मेरा फिल्म फस्र्ट शो हेर्ने वासु

चलचित्रमा सफलतासँगै माया र प्रशंसा गर्ने फ्यानहरू पनि थुप्रै भेट्न थालेकी छु । विभिन्न कार्यक्रम, सभासम्मेलनहरूमा फ्यानहरूसँग भेट हुन्छ । सञ्चारसुविधा बढ्दै जाँदा पछिल्लोचोटि मोबाइल र फेसबुकले फ्यानहरूसँग जोडिन सजिलो बनाइदिएको छ । फेसबुकमा अहिले मेरा नौ हजारभन्दा बढी फ्यान छन् । उनीहरू सबै आ–आफ्नै विचार अनि किसिमका छन् । कोही सौन्दर्यको प्रशंसा गर्दै आई लभ यू भनिरहेका हुन्छन् त कोही विवाहको प्रस्ताव राखिरहेका हुन्छन् । मेरो चलचित्र चल्ने बेला र जन्मदिनका क्रममा फ्यानहरूले मलाई निकै ‘मिस गरेको’ मेसेज पठाइरहेका हुन्छन् । ती सबै मेरा लागि
अमूल्य छन् ।
यो यात्रामा अहिलेसम्म मैले भेटेका सबैभन्दा महत्त्वपूर्ण फ्यानको नाम हो– वासु । उनी मलाई सधैँभरि विशेष याद आइरहन्छन् । मेरो जीवनकै ठूलो र गर्व गर्न लायक फ्यान । उनी १८–१९ वर्षका भए, १० कक्षामा पढ्छन् क्यारे । म लाजिम्पाट बस्थेँ । नजिकै उनको पसल रहेछ । म त्यही पसलमा सामान किन्न जान्थेँ, कहिलेकाहीँ । एक दिन चपली हाइट चल्नुभन्दा पहिले नै प्रोमोसनको फोटो र इन्टरभ्यु पत्रपत्रिकामा पढेछन् उनले । भेट्नासाथ उनले मेरो तारिफ गरे अनि भने– ‘म तपाईंको ठूलो फ्यान हुँ ।’ मलाई विनीता बराल भनेर चिनेपछि उनी एकदम नर्भस पो भए । उनले भने– ‘त्यसअघि म्युजिक भिडियोमा पनि देख्दै आएको हुँ तर तपाईं नै विनीता बराल हो भन्ने थाहा थिएन ।’ चपली हाइट पहिलो शो नै हेरेछन् उनले । पछि मेरो क्यारेक्टरको तारिफ गर्दै चलचित्रको कथावस्तु सबै सुनाउँदै थिए । उनी शारीरिक रूपमा अलि अशक्त छन्, त्यसैले बेलाबखत उनलाई पसलमै गएर भेट्छु । उनी मलाई चकलेटहरू दिएर पठाउँछन् । म उनलाई ‘वासु’ भनेर बोलाउँछु । उनी ‘दिदी’ भनेर सम्बोधन गर्छन् । उनी कविता पनि राम्रो लेख्छन् । अहिले त भेट्दा हाइहेलो पनि कवितामै गर्छौं हामी । पछिल्लोचोटि म अभिनित चलचित्र फुलस्टपको प्रोमोसनमा पनि वासुले धेरै सहयोग गरे । पसलमा फुलस्टपको होर्डिङबोर्ड राखेर आउनेहरूलाई सो चलचित्र हेर्न आग्रह गर्थे, मैले देखेकी छु । उनी आफूले पनि फुलस्टप पहिलो शो नै हेरे ।
शारीरिक रूपमा अलि–अलि अशक्त भए पनि उनको दिमागचाहिँ मान्नैपर्छ । बूढापाकाले जस्तो छिनेर कुरा गर्ने सबल बानी छ । ‘मलाई तपाईंलाई नायक राजेश हमालको जोडीका रूपमा फिल्ममा देख्ने रहर छ,’ उनले मसँग भनेका छन् । कामना गर्छु, मेरो प्यारो फ्यानको यो इच्छा चाँडै पूरा होस् ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया