दर्जन अवैध सवारीसाधन नियन्त्रणमा

बुटवल, १९ भदौ । कागजपत्र मिलाएर अवैधरूपमा सञ्चालन गरिएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका १२ सवारीसाधन अवैध ठहर भएका छन् । शंकास्पद भन्दै इलाका प्रहरी कार्यालय बुटवलले डेढ महिनाको अवधिमा नियन्त्रणमा लिएका सवारीसाधन केन्द्रीय प्रहरी कार्यालय महाराजगन्जबाट आएको प्राविधिकसहितको टोलीले अवैध भए/नभएको परीक्षण गरेको थियो ।

टोलीको प्रतिवेदनका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले सोमबार पत्रकार सम्मेलन गरेर एक दर्जन सवारीसाधन अवैध रहेको जनाएको हो । बुटवलका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका १५ सवारीसाधनमध्ये अनुसन्धानमा १२ अवैध प्रमाणित भएको प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले भे १ च ४१०, लु १ ज ७७४, लु १ च १६७३, लु १ ज १२९८, लु १ ज ९२८, लु १ ज ३०८५, लु १ ज १८७६ नम्बरका सवारीसाधन नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार नियन्त्रणमा लिएका अन्य सवारीसाधनमा ग १ च २४८४, लु १ च १७३०, लु १ ज ५५७, लु १ ज १०१९ र लु १ ज २०९४ नम्बरका छन् । नियन्त्रणमा लिएका सवारीसाधन ल्याबपरीक्षण र अनुसन्धानका क्रममा अवैध प्रमाणित भएको इन्स्पेक्टर रामेश्वर कार्कीले बताए ।
कतिपयले सवारीसाधन मर्मत गर्ने क्रममा अवैध तरिकाले पाटर््स जडान गरेको, अवैध चेसिस नम्बर राखेको र कतिपयले भन्सार नै छलेर ल्याएको पाइएको प्रनि कार्कीले बताए । प्रतिवेदनका आधारमा अवैध प्रमाणित भएका सवारीसाधनलाई भैरहवा भन्सार तथा आन्तरिक राजस्व कार्यालयमा पठाइने कार्कीले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका तीनवटा सवारीसाधन वैध भन्दै सार्वजनिक गरेको छ । लु १ ज १४०७, लु १ ज ७७३ र बा ७ च १६८१ नम्बरका सवारीसाधनलाई अनुसन्धानपछि वैध प्रमाणित भएकाले सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने इन्स्पेक्टर कार्कीले बताए । प्रहरीले ती सवारीसाधनलाई पनि उस्तै प्रकृतिका भन्दै अवैधको आशंकामा नियन्त्रणमा लिएको थियो ।
अवैध प्रमाणित भएका सवारीसाधनमध्ये केही सवारीसाधन भाडामा सञ्चालन गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो । केही सवारीधनीले भने प्रतिवेदन पूर्वाग्रही भएको गुनासो गरेका छन् । उस्तै प्रकृतिका सवारीलाई पनि केहीलाई अवैध ठहर गरिएको र केहीलाई सफाइ दिइएको उनीहरूको दाबी छ । दुर्घटना भएपछि मर्मतका क्रममा नयाँ खरिद गरिएका र मर्मत गरी सोझ्याइएका पार्ट्सलाई पनि अवैध भनेर प्रतिवेदन आएको उनीहरूले गुनासो गरे ।

प्रतिक्रिया