रैबाट र यहाँ नभए मुलुकबाहिरबाट झिकाएर भए पनि संयोजन गर्नु पर्ने उनको आग्रह छ ।
मार्सल आर्ट्समा संलग्न रहे पनि धर्मलाई लडाइँ–झगडा मन पर्दैन । कुटपिट मन पर्दैन । उनी भन्छन्, ‘जुडो वा अन्य कुनै पनि मार्सल आर्ट त आत्मरक्षाका लागि हो । यो त खेल हो र यसमा टेक्निक लगाएर जित हासिल गर्नुपर्छ ।’
जसरी पत्रकारिता आवाजविहीनहरूको दह्रो आवाज हो, त्यसैगरी मार्सल आर्ट असहाय र अपहेलितहरूको पक्षमा चट्टान बनेर उभिने नैतिक भावना हो ।

प्रतिक्रिया