लडाकुले फाराम भर्न मानेनन्

सुर्खेत, २१ भदौ । लडाकुहरु फारम भर्न नआएपछि सुर्खेतको दशरथपुरस्थित माओवादी लडाकुको छैठौ डिभिजनमा आज लडाकु समायोजनको प्रक्रिया सुरु हुन सकेन ।
अवरुद्ध लडाकु छनोट प्रक्रिायालाई आजदेखि अगाडि बढाउने निर्णय गरे अनुसार शिविरको जिम्मा लिएको नेपाली सेनाको टोली विहानैदेखि फाराम वितरणका लागि तयार भएका थिए ।
समायोजन प्रक्रियामा देखिएका सबै विवाद अन्त्य भइसकेको जनाइएपनि आफूहरुलाई त्यसबारे कुनै पनि जानकारी नभएको र शिविरको हिसाब किताब अझै पारदर्शी नगरिएको भन्दै लडाकुहरुले फाराम भर्न नमानेका हुन् ।
नेपाली सेनाका प्रमुख सेनानी भरत कार्कीले भर्ना छनौटका लागि फाराम वितरणका लागि विहानैदेखि तयारी गरिएपनि पहिले लडाकुहरुले सेना समायोजनको विशेष समिति नआएसम्म फाराम नभर्ने बताएको जानकारी दिए ।
विशेष समितिको टोली दिउसो करिब दुई बजे मात्रै शिविरमा पुगेको थियो । टोली शिविरमा पुगेपनि प्रक्रियामा भएका विवाद समाधानको पूर्ण जानकारी नपाएको र शिविरको हिसाब किताब पारदर्शी अझै नभएको भन्दै लडाकुहरुले फाराम भर्न नमानेका हुन् ।
विशेष समितिका सदस्य दीपकप्रकाश भट्टले आज लडाकुहरुसँग समायोजन प्रक्रियामा पहिले देखिएका विवाद समाधान भएको बारे अन्तरक्रिया गर्ने जानकारी दिए ।
विदामा घर गएका लडाकुहरु समायोजनको प्रक्रिाया शुरु हुने जानकारी पाएपछि शिविरमा फर्कन थालेका छन् । छैठौ डिभिजनका करिब डेढ सय लडाकु शिविरमा फर्किसकेका छन् ।

प्रतिक्रिया