विद्यार्थीलाई छुट दिइन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल विद्यार्थीका लागि रासनकार्ड र पेट्रोलियम पदार्थमा ३३ प्रतिशत छुटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
सत्तापक्षीय आठ विद्यार्थी संगठनको ज्ञापनपत्र बुझेपछि शुक्रबार प्रधानमन्त्री डा. भट्टराईले विद्यार्थीसँग विगतमा गरिएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् । विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, विद्यार्थीलाई यसअघिको सहमतिअनुसार ३३ प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने र नेपाल आयल निगमको चुहावट नियन्त्रण गर्नुपर्नेलगायत माग गरेका छन् ।
उनीहरूले अमेरिकाको आइकन सु डिजाइन कम्पनीले उत्पादनमा राखेको गौतम बुद्धको तस्बिर हटाउनका लागि कूटनीतिक पहल गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्रीले त्यस्तो कार्य रोक्न कूटनीतिक पहल गर्ने र त्यस्ता उत्पादन नेपालमा प्रतिबन्ध लगाउने आश्वासन दिएको अनेरास्ववियु क्रान्तिकारीका नेता जागृत रायमाझीले बताए । (सौस)

प्रतिक्रिया