देशभर फेसबुक उपत्यकामा हात लाग्यो शून्य र सिन्दुर

काठमाडौं : पछिल्लो समय नेपाली चलचित्रले गतिलो व्यापार गर्न नसके पनि प्रदर्शनमा आउने चलचित्रको संख्या भने झन् बाक्लिँदै छ । आज शुक्रबार फ्रेस चलचित्रका रूपमा देशभर फेसबुक प्रदर्शन हुँदै छ भने मोफसलमा प्रदर्शन भइसकेका सिन्दूर र हातमा लाग्यो शून्य उपत्यका भित्रिँदै छन् । सिन्दूर गोविन्द गौतमको निर्देशनमा तयार भएको हो भने फेसबुकका निर्देशक सुरज सुब्बा नाल्बो हुन् । हातलाग्यो शून्यलाई विजय विक्रम बस्नेतले निर्देशन गरेका छन् । सिन्दूर र हातमा लाग्यो शून्य उपत्यकामा मात्र प्रदर्शन हुन लागेका हुन् भने फेसबुक देशभर । अघिल्लो हप्ता उपत्यकाबाट प्रदर्शनमा आएका नमस्ते र फुल स्टपले पनि उपत्यकाबाहिरका स्टेसन पाएका छन् ।
नायक राजेश हमालले अहिलेसम्मकै सबैभन्दा फरक भूमिका निर्वाह गरेको भनिएको हातमा लाग्यो शून्य कमेडी बेसमा छ । विश्व बस्नेत यसका निर्माता हुन् । कल्पना शाही, शिव आचार्य, किरण केसी, सुशील पोखरेललगायत कलाकार मुख्य भूमिकामा छन् । बी एन्ड बी इन्टरटेनमेन्ट ब्यानरको चलचित्रमा लेखन दिवाकर मैनाली, द्वन्द्व राम जनक, संगीत विकास चौधरीको रहेको छ भने छायांकन लोकचन्द्र थापाले गरेका छन् ।
त्यस्तै फेसबुक युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको चलचित्र हो । नायिका झरना थापा र उनका पति निर्माता सुनीलकुमार थापाले यसको निर्माण गरेका हुन् । राजेश हमाल, झरना थापा, स्वतन्त्रप्रताप शाह, सुवास थापा, विल्सनविक्रम राई, सुमन गैरेलगायत कलाकार मुख्य भूमिकामा छन् । सुनिल बर्देवाको संगीत, संजय लामाको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व तथा बनिस शाहको सम्पादन छ । सिंगापुर र नेपालका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ । यसअगाडि आफूले निर्माण गरेका अन्य चलचित्रजस्तै यसले पनि राम्रो व्यवसाय
गर्ने आशा पालेको निर्मात्री झरना
थापाले बताइन् ।
आजबाटै उपत्यकामा प्रदर्शन हुन लागेको सिन्दूरले नारीहरूको कथालाई मुख्य विषयवस्तु बनाएको छ । उपत्यकाबाहिर राम्रै व्यापार गरेको यो चलचित्रले तीजको अवसर पारेर उपत्यकामा आउने तयारी गरे पनि एक हप्ताअघि नै प्रदर्शन भएको यो । सिन्दूरको रक्षाका खातिर एउटी नारीले जे पनि गर्न सक्छे भन्ने सन्देश चलचित्रले बोकेको निर्देशक गौतमले खुलाए । उपत्यकाका १८ वटा हलबाट प्रदर्शनमा आएको जुपिटर फिल्म्स प्रोडक्सन प्रालि ब्यानरको यो चलचित्र राधेश्याम राई र सरिता ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन् । विराज भट्ट, सुनीलदत्त पाण्डे, तृप्ति नाडकर, जेनिसा केसी, कुशल थापा, नन्दु श्रीवास्तव, स्नेहा शर्मा, लक्ष्मी गिरी, विनोद राई मुख्य भूमिकामा छन् । यसमा विकास चौधरीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व तथा गोविन्द राईको नृत्यनिर्देशन छ ।

प्रतिक्रिया