परिश्रमले जिउने अठोट


झुस्स दाह्री धुलोले खैरो भएको छ । कपाल पनि महिनौँदेखि ननुहाएजस्तो । टाउकाको छालासमेत धुलोले खैरो देखिएको छ । शक्ति नासिएर थकित भएजस्ता वर्षौं पुराना गाडी उनको आडैबाट वारपार गरिरहन्छन् । धुवाँधुलोले हरिया पहाडसमेत गर्लम्मै ढाकिन्छन् । बूढा ट्रकका कर्कश आवाजले पहाडै थर्काउँछ । धुलाम्मे भएर छेवैमा गिटीमाथि हात बजारिरहेका शोभानसिंह घर्तीका लागिचाहिँ यी सबै दिनका साथीजस्तै छन् । पटक्कै दिक्क देखिँदैनन् उनी ।
कामप्रतिको लगाब देख्दा लाग्छ– आडैको लमतन्न सुतेको सडकमा हुने क्रियाकलाप उनलाई वास्तै छैन । घनले ठोकेर टुक्रा पारिएका गिटीको थुप्रो अझ ठूलो बनाउनु छ उनलाई । मानौँ, यसबाहेक उनले बुझ्नुपर्ने अरू कुनै विषय छैन । गिटी कुट्न एकनासले चलिरहेको हात टक्क अडिन्छन्, लगातारको कामले फुंग उडेको थकित अनुहार गाडी भएतिर फर्काउँछन्, अनि आफ्नै पारामा फिस्स हाँस्छन् । गाडीको आवाजले गरेको ‘डिस्टर्ब’ को प्रतिक्रिया यत्ति हो उनले देखाउने ।
फेरि, उही एकनासे कामलाई निरन्तरता दिन्छन् । देब्रे हातका पाँचवटै औँलाको आधा भाग छैन । बाल्यकालमै त्यस्तो भएको रे † कारण के हो, उनलाई यकिन छैन । दाहिने खुट्टा लट्ठीको भर नभई सर्दैन । काठमाडौं सहरका पेटीमा उनीजस्ता सयौँ व्यक्ति हात पसारिरहेका भेटिन्छन्, हातमुख जोर्नका खातिर । राजनीतिक पहँुच भएकाहरू भने सरकारले अपांगका नाममा बाँडेको सेतो, नीलो कार्ड बोकेर महिनावारी भत्ता खाइरहेका पनि छन् ।
तर, शोभानसिंहलाई ‘मगन्ते’ भएर सडक पेटीमा थपिने रहर छैन । न त २० किलोमिटर पर रहेको चितवनको सदरमुकाम पुगेर सरकारसँग पाँच सय रुपियाँ भत्ता थाप्ने फुर्सद । ‘घाँस काट्न जाँदा लडेर रूखको हाँगामा परेको, उपचार राम्रो नपाएपछि दाहिने खुट्टाले भर पाउन छाड्यो, अस्पताल जाने खर्च थिएन’, आफ्नो बाध्यता सुनाए । उनी कान पनि राम्रो सुन्दैनन् । एउटा अन्धविश्वासी प्रसंगलाई यसको कारण ठान्छन् उनी– ‘हनुवामा परेको ।’ बाल्यकालमा घाँस काट्न जाँदा मसानले गाला पड्काएपछि कान सुन्न छाडेका रे उनले ।
चितवनको सदरमुकाम जोड्ने जलवीरेको मूल सडकछेउ उनको कार्यथलो बनेको छ । बिहान ६ बजेदेखि साँझ आँखा देखुन्जेल गिटी कुटिरहन्छन्  । अपांग शरीरले सकिनसकी गरेको श्रमबाट परिवारको दैनिक गुजारा धौ–धौ छ ।
शोभानसिंहलाई पाँच सन्तानसहितको सात जनाको परिवार चलाउनु आफ्नो उपचारभन्दा बढी महत्त्वपूर्ण छ अहिले । एक दिनको तीस बोरासम्म गिटी कुट्छन्, जसबाट उनको दैनिक आम्दानी दुई सय तीस रुपियाँ हुन्छ । दालचामलकै भाउ बढेर महँगीले आकाश छोएका बेला शोभानसिंहको चाहनाले आफ्नो शरीरको उपचारतर्फ सोच्न पनि भ्याउँदैन । त्यसैले बिहानैदेखि आँखाले ठम्याउन्जेल दिनभर उनी त्यही सडकको छेउमा गिटीको थुप्रो बढाउनै व्यस्त भेटिन्छन् ।
हातभरि ठेला बाक्लिएका छन् । शरीरले सक्दो हो भने उनी अलि बढी कमाइ हुने काम गर्थे । ‘अरू काम गर्न ज्यान कमजोर छ, ह्याँ गिटी कुट्यो भने नुनतेलको बाटो बन्छ ।’ आफ्नो तागतले दिएको काम यही भएको उनको ठम्याइ छ ।
शोभानसिंहसँग कमाउन आफ्नै जग्गा नभएको पनि होइन । तर, उनको अपांग शरीरले झन्डै १५ हलको पाखो बारी कमाउन सक्दैन । पाँच छोराछोरीको रेखदेखमै श्रीमती सोममायाको दैनिकी ठीक्क छ । त्यसमाथि पनि घाँस दाउरा, बस्तुभाउ उनी नै व्यहोर्छिन् । पाखोबारी हरियाली बनाउन शरीरले साथ नदिएपछि, लट्ठीको सहारामा दुई घन्टा लगाएर घरबाट जलवीरे झरेका हुन् उनी । पाँच महिनायता उनको रोजगारको वैकल्पिक बाटो यही गिटी बनेको छ ।
शोभानसिंहको उमेर ४३ वर्ष पुग्यो । उनलाई आफूजस्तो कान नसुन्ने, हातले राम्रो काम गर्न नसक्ने अनि खुट्टा पनि कमजोर भएका व्यक्तिले भत्ता पाउँछन् भन्ने थाहा छ । सरकारले सामाजिक सुरक्षा भत्ताको नाममा अपांगता भएका व्यक्तिको जीवन गुजाराका लागि भत्ता दिने गरेको छ । २९ किलोमिटर वर सदरमुकाम आए अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने थुपै्र संघसंस्था भेटिन्छन् । त्यस्ता संघसंस्थाले शोभानसिंहको कष्ट बुझ्ने चासो दिएको पाइँदैन । त्यसो त उनलाई आफूलाई कसैले सहयोग नगरिदिएकामा गुनासो पनि छैन । सायद यसबारे उनलाई कुनै जानकारी पनि छैन । जानकारी छ त परिवारको भोक, आवश्यकता अनि त्यसलाई पूरा गर्ने उपाय जसरी पनि जुटाउनै पर्छ । सोही उपायको खोजीमा उनी सडकछेउमा गिटी कुट्दै बल खर्चिरहेका छन् । अनि, शरीर हेर्दै चित्त बुझाउने प्रयास गर्छन्– ‘ऊ जन्ममा गरेको कामको फल भगवान्ले अहिले दिएछन् क्यारे †’ तर, भगवान् छन् छैनन् ठोकुवा गर्ने आधार खोज्दैनन् उनी ।
कमजोर शरीर भए पनि कर्मले दरिएका छन् । त्यही कर्मले नै उनको जीवनको मूल्य उँचो बनाएको छ । अपांगता प्रदर्शन गरेर मागी खान सडकपेटीमा थपिएको भए उनको जीवन मानिसहरूको छि: छि: र दुर् दुर्भित्र तिरस्कृत हुन्थ्यो होला । उनको जीवनको मोल सहरी हिलोमा मिसिने थियो । तर, कर्मले उनी उचालिएका छन् । उही सडकमा उसैगरी हजारौँ यात्रु गन्तव्यतिर लम्किरहेका छन् । शोभानसिंह भने त्यहीँ बसेर निरन्तर परिश्रम बगाइरहेका छन् । उसै गरी काम गरिरहेछन् । गिटी बनाउँदा उछिट्टिदै गरेको ढुंगाको टुक्राबाट आँखा बचाउँदै छन् । कमजोर हात निरन्तर ढुंगाका टुक्रा बनाउन कस्सिइरहन्छन् । उनको मनले दह्रिलो अठोट गरेको छ– शरीरले साथ दिइन्जेल परिश्रम गरेर जिउनुपर्छ  ।

प्रतिक्रिया