नेपालद्वारा मलेसिया १० विकेटले पराजित

क्वालालम्पुर, २२ भदौ । मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–फोरमा लगातार तेस्रो जित हात पारेको छ । बिहीबार आफ्नो तेस्रो खेलमा पनि नेपालले उत्कृष्ट बलिङ प्रदर्शनलाई कायम राख्यो ।
टस जिती पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया ३२.१ ओभरमा ६९ रनमा समेटिएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका शक्ति गौचन र वसन्त रेग्मीले समान तीन विकेट लिए । त्यस्तै अमृत भट्टराईले दुई तथा विनोद दास र सन्जम रेग्मीको नाममा एक/एक विकेट रहयो ।
नेपालले १२.२ ओभरमा एकै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो । नेपालका प्रारम्भिक ब्याट्सम्यानद्वय सुभाष खकुरेलले २४ तथा अनिल मण्डलले ४१ रन बनाए । ३४ बलको सामना गरेका सुभाषले चार चौका प्रहार गरे । यसअघिका दुवै खेलमा कमजोर प्रदर्शन गरेका अनिलले यसपटक भने ४० बलको सामना गर्दै ६ चौका प्रहार गरेर गतिलो इनिङ खेलेका थिए । नेपाली टोलीलाई लक्ष्य पूरा गर्न मात्र ४८ मिनेट लागेको थियो ।
यसअघि मलेसियाका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । पहिलो विकेटका लागि १६ रनको साझेदारी गरे पनि सोही स्थितिमा थप दुई विकेट गुमाएको मलेसियाले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो । तर चौथो विकेट गुमाएलगत्तै मलेसिया पुन: संकटमा परेको हो ।
स्पिनर शक्तिले १० ओभरबलिङ गरी आठ मेडन राखेर दुई रन मात्र खर्चिए । त्यस्तै ८.१ ओभर बलिङ गरेका अर्का स्पिनर वसन्त रेग्मीले तीन मेडन राखेर १२ रन खर्चिए । तीन ओभर बलिङ गरेका सन्जमबाट विपक्षले कुल ६ रन मात्र लिन सक्यो ।
यसअघि पहिलो खेलमा सिंगापुरविरुद्ध भिड्ने क्रममा पाँच विकेटले विजयी भएको नेपालले दोस्रो खेलमा तान्जानियाविरुद्ध सात विकेटको जित हात पारेको थियो । यी दुवै खेलमा नेपाल आधाभन्दा बढी इनिङ बाँकी छँदै विजयी भएको थियो । दुवै खेलमा लक्ष्य पछयाएको नेपालले पहिलो खेलमा सिंगापुरलाई १११ रन र दोस्रो खेलमा तान्जानियालाई ८२ रनमा समेटेको थियो ।
प्रतियोगितामा वसन्तको विकेट संख्या नौ पुगेको छ । उनले यसअघिका दुवै खेलमा समान तीन विकेट लिएका थिए । जितसँगै नेपाल अंकतालिकामा तीन खेलबाट ६ अंक बटुल्दै शीर्षस्थानमा छ । नेपालपछि डेनमार्क, सिंगापुर र अमेरिकाको तीन खेलबाट चार अंक छ । मलेसिया र तान्जानियाले अंक जोड्न सकेका छैनन् । नेपालले डेनमार्क र अमेरिकाविरुद्ध खेल्न बाँकी छ । नेपालले शुक्रबार अमेरिकाविरुद्ध खेल्नेछ । अमेरिकाविरुद्ध विजयी भए नेपाल एक खेल बाँकी छँदै डिभिजन–थ्रीमा प्रवेश गर्नेछ । यद्यपि अमेरिकाविरुद्ध पछिल्ला खेलमा नेपालको नतिजा भने त्यति राम्रो छैन ।

शक्तिको कीर्तिमानी बलिङ

शक्ति गौचनले एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजका फिल सिमोन्सको नाममा रहेको कुनै एक खेलमा ‘बेस्ट इकोनमिक बलिङ’ को कीर्तिमान सुधार गरेका छन्  । यद्यपी शक्ति विश्व कीर्तिमानको लिस्टमा भने अटाएनन् । आइसिसीबाट एकदिवसीय स्टाटस नपाएको खेल भएका कारण सर्वोत्कृष्ट बलिङका बाबजुद भैरहवा निवासी शक्ति ‘नयाँ कीर्तिमानधारी’ का रूपमा नाम लेख्न सफल हुन सकेनन् ।
सिमोन्सले सन् १९९२ को एकदिवसीय विश्वकपमा पाकिस्तानविरुद्ध १० ओभर बलिङ गरी आठ मेडन राखेर तीन विकेट लिएका थिए । उक्त कीर्तिमानमा उनको बलिङ इकोनोमी ०.३ थियो । शक्तिले १० ओभर बलिङ गर्ने क्रममा आठ मेडन राखेर दुई रन खर्चंदै तीन विकेट लिए । शक्तिको बलिङ इकोनोमी ०.२ रहयो । यसअघि जारी प्रतियोगिताअन्तर्गत सिंगापुरविरुद्ध पनि शक्तिको बलिङ प्रदर्शन उत्कृष्ट थियो । उक्त खेलमा नौ ओभर बलिङ गर्ने क्रममा चार मेडन राखेका उनले आठ रन खर्चंदै एक विकेट लिएका थिए । उक्त खेलमा शक्तिको बलिङ इकोनोमी ०.८८ थियो । तान्जानियाविरुद्ध उनले तीन ओभरमा आठ रन खर्चिएर एक विकेट लिएका थिए ।
भरखरै मात्र नेपालका अर्का स्पिनर राहुलकुमार विश्वकर्माले
यु–१९ विश्वकपमा कीर्तिमान बनाएका थिए । उनले वीरेन्द्र सहवागको नाममा रहेको १४ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । सन् १९९८ को विश्वकपमा सहवागले स्कटल्यान्डविरुद्ध आठ ओभर बलिङ गरी पाँच मेडन राख्दै चार रन दिएर तीन विकेट लिँदै बनाएको ०.५ को कीर्तिमान राहुलले पपुआ न्युगिनीविरुद्ध ६.२ ओभर बलिङ गरी चार मेडन राख्दै तीन विकेट लिएर ०.४७ को कीर्तिमान कायम गरेका थिए । राहुलको कीर्तिमान यु–१९ विश्वकपको मात्र थियो । यतिबेला राहुल नेपाली सिनियर टोलीमा भए पनि उनले जारी डिभिजन–फोरमा खेल्ने अवसर पाएका छैनन् ।

प्रतिक्रिया