किताब : जीवनको अनन्त गहिराइ

पाँच दशक बितिसकेपछि एउटा प्रश्न आयो ‘तपाईंको जीवनले गरेको पुस्तकयात्रा कस्तो होला ?’ यो प्रश्न त सरल छ तर एउटा सीमाभित्र उत्तर लेख्नु मुस्किल छ, असम्भव छ । किनभने पाँच वर्षमा मैले अक्षरारम्भ गरेँछु यताका ५४ वर्षमा कति किताब देखँे हँुला, स्पर्श गरेँ हुँला, पढेँ हुँला अझै कतिलाई मायाले सिउरिराखेको छु म भन्न सक्तिनँ । यो लामो जीवन सधैँ नै पुस्तकसँग, पुस्तककै विषयमा, पुस्तककै चिन्ताले, पुस्तककै प्रेमले कहिले बहुलाउँदै, कहिले आह्लादित हुँदै बित्यो । मेरो पुस्तकको संसार एउटा महासागरजस्तो लाग्छ । आदि अन्त्य थाहा नपाएर भित्रभित्रै म हराएजस्तो भएको छु । म एउटा शिक्षक  वा कर्मचारी वा सिपाही वा कृषक भएको भए मेरो संसार यसरी पुस्तकमय हुने थिएन होला । आफ्नो शिक्षण पेसाले केही पुस्तक माग्यो तर त्यसको सयौँ गुणा बढी त मभित्रको लेखकले  मागिरहेको छ । त्यसकारणले एउटा स्रष्टा भएपछि ऊ जाग्रत अवस्थामा, सुषुप्तिमा वा निद्रामा समेत पुस्तकदेखि टाढा, बाहिर कतै जान नसक्तोरहेछ । बिहान, दिउँसो, बेलुका— पुस्तक पढ्नुछ, सोच्नुछ, सिर्जना गर्नुछ । पुस्तकको भौतिक स्वरूपदेखि लिएर यसको आत्माको कुरा गर्दागर्दै, आफ्ना देशका पुस्तकसँग अरूका तुलना गर्दै जीवन बितेको छ । यसमाथि अंग्रेजी भाषा साहित्यको मैदानमा उत्रेपछि आफ्नो होसै हराउलाजस्तो हुन थाल्छ । त्यो पुस्तकहरूको महासागर हो । मैले केही थोपामात्र ग्रहण गर्न सकेँ हुँला ।
सर्वप्रथम आफूले अक्षर सिकेको ठूलो वर्णमालाले अझै मलाई सपनामा समेत पछ्याइरहेको छ । ती अक्षरका बिचित्र आकारहरू कुनै मासगेडी, कुनै तल्थोप्ली, कुनै निहुरमुन्टी वर्षमा करोडौँपल्ट दोहोरिए होलान् तर ठूलो वर्णमालाका जस्ता रहस्य र आश्चर्यले भरिएका आकृति फेरि कहिल्यै देखिनँ । त्यही वर्णमालामा नै सरस्वती मयादृष्टा कण्ठ गर्दै त्यो तस्बिरमा गुरुजीले ढोग्न लगाउनुहुन्थ्यो । त्यसो त हाम्रा पिताजी नै एक महान् गुरुजी हुनुहुन्थ्यो । त्यसबेला कण्ठ गरेका गीताका श्लोकहरू आज मात्र घाम भएर लाग्दैछन् । अनि विद्यालय पुगेर पढेका सामाजिक शिक्षा, नेपाली र अंग्रेजीका अक्षर रहस्यमय जंगलहरू कहिले छिचोलेर पारि पुगूँजस्तो लाग्थ्यो ।  त्यसो त घरमा पनि पिताजीका पुस्तकहरू थिए । भात खाइसकेपछि स्पर्श गर्न नमिल्ने वेद र पुराणहरू टाढैबाट पूजाकोठामा हेथ्र्यौं । एउटा पात्रोदेखि  गीता, चण्डी, रुद्री आदि–एउटा ब्राह्मण परिवारमा हजाराँै वर्षको संस्कार–गंगा प्रवाहित भइरहँदो रहेछ । आज मात्र म थाहा पाउँदैछु । तर, त्यसलाई छाडेर मेरो यात्रा एउटा कृत्रिम बगैँचातिर एकोहोरिएको रहेछ । मैले आफ्नो अध्ययन सुरु गर्दा हाम्रो घरमा सबै संस्कृतका पुस्तक थिए । एउटा पात्रो, नैवेद्य, कोमल गीताजस्ता केही नेपाली थिए तर अंग्रेजीको प्रवेश थिएन । आज पाँच दशकपछि आफ्ना वरिपरि हेर्छु सबै किताब अंग्रेजका छन् । तिनले नेपालीलाई जितेको छ, तिनले संस्कृतलाई निर्मूल पारेको छ । दुई पुस्ताबीचमा पुस्तक संस्कृतिको यो अकल्पनीय परिवर्तन भोगिरहेको म । यस अन्तरालमा मैल प्रेमले पढेका, बाध्यताले पढेका, उत्साहले पढेका, निराश भएर मिल्काएका पुस्तकको संख्या र नाम मैले टिपिनँ । भाषाविज्ञानमा ब्लुमफिलको ल्यांग्वेज अनिवार्य थियो । अनुवादमा न्युमार्कको टेक्निक्स अब् ट्रान्सलेसन अनिवार्य थियो । त्यस्तैगरी समालोचनाका सिद्धान्त विश्वसाहित्यका ग्रन्थ कति त मन परे पनि नपरे पनि पढ्नैपर्ने हँुदा रहेछन् । विगतको दशकदेखि ट्रान्सलेसन स्टडिज, पोस्टमोडर्निजम र डायस्पोरा विषयका कृतिले मलाई निल्दै छन् । यसरी एउटा विषयभित्र प्रवेश गर्दा एक होइन, अनेक पुस्तकको भासमा पसिन्छ, सागरमा डुबिन्छ । धेरैजसो त ठूलो परिश्रम व्यर्थमा खेर जान्छ । पुस्तक नछिचोलेसम्म त्यसको गुण/दोष/महत्त्व थाहा पाइँदैन । छिचोलिसकेपछि कहिले त व्यर्थको पुस्तकले पनि धेरै श्रम र समयको शोषण गरेको थाहा हुन्छ । यसरी अन्य विषयका पुस्तकहरू पढ्नु भनेको ज्ञान र सूचनाको  विस्तार मात्र रहेछ । एउटा स्रष्टाको निमित्त ती कुरा पनि आवश्यक पर्छन् । खासगरी समालोचकका लागि ती आवश्यक पर्छन् । उदाहरणका लागि विमिन्ज राइटिङ अन द फस्ट वल्ड वार पढेपछि मैले माओवादी मिलिसियामा लागेर युद्ध लड्ने नारीबारे लेख्न सकेँ । द ताओ अब् फिजिक्स पढेर पूर्वीय दर्शन खासगरी उपनिषद्ले पश्चिमी काप्रामाथि कत्रो प्रभाव पारेको रहेछ भन्ने कुरा लेखँे, फ्रेन्च लिटरेचर फ्रम अर्लि मोर्डन टु पोस्टेर्डन पढेर नेपाली कला र साहित्यमा आधुनिक फ्रान्सेली साहित्यको प्रभावमाथि लेखेँ । इको क्रिटिसिजम रिडर पढेर नेपाली साहित्यमा पर्यावरणीय साहित्य समालोचनाबारे  लेखेँ । टमस फ्रिडम्यानको द वल्र्ड इज फ्ल्याट पढेर एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्वमा हाम्रा विचार चेतना र कर्महरू कसरी भिन्न भएका छन्, संगोलित भएका छन्, त्यसले हाम्रो सिर्जना र समालोचना कसरी बदलिएको छ  लेखेँ । फिलोसफी एन्ड रिलिजन: फ्रम प्लोटो टु पोस्टमोर्डनिजम पढेर वर्तमान कालमा दर्शन र धर्मप्रतिको  हाम्रो अडान के कस्तो छ भन्नेबारे लेखेँ । यस्ता किताबको संख्या हजारभन्दा ज्यादा होला तर यी किताबहरू बुद्धिमा आएर आत्मालाई नछोई बुद्धिबाटै निस्किएर जान्छन् । यिनीहरूले मानव विकासको एउटा निश्चित आयामभरिको ज्ञान मात्र दिन्छन् । मानव विकासको आयाममा वृद्धि भएपछि यस्ता पुस्तकको महत्त्व घट्दै जान्छ आज माक्र्सका, डार्बिनका, फ्रायडका, माल्थसका किताबहरू आ–आफ्ना विषयका जगमा परिणत भएका छन् । समसामयिक ज्ञानको तिर्खा हुनेले ती विषय पल्टाउँदैन । ती पछि थपिँदै गरेका अरू ज्ञानहरू झन्झन् नयाँ भाएर आउँछन् ।
एउटा स्रष्टाको मनलाई छुने, छोएर सदैव त्यहीँ बास सस्ने, बारम्बार फेरि बाहिर आउने  पुस्तकहरूको सूची अर्कै छ । ती हुन् साहित्यिक कृति । साहित्यिक कृतिको कुनै आयु हँुदैन । ती अनादिदेखि अनन्तसम्म मानव हृदयका लागि लेखिएका हुन्छन् । मलाई पनि यस्तै साहित्यिक कृतिहरूको पठनले साहित्य जगत्तिर आकर्षित गर्‍यो उत्प्रेरित गर्‍यो । अघि विद्यालयस्तरमा  भ्रमर, डाकबंगलाजस्ता कृति पढ्ने सुयोग मिल्यो । झापाको श्री आदर्श हाइस्कुल घैलाडुब्बामा ठूलो पुस्तकालय थियो । त्यसका लागि दाताराम सरले कहाँ–कहाँदेखि पुस्तक बोरामा हालेर बोकेर ल्याउनुहुन्थ्यो । त्यहाँ भारती, दियालोजस्ता पत्रिका पनि थिए । पछि काठमाडौं पसेपछि टोमस हार्बिका दु:खवादी उपन्यास, अर्बेलका र लरेन्सका आख्यान र बर्नाड शाका नाटकले मस्तिष्क र हृदय दुवै विचलित गरायो । त्यसैगरी हाम्रा महाकविका शाकुन्तल अनि ताना शर्माका उदात्त जगत्का कृति, कृष्णचन्द्रसिंहका समालोचनाहरू सँगसँगै अंग्रेजी साहित्यमा म भित्रभित्र पुगेँ । शेक्सपियरदेखियताका डब्लु बी यिट्ससम्म पढियो । पहिले त पाठ्यपुस्तकको रूपमा पढियो अनि साहित्य भएर भिज्दै आयो । त्यस्तै हुन खोजँे, त्यस्तै गर्न खोजँे, त्यस्तै लेख्न सकिएला कि भनी म एकोहोरिएँ । त्यही मार्ग भएर जर्मन गेटे र सिलर, रुसी टल्सटोय र चेखब पढ्दै आएँ ।
अन्त्यमा अनेक प्रकारका साहित्यिक कृतिहरूले निरन्तर आनन्द र कलापूर्ण उज्यालो दिइरहन्छन् । जर्मन विद्वान् जोहान गटप्रिड हर्डरले भनेको सम्झन्छु– मानव मस्तिष्कका उपजहरूमा शाकुन्तलम्भन्दा बढी आनन्दकर कुनै कृति पाउन सकिनँ । यो ता पौरस्त्य जगत्को एक पुष्प– यो प्रथम औ (यसप्रकारको) सुन्दरतम् थुँगा हो । यससँग तुलनीय कृतिहरू सायद दुई हजार वर्षमा एकपल्ट जन्मिन्छन् होला ।
यही सम्झेर म अनेक प्रकारका साहित्यिक कृतिको पठन र सिर्जनामा जीवन बिताउन चाहन्छु । यतिखेर म पूर्वीय सभ्यतापट्टि फर्केको छु तर यो क्षणिक पार्थिव चोलाभरिमा यति गर्छु उति गर्छु भन्छौँ मात्रै । धरैमाथि फुलेको फूल टिप्न लम्किरहेछौँ तर तल फेदैमा काँडाले घोच्ने, कीट पतंगले डसेर लडाउने गर्दो रहेछ । म त्यस्तै एक हुँ तथापि साहित्य गरिरहन चाहन्छु । र, त पुस्तकभित्रै, पुस्तकै बनाउन केही कोर्दैछु ।

प्रतिक्रिया