चुनावलाई कांग्रेस नेतृत्व अस्वीकार्य : दाहाल

काठमाडौं, २० भदौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ चुनावका लागि कांग्रेस नेतृत्वको सरकार स्वीकार गर्न नसकिने बताएका छन् ।
‘संविधानसभा पुन:स्थापना र चुनावमा सहमति नभए पाँचबुँदेअनुरूप कांग्रेस नेतृत्वमा चुनावी सरकार असम्भव छ,’ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले मंगलबार राजधानीमा गरेको अन्तरक्रियामा अध्यक्ष दाहालले भने । कांग्रेसकै आन्तरिक विवादका कारण सहमति जुट्न नसकेको भन्दै दाहालले उसले चुनाव या पुन:स्थापनामा स्पष्ट धारणा ल्याएर प्रधानमन्त्री उम्मेदवार घोषणा गरे सहमतिका लागि अनुकूल वातावरण हुने पनि दाबी गरे ।
उनले संविधानका विवादित सबै विषयमा सहमति गरेर केही दिनलाई संविधानसभा पुन:स्थापना गरेर नयाँ संविधान घोषणा गर्न सकिने विकल्प दोहोर्‍याए । उनले भने, ‘प्रमुख तीन दलको छलफलमा नयाँ चुनावबाट आउने संसद्मार्फत पनि संविधानका विषय टुंग्याउन सकिने विषयमा छलफल अन्तिम चरणमा पुगेको छ ।’ संविधानसभा पुन:स्थापनामा दलहरू सहमतिनजिक पुगेको दाबीसमेत उनले गरे ।
संविधानका केही विषयमा सहमति हुन नसके चुनावमार्फत आउने संसद्बाट टुंग्याउने र त्यसमा पनि सहमति नभए जनमत संग्रहमा पनि जाने विकल्पमा आफूहरू खुला रहेको उनले बताए । उनले संविधानसभाको विषयगत समितिको प्रतिवेदनअनुसार संघीयतासम्बन्धी विवाद टुंग्याउन सकिने धारणा व्यक्त गरे । २१ दलको गठबन्धन बनेपछि सहमतिका निम्ति सकारात्मक वातावरण बनेको उनको भनाइ थियो ।
एमाओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानका अन्तरवस्तुमा सहमति जुटे आफू तत्काल सरकार छाड्न तयार रहेको दोहोर्‍याए । पुरानै निमय र संरचनाका कारण महँगी नियन्त्रण गर्न नसकिएको उनको भनाइ थियो ।
गठबन्धनबाहिर रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले गठबन्धनप्रति विमति रहेको बताए । ‘गठबन्धनले राजनीतिक वृत्तमा झन् टकराव निम्त्याउने खतरा छ,’ अध्यक्ष राणाले भने । मुख्य तीन दल छलफलमा रहेको दाहालको भनाइप्रति व्यंग्य गर्दै राणाले भने, ‘तीन दल कुरा गर्‍या गर्‍यै, न छलफल गर्न छाड्ने, न टुंगोमा पुग्ने । मुलुक निकासविहीन हुनुमा तीन दल जिम्मेवार छन्, अब धेरै आशा छैन ।’
नागरिक समाजका अगुवाले मोर्चाबन्दीभन्दा सहमतिमा अगाडि बढ्न गठबन्धनलाई सुझाव दिएका छन् । नागरिक समाजका तर्फबाट डा. सुन्दरमणि दीक्षितले अवसान भइसकेको संविधानसभाको पुन:स्थापना हुने कुनै सम्भावना नभएको धारणा व्यक्त गरे ।

कांग्रेस–एमालेद्वारा बहिष्कार
कांग्रेस–एमालेलगायत विपक्षी दलले एमाओवादी अध्यक्ष दाहाल नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको कार्यक्रम बहिष्कार गरेका छन् । उनीहरूले मंगलबार गठबन्धनद्वारा राजधानीमा आयोजित ‘सर्वपक्षीय राजनीतिक अन्तरक्रिया कार्यक्रम’ बहिष्कार गरेका हुन् ।
उनीहरूले संघीयता पक्षधर र संघीयताविरोधीका नाममा गठबन्धनले मोर्चा बनाएर सहमति खोज्ने दिशामा भाँजो हाल्ने काम मात्र गरेको भन्दै गठबन्धनको कार्यक्रममा सहभागी नहुने र त्यसलाई मान्यता नदिने निर्णय यसअघि नै
गरेका थिए ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले गठबन्धनलाई मान्यता नदिएको उल्लेख गर्दै राष्ट्रिय सहमति चाहिएका बेला विभाजन ल्याउन मोर्चा गठन गरिएको टिप्पणी गरे । ‘मोर्चा सत्ता टिकाउनेतर्फ अभिप्रेरित छ,’ नेता ज्ञवालीले भने ।
पहिले टुंगिइसकेको संघीयताको विषयमा कसैलाई संघीयताविरोधी भन्नु राजनीतिक दुरासयबाहेक केही नभएको उनको तर्क छ । यस्तो गठबन्धनले आयोजना गरेको कार्यक्रममा भाग लिनुको कुनै अर्थ नहुने उनले बताए ।
सहमतिको वातावरण बनाउनुपर्ने जिम्मेवारी सरकार र सत्तापक्षीय दलहरूको भएको र सत्ता पक्षले सहमतिमै राजनीतिक तथा संवैधानिक संकटको निकास दिनुपर्ने कांग्रेस–एमालेले जनाउँदै आएका छन् ।

प्रतिक्रिया