जापानीले बनाए शिरीषको फूल

काठमाडौं, २१ भदौ । साहित्यकार पारिजातको अमरकृति ‘शिरीषको फूल’ माथि चलचित्र निर्माण भएको छ । शिरीषको फूल नै नाम राखिएको सो चलचित्र हालै राजधानीमा सार्वजनिक प्रदर्शन पनि गरियो ।
यो चलचित्र जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् । मंगलबार आयोजित कार्यक्रममा उनले यो चलचित्र बनाउन चार वर्ष लागेको जानकारी गराए । २०२२ सालमा मदन पुरस्कार पाएको यो कृतिले अन्तर्राष्ट्रिय जगत्मा नेपाली साहित्यलाई चिनाएको र अमेरिकास्थित मेरिल्यान्ड युनिभर्सिटीको कोर्समा समेत समेटिएकाले यसमाथि चलचित्र बनाउन मन लागेको उनले बताए । उनले भने, ‘यस्तो ऐतिहासिक कृतिमा फिल्म निर्माण गर्ने अनुमति दिएकोमा पारिजात स्मृति केन्द्रलाई मुरीमुरी धन्यवाद दिन चाहन्छौँ ।’
टोकियो युनिभर्सिटीको आमसञ्चार विभागका प्राध्यापक डा. तोसिआकीले यसअघि ५० मिनेट लामो नेपाली चलचित्र ‘कठपुतली’ पनि निर्देशन गरिसकेका छन् ।
प्रेम मुटुबाट सुरु भएर मन मस्तिष्क र आत्मासम्म पुगी मानवतावादमा परिणत हुन्छ र यो अमर हुन्छ भन्ने सन्देश दिन्छ शिरीषको फूलले । कृतिमा रहेको मनोविज्ञान, भावुकता र आदर्शात्मक पक्षलाई चलचित्रमा जस्ताको
तस्तै उतार्ने कोसिस भएको सहनिर्देशक विजयरत्न तुलाधरले जानकारी गराए ।
चलचित्रमा मूल पात्रहरु सुयोगवीरको भूमिकामा गणेश लामा र सकम्बरीको भूमिकामा शर्मिला गुरुङले अभिनय गरेका छन् । अन्य कलाकारमा अप्सरा कार्की, सौजन्य सुब्बा, वसुन्धरा भुसाल, श्याम राई, जगत राजथला, गोपाल भुटानी, लक्ष्मी भुषाल, सन्तोष लामा, गणेश मुनाल, इन्दिरा गोले गुरुङ छन् । स्व. गोपाल भुटानीको यो अन्तिम चलचित्र हो । क्रियसन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा कथा पारिजात, पटकथा नयनराज पाण्डे र निर्देशक तोसिआकीको, छायांकन नारायण जिसीको रहेको छ । सम्पादन पनि निर्देशकले नै गरेका छन् । दिनेश सुनामको संगीत समेटिएको चलचित्र पनौती, भक्तपुर, खोकना, बुङ्मती, वज्रबाराही, पोखरालगायत स्थानमा छायांकन गरिएको छ ।

कृतिमाथि फिल्म बनाउन सजिलो छैन
६ वर्षअघि नेपाल भ्रमणमा आउँदा पाटन कृष्णमन्दिरछेउ देखेको कठपुतलीले मेरो मन लोभ्यायो । जापान फर्केपछि पनि त्यसलाई मिस गरेँ । मलाई त्यसबारे एउटा चलचित्र बनाउने इच्छा जाग्यो । नेपाल आएर त्यो इच्छा पूरा गरेँ । कठपुतलीलाई चलचित्र विकास बोर्डले पुरस्कृत गर्‍यो । जापानमा पनि मैले अवार्ड पाएँ । त्यहीँबाट सुरु भएको नेपाली चलचित्रको यात्रामा शिरीषको फूल पनि जोडेको हुँ ।
यो चलचित्रलाई आफ्नो ज्ञान र शिल्पलाई माझ्ने अवसरका रूपमा लिएँ । यहीबीच मैले नेपाली फिल्मको इतिहासमाथि पिएचडी सकेँ । नेपाली फिल्मको धार, स्वाद र दर्शकको चाहनालाई नजिकबाट बुझ्ने र विश्लेषण गर्ने मौका मिल्यो । ‘शिरीषको फूल’ कृति दर्जनौँपटक पढेँ हुँला । किनभने, कुनै पनि कृतिमाथि फिल्म बनाउनु सजिलो कुरा होइन । यस्तोमा अनेक कृतिगत सिमाना हुन्छन्, जसलाई निर्देशकले चाहेरै पनि स्वतन्त्र रूपमा तोड्न सक्दैन । पारिजातको कृतिको जुन उच्च मूल्य र आदर्श छ, त्यसलाई सम्मान गरेको छु मैले चलचित्रमा ।६ वर्षअघि नेपाल भ्रमणमा आउँदा पाटन कृष्णमन्दिरछेउ देखेको कठपुतलीले मेरो मन लोभ्यायो । जापान फर्केपछि पनि त्यसलाई मिस गरेँ । मलाई त्यसबारे एउटा चलचित्र बनाउने इच्छा जाग्यो । नेपाल आएर त्यो इच्छा पूरा गरेँ । कठपुतलीलाई चलचित्र विकास बोर्डले पुरस्कृत गर्‍यो । जापानमा पनि मैले अवार्ड पाएँ । त्यहीँबाट सुरु भएको नेपाली चलचित्रको यात्रामा शिरीषको फूल पनि जोडेको हुँ ।
यो चलचित्रलाई आफ्नो ज्ञान र शिल्पलाई माझ्ने अवसरका रूपमा लिएँ । यहीबीच मैले नेपाली फिल्मको इतिहासमाथि पिएचडी सकेँ । नेपाली फिल्मको धार, स्वाद र दर्शकको चाहनालाई नजिकबाट बुझ्ने र विश्लेषण गर्ने मौका मिल्यो । ‘शिरीषको फूल’ कृति दर्जनौँपटक पढेँ हुँला । किनभने, कुनै पनि कृतिमाथि फिल्म बनाउनु सजिलो कुरा होइन । यस्तोमा अनेक कृतिगत सिमाना हुन्छन्, जसलाई निर्देशकले चाहेरै पनि स्वतन्त्र रूपमा तोड्न सक्दैन । पारिजातको कृतिको जुन उच्च मूल्य र आदर्श छ, त्यसलाई सम्मान गरेको छु मैले चलचित्रमा ।

प्रतिक्रिया