कारागारमा कैदीको मृत्यु हुने क्रम बढ्यो

विराटनगर, २३ भदौ । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेकाको मृत्यु हुने क्रममा बढ्दै गएको छ । एक कैदीको मृत्यु भएको तीन साता नबित्दै बिहीबार राति थप एक कैदीको मृत्यु
भएको छ ।
जबर्जस्ती करणीसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका मोरङ लेटाङ–८ का ६५ वर्षीय वीरबहादुर विकको मृत्यु भएको हो । मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएका विकको उपचारका क्रममा कोसी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ३० फागुन ०६३ देखि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका विकको उपचारका लागि अस्पताल भर्ना गरिएको २४ घन्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दम र मुटुसम्बन्धी रोगी थिए ।
भदौ महिनामा मात्र मोरङ कारागारका दुई कैदीको मृत्यु भइसकेको छ । कारागार प्रशासनले विभिन्न रोगका कारण कैदीको मृत्यु भएको बताए पनि क्षमताभन्दा बढी कैदी राखिएको तथा समयमा उपचार नपाएका कारण कैदीको मृत्यु हुने गरेको पाइएको छ । समस्या समाधानका लागि कहिँकतैबाट अहिलेसम्म पहल नहुँदा अत्यधिक गर्मीका कारण
कैदी बिरामी पर्नुका साथै उनीहरूको मृत्युसमेत भइरहेको छ ।
अन्य धेरै कैदीले समस्यामा रहे पनि आफूहरूको उपचार नभएको गुनासो गर्दै आएका छन् । कारागारका चौकीदार वीरेन्द्रकुमार मेहेताले कैदीको संख्या धेरै भएकाले कोचिएर बस्नुको पीडाले यातना भोगिरहेको जस्तो भान भएको बताए । कारागार सुधार गृहभन्दा पनि यातना गृहमा परिणत हुँदै जाँदा कैदीले ज्यान गुमाउनु परेको उनको भनाइ छ । ‘कैदीले भनेका बेला र समयमा उपचारसमेत पाउँदैनन्,’ मेहेताले भने, ‘उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परिरहेको छ ।’
दुई सय ५० जना क्षमताको कारागारमा छ सय २३ कैदी राखिएको छ । तीमध्ये पाँच सय ५७ पुरुष ६६ महिला छन् । क्षमताभन्दा बढी कैदी राखिएपछि खान, बस्न, सुत्न र दैनिक कार्यका लागि समस्या भइरहेको गुनासो कैदीको छ ।
कुनै पनि बिरामी कैदीको समयमा उपचार नहुने गरेको पाइएको छ । बिरामीको स्वास्थ्य अवस्था एकदम जटिल अवस्थामा पुगेपछि मात्र उपचारका लागि लैजाने गरिएको छ । मोरङ कारागारमा १२ असारमा नसाको रोगबाट पीडित बनेका सुनसरी भरौल–३ का ५० वर्षीय श्रवणकुमार राजवंशीको मृत्यु भएको थियो भने स्वासप्रस्वासबाट पीडित बनेका उदयपुरको पञ्चमी–९ का ५५ वर्षीय काजीमान श्रेष्ठको पनि ८ भदौमा मृत्यु भएको थियो । जिउ मास्ने बेच्ने मुद्दामा २७ असोज ०६३ देखि सजाय भुक्तान गरिरहेका उनको पनि समयमा र प्रभावकारी उपचार नहुँदा अकालमै ज्यान गुमाउनु परेको कैदीले गुनासो गरेका छन् ।

प्रतिक्रिया