एउटै गाविसमा १२ पेल्ट्रिसेट

इलाम, १७ भदौ । पश्चिमी इलामको गजुरमुखीका बासिन्दाले आफ्नै लगानी र सक्रियतामा विद्युत् उत्पादन गरेका छन् । विद्युत् उत्पादन भएपछि पूरै गाउँ नै झिलीमिली भएको छ । देशले लोडसेडिङको मार खेपिरहेका बेला गजुरमुखीका बासिन्दाले यतिबेला चौबीसै घन्टा बिजुली बाल्न पाइरहेका छन् । कहिल्यै बिजुलीको चिमसमेत देख्न नपाएका उनीहरूलाई यतिबेला दैनिक जीवनस्तर सहज भएको छ ।

उनीहरूलाई अहिले न लोडसेडिङको चिन्ता छ, न बिल तिर्नकै झन्झट । गाउँलेको सक्रियतामा स्थानीय खोलाहरूबाट लघुजलविद्युत् उत्पादन गरी गजुरमुखी झिलीमिली भएको हो । छिमेकी गाविस भने अझसम्म पनि विद्युत् पुग्नसकेको छैन । अहिले गजुरमुखीका बासिन्दाले विभिन्न स्थानबाट १२ वटा पेल्ट्रिसेट उत्पादन गरी उपयोग गरिरहेका छन् । केन्द्रीय प्रसारण लाइनको पर्खाइमा आधा जीवन बिताइसकेका यहाँका बासिन्दा होडबाजी गरेरै सानो लगानीको विद्युत् उत्पादनमा लागेका हुन् । ‘केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न थुप्रै कोसिस गरियो,’ स्थानीय साठी बथाने पेल्ट्रिसेट आयोजनाका अध्यक्ष एलबी योङहाङले भने, ‘केही सीप नलागेपछि आफ्नै क्षमताअनुसार गाउँले मिलेर पेल्ट्रिसेटबाट उत्पादन गरेको हौंँ ।’
सुरुमा १० देखि ४० हजारसम्म लगानी गर्दा निकै समस्या भएको लिम्बूको भनाइ छ । आफ्नो रहरका लागि गोठका गाइ‘गोरु र खोरका बाख्रा बेचेर पेल्ट्रिसेट उत्पादन गरेको उनी बताउँछन् । विद्युत् उत्पादनपछि केन्द्रीय लाइनमा जस्तो महसुल बुझाउन नपर्दा खुसी लागे पनि सामान बिग्रँदा हुने खर्च भने सबैभन्दा ठूलो चिन्ताका विषय भएको उनको भनाइ छ । मासिक २०—२५ रुपियाँ उपभोक्ताबाट संकलन गरी बचत गर्ने गरिए पनि भावी दिनका लागि त्यो पर्याप्त नहुने उनको भनाइ छ । गजुरमुखीमा अहिले गाउँलेकै सक्रियतामा वार्ड– ६ र ९ मा तीन/तीनवटा १, ५, ७ र ८ मा एक/एकवटा साथै वार्ड– ५ र ६ को संयुक्त लगानीमा एक र ४ र ६ को संयुक्त लगानीमा एकवटा पेल्ट्रिसेट जडान गरी बिजुली उत्पादन गरिएको छ । ‘आफू अघि नबढे समाज बन्दैन, त्यसैले सरकारको मात्र मुख ताकेर नबसी आफ्नै सक्रियतामा पेल्ट्रिसेट जडान गरी बिजुली बालिएको हो,’ स्थानीय बमप्रसाद लिम्बूले भने ।
बिजुली उत्पादन भएपछि स्थानीयबासीलाई सयाँै वर्षदेखिको टुकी बाल्नुपर्ने बाध्यता हटेको छ । बिजुली बलेपछि सधँै टुकी र मैनबत्तीको धिपधिपमा बसिराखेका गाउँले निकै खुसी भएका छन् । ‘साह्रै खुसी लागेको छ,’ स्थानीय दिलकुमारी लिम्बूले भनिन्, ‘राति पनि दिनजस्तै भएको छ ।’

प्रतिक्रिया