काठमाडौंबाट अपह्तको वीरगन्जमा उद्धार

वीरगन्ज, १७ भदौ । काठमाडौंबाट अपहरण गरिएका दुई स्कुले किशोरीलाई पर्सा प्रहरीले भारतको रक्सौलबाट उद्धार गरेको छ ।

अपहरणमा परेका काठमाडौं चाबहिल कपनस्थित चाहना इंगलिस उच्चमाविमा अध्ययनरत कन्चन रेग्मी र कविता रम्तेललाई प्रहरीले शुक्रबार रक्सौलबाट उद्धार गरेको हो । बाराको कलैया घर भइ काठमाडांै–८ कपन बस्दै आएका प्रह्लाद रेग्मीकी छोरी कञ्चन र दोलखा चरिकोट–८ घर भइ काठमाडांै कालोपुल बस्दै आएका गोविन्द रम्तेलकी छोरी कविता दुवै कक्षा ८ मा अध्ययनरत छन् । दुवैलाई रक्सौलनजिकैको सिसवा गाउँबाट शुक्रबार बिहान उद्धार गरिएको पर्साका डिएसपी दिवेश लोहनीले बताए ।
बिहीबार अपरान्ह विद्यालयबाट घर फर्किने क्रममा दुवै किशोरी अपहरणमा परेका थिए । कन्चनका अनुसार विद्यालय अगाडि मुखमा मास्क लगाएर उभिएकी एक अपरचित महिलाले नशालु पदार्थ सुँघाएर बेहोस बनाइ अपहरण गरेकी थिइन् । शुक्रबार होस खुल्दा उनीहरूले आफू रक्सौल रेल्वे स्टेशनमा पुगेको थाहा पाएका थिए । होश खुलेपछि रेल स्टेशनमा पनि काठमाडांैमा आफूहरूलाई गालामा छुने महिला जस्तै एक पातली महिलालाइ देखे पछि उनीहरू भागेर नजिकैको सिसवा गाउँमा रहेको मन्दिरमा शरण लिन पुगेका थिए ।
‘होश खुलेपछि उस्तै पातली महिलाले पख भनेपछि हामी डराएर खेतखेतै भाग्यौँ,’ कन्चनले भनिन् । रक्सौल रेल स्टेशनबाट गुहार माग्दै भागेका दुवै किशोरी सिसवा गाउँको नहर चोकमा रहेको मन्दिरका पुजारी कमलेश साहको शरणमा पुगेका थिए । पुजारी साहले दुवै किशोरीसँग सोधपुछ गरेपछि उनीहरूले आफूहरू अपहरणमा परेको बताएका थिए । शाहकै मोबाइलबाट कन्चनले काठमाडांैमा आफ्ना अभिभावक र विद्यालयका प्रिन्सिपललाई खबर गरेपछि प्रिन्सिपलले पर्सा प्रहरीलाई टेलिफोन गरेर उद्धारका लागि आग्रह गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी जवान सुरेन्द्र यादवको नेतृत्वमा तीन जनाको प्रहरी टोली सिसवास्थित मन्दिरमा पुगेर दुवै किशोरीको उद्धार गरेको हो । मन्दिर परिसरमा रहेको फुसको घरबाट दुवै किशोरीको उद्धार गरेको प्रहरी जवान यादवले बताए । ‘दुवैका अभिभावक आएपछि उनीहरूकै जिम्मा लगाएर पठायौँ,’ डिएसपी लोहनीले सौर्यसँग भने ।

प्रतिक्रिया