भारतमा सडक खन्ने क्रममा पुरिएर सात नेपाली मजदुरको मृत्यु

बैतडी, १९ भदौ । भारतमा मजदुरी गर्न गएका सात नेपाली मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ । उत्तराखण्ड राज्यको पिथौरागढअन्तर्गत दारमा पहिरोमा पुरिएर सात नेपालीको मृत्यु भएको हो । दार्चुलासँग सीमा जोडिएको भारतको पिथौरागढको धारचुला तहसिलअन्तर्गतको दारमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर नेपाली कामदारको मृत्यु भएको हो । आइतबार अपराह्न ४ बजेतिर पहिरोमा पुरिएर उनीहरू मरे पनि खबर भने सोमबार बिहान अबेर आएको हो । पहिरोमा पुरिएर बैतडी घर भएका सात नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृत्यु हुनेमा बैतडी विशालपुरका
४३ वर्षीय मानध्वज कोली, ३५ वर्षीय विष्णुराम भुल, ३२ वर्षीय श्यामराम भुल, ४० वर्षीय सन्तोषराम लोहार, ३० वर्षीय रामीराम लोहार छन् । बैतडीकै सर्माली गाविसका २५ वर्षीय वीरेन्द्रराम सोनी र ४९ वर्षीय झुपराम सोनीको पनि पहिरोमा पुरिएको मृत्यु भएको छ । सडकमा काम गरिरहेका ११ नेपाली कामदारमध्ये सात जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर चार घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको दार्चुलाका डिएसपी देवबहादुर बोगटीले बताए ।
गम्भीर घाइतेमध्ये बैतडी विशालपुर–२ का मान लोहार र सर्माली–८ का रमेशराम लोहार छन् । घाइतेको भारतको धारचुलास्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । नेपाल प्रहरीले भारतीय प्रहरीबाट घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे सोमबार बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको थियो । घटनास्थल दार्चुला सदरमुकामसँग जोडिएको भारतीय बजार धारचुलाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्छ ।
बैतडीमा रहेका परिवार आफन्त मृत्युका खबरले शोकमग्न भएका छन् । चाडपर्वमा कमाइ गरेर घर आउने समयमा पहिरोमा पुरिएर मृत्यु भएको खबरले शर्माली र विशालपुर शोकमग्न भएको स्थानीयले बताए ।

प्रतिक्रिया