कांग्रेस सभापतिको गृहजिल्लामा खड्काको पक्षमा प्रदर्शन

नेपालगन्ज, १९ भदौ । भ्रष्टाचार अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर गरिएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पक्षमा उनी समर्थित नेता कार्यकर्ताले सोमबार नेपालगन्जमा प्रदर्शन गरेपछि बाँके कांग्रेसमा विवाद उत्पन्न भएको छ । प्रदर्शन रोक्न दिएको चेतावनी नमानेको भन्दै जिल्ला नेतृत्वलगायत केही पदाधिकारी प्रदर्शनमा संलग्न नेता कार्यकर्ताबाट रुष्ट बनेका छन् ।

‘नेपाली कांग्रेसका प्रतिबद्ध कार्यकर्ताहरू’ लेखिएको ब्यानरसहित कांग्रेसका नेता कार्यकर्ताले पार्टीका केन्द्रीय नेता खड्कामाथि अन्याय भएको दाबी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले खड्कामाथि भएको फैसलाविरुद्ध न्यायिक पुनरावलोकनका लागि प्रक्रिया चाल्ने पार्टीको केन्द्रीय निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने मागसमेत गरे । खड्काविरुद्ध भएको फैसलाको पुनरावलोकनका लागि प्रक्रिया चाल्ने केन्द्रीय समितिले निर्णय गरेको धेरै दिन बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले केन्द्रीय नेतृत्वलाई दबाब दिन सभापति सुशील कोइरालाको गृहजिल्लामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका नेताहरूले कांग्रेस जिल्ला कार्य समितिमार्फत कोइरालालाई ज्ञापनपत्र बुझाएर निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।
जिल्लास्तरीय नेता र विभिन्न युवा संगठनका नेताले प्रदर्शनको नेतृत्व गरेका थिए । विभिन्न ठाउँबाट मोटरसाइकल र्‍याली निकाली बिपी चोकमा जम्मा भई पार्टी कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ताले आफ्ना नेता खड्कालाई सर्वोच्च अदालतले अन्याय गरेको आरोप लगाउँदै अदालतविरुद्ध चर्को नाराबाजीसमेत गरे ।
प्रदर्शनमा जिल्ला सभापति डा. अरुण कोइरालादेखि असन्तुष्ट बनेका नेताहरू सहभागी थिए । प्रदर्शनमा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति गजेन्द्र हमाल, क्षेत्र नम्बर १ का सभापति माधवप्रसाद खत्री, क्षेत्र नम्बर २ का सभापति राजकुमार साहु, क्षेत्र नम्बर ४ का सभापति महेन्द्र मल्ल ठकुरी, नेपालगन्ज नगर समितिका अध्यक्ष प्रशान्त विष्टलगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।
प्रदर्शनमा सहभागी एक क्षेत्रीय सभापतिले आफूहरूको प्रदर्शन नेता खुमबहादुर खड्काको समर्थनसँगै जिल्ला नेतृत्वलाई आफूहरूको पक्षमा कति कार्यकर्ता छन् भन्ने देखाउन पनि भएको दाबी गरे । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘यो जिल्ला नेतृत्वविरुद्ध शक्ति प्रदर्शन पनि हो ।’ उनले प्रदर्शन रोक्न विभिन्न नेताबाट दबाब आएको खुलाउँदै भने, ‘पार्टी सभापतिकै जिल्लामा यस्तो प्रदर्शन गर्दा नराम्रो म्यासेज जान्छ । प्रदर्शन रोक्नुहोस् । नत्र तपाईंहरू र स्वयं खुमबहादुर खड्काका लागि पनि राम्रो हुन्न ।’
पार्टीका केन्द्रीय सभापति कोइरालानजिक मानिने पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठले सोमबारको प्रदर्शन सबै कांग्रेस कार्यकर्ताको नभई एउटा समूहको भएको दाबी गरे । टेलिफोनमा उनले भने, ‘फैसलाको पुनरावलोकनका लागि जाने भनेर केन्द्रीय समितिले निर्णय गरेर खड्का माथि सहानुभूति देखाइसकेको अवस्थामा जिल्लामा प्रदर्शन गर्नुको कुनै अर्थ छैन ।’ उनले जिल्ला नेतृत्वविरुद्ध शक्ति प्रदर्शनको कुरा बेकार भएको बताए ।

प्रतिक्रिया