एसएलसी पूरकमा ६२ प्रतिशत उत्तीर्ण

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले एसएलसी पूरक परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको छ । नतिजाअनुसार ७४ हजार सात सय ६२ अर्थात् ६२ दशमलव ४० प्रतिशत परीक्षार्थी पूरक परीक्षामा उत्तीर्ण भएका छन् ।
१७ देखि २४ साउनसम्म सञ्चालित एसएलसी पूरक परीक्षा २०६८ मा नियमित तथा एक्जाम्टेडतर्फ बढीमा दुई विषयसम्म अनुत्तीर्ण भएका एक लाख २१ हजार चार सय १४ परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा अनियमित कार्य गर्ने ९१ जनाको परीक्षा रद्द भएको पनिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसमध्ये ३४ जना २०६९ को एसएलसीमा सहभागी हुन नपाउने गरी निष्काशनमा परेका छन् ।
प्रकाशित नतिजामा प्राप्त अंकमा चित्त नबुझे पुनर्योगका लागि आवेदन दिन २ असोजसम्मको समय उपलब्ध गराइएको पनिकाले जनाएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा जिल्ला शिक्षा कार्यालयमा प्रतिविषय तीन सय रुपियाँका दरले राजस्व दस्तुर बुझाई निवेदन दिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ । (सौस)

प्रतिक्रिया