विद्यार्थीले बनाए चोर पत्ता लगाउने मेसिन

नेपालगन्ज, १९ भदौ । लगातार नेपालगन्जमा भइरहेका चोरीका घटनामा संलग्न चोरलाई पक्राउ गर्न प्रहरी असफल भइरहेका बेला भेरी प्राविधिक शिक्षालयमा अध्ययनरत दुई विद्यार्थीले चोरी भएको सूचना दिने मेसिन बनाएका छन् । उनीहरूले बनाएको मेसिनले घरमा चोरी हुन लागेको सूचना घरधनीलाई दिएर सम्पत्ति चोरी हुनबाट जोगाउनेछ भने चोरलाई पनि रंगेहात पक्राउ गर्न सहयोग पुर्‍याउनेछ ।

भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत सुमन पौडेल र प्रथम वर्षमा अध्ययनरत राजेश भट्टराईले चोरी हुन लागेको सूचना दिने ‘होम सेक्युरिटी सिस्टम’ बनाएका हुन् । रोर्बट र सेन्सर मेसिन बनाइसकेका यी विद्यार्थीले सोमबार शिक्षालयमा औपचारिक कार्यक्रम गरी मेसिन सार्वजनिक गरे ।
कार्यक्रममा उनीहरूले मेसिनको सफल प्रयोगसमेत गरेर देखाए । उनीहरूले बनाएको मेसिनले आफ्नो वरपर जो कोही आए पनि त्यसको सूचना सम्बन्धित घरधनीको मोबाइलमा दिने गर्छ । यसका लागि उनीहरूले स्टेपलाइजर भित्र मोबाइलसहित विभिन्न विद्युतीय सामग्री राखेका छन् ।
मेसिनभित्र राखिएको मोबाइलमा सम्बन्धित घरधनीको मोबाइलको सिम राखिएको छ । मेसिन वरपर कोही आउनेबित्तिकै घरधनी जहाँसुकै भए पनि उसको अर्को सिमकार्ड भएको मोबाइलमा मेसिनमा राखिएको सिमकार्डको नम्बरबाट फोन आउँछ । ‘त्यसरी फोन बज्यो भने घरधनीले घरमा पक्कै केही भएको थाहा पाउँछ,’ पौडेलले भने । उनले आफूले बनाएको मेसिनले चोरीका घटना नियन्त्रण गर्ने दाबी गरे ।
उनीहरूले मेसिन दुई हजार पाँच सय रुपियाँको लागतमा बनाएका हुन् । घरबाट दिएको खाजा खर्च कटाएर पैसा जम्मा गरेको अर्का विद्यार्थी भट्टराईले बताए । ‘नयाँ केही बनाउनुपर्छ भनेर यस्तो मेसिन निर्माण गरेका हौँ,’ उनले भने । मेसिन बनाउन भेरी प्राविधिक शिक्षालयबाट भने विद्यार्थीलाई केही सहयोग मिलेको छैन । स्वस्फुर्त रूपले मेसिन बनाएको उनीहरूले बताए ।
पहिले बनाएको रोबर्ट र सेन्सलाइजर मेसिनलाई थप विकसित गर्न नसकिएको दुखेसो विद्यार्थीहरूको छ । ‘आर्थिक समस्याले हामीले बनाएका प्रविधिको थप विकास गर्न सकेका छैनौँ,’ आचार्यले भने, ‘अहिले फेरि अर्को बनाएका छौँ ।’ मेसिनको सफल परीक्षणले विद्यार्थीहरू उत्साहित छन् । मेसिनलाई थप परिमार्जन गरेर बजारमा बिक्री गर्ने सोचमा उनीहरू छन् ।
विद्यार्थीले बनाएको मेसिनबाट भेरी प्राविधिक शिक्षालयका शिक्षक तथा प्राविधिकहरू पनि खुसी छन् । विद्युत् शाखाका प्रशिक्षक घनश्याम पौडेलले यस्ता विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘हरेक वर्ष कुनै न कुनै विद्यार्थीले नयाँनयाँ प्रविधि बनाइरहेका छन् तर त्यो सार्वजनिक गर्ने दिनका लागि मात्र सीमित हुन्छ ।’

प्रतिक्रिया