बहिरालाई थपिए दुई हजार पाँच सय शब्द

काभ्रे, १७ भदौ । बहिराले प्रयोगमा ल्याउने मानवशब्दको शनिबार काभ्रेमा अनुमोदन भएको छ । बहिराले यसअघि बोल्दै आएका दुई हजार दुई सय शब्दलाई थपेर यसपटक चार हजार सात सय पुर्‍याइएको छ ।

नेपाली सांकेतिक शब्द अनुमोदन राष्ट्रिय कार्यशाला गोष्ठीमार्फत बहिराले दुई हजार पाँच सय नयाँ शब्द अनुमोदन गराएका हुन् । १९ विद्यालय र देशभर रहेका २८ जिल्ला बहिरा संघ, दोभासे संघका प्रतिनिधिको समेत सहभागिता रहेको कार्यक्रममा बहिराले बोलीचालीमा ल्याएका धेरै भाषाको एकरूपता नभएकोले शब्द अनुमोदनसँगै एकरूपता ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘यसअघि भाषाकै कारण बहिरा समुदायमा समेत द्वन्द्व थियो, अब त्यसको अन्त्य भएको छ,’ गोर्खा बहिरा संघका शिक्षक रामकृष्ण पन्तले भने ।
०५७ सालपछि पहिलोपटक भएको गोष्ठी हरेक वर्ष आयोजना गरी नयाँ शब्दको अनुमोदन गराउन बहिराहरूले माग गरे । बहिराहरूले अनुमोदन गराएका शब्दलाई कानुनी अनुमोदन गराउन बाँकी छ । ‘प्राज्ञिक र बौद्धिक क्षेत्रबाट अनुमोदन भएका नयाँ शब्द कानुनी रूपमा अनुमोदन गराई पुस्तकका रूपमा प्रकाशन गर्न आवश्यक छ,’ विश्व बहिरा महासंघका सदस्य रमेशलाल श्रेष्ठले भने । बहिराहरूले नयाँ शब्द अनुमोदनका लागि सात दिनको छलफल अझै पर्याप्त नभएको बताए । दोभासे संघका महासचिव यादव दाहालले बहिराहरूलाई राष्ट्रिय रूपमै सरकारले तालिम, प्रशिक्षण र भाषाका रूपमा सहयोग गर्नुपर्ने बताए ।
बहिराहरूले सांकेतिक भाषा नभएकोले विशेषगरी यातायातका साधन, अस्पताल र सरकारी कार्यालयमा समस्या भएको निष्कर्ष निकाले । साथमा दोभासे लिएर निस्किइएन भने बहिरालाई पहुँच र व्यवस्थाका कारण लाटो भन्ने गरेको गुनासो गरे । राज्यसँग बहिराहरूले बहिरामैत्री वातावरण बनाउन र हरेक क्षेत्रमा दोभासेको व्यवस्था गर्न माग गरे । सात दिनको गोष्ठीबाट बहिराहरूले नेपालको राष्ट्रिय गानलाई सांकेतिक रूपमा देशभरका बहिराहरूले एउटै भाषामा गाउने निष्कर्ष निकालेका छन् । राष्ट्रिय गान गाउँदा हरेक क्षेत्रका बहिराले फरक सांकेतिक भाषाबाट गाउँदै आएका थिए ।
‘राष्ट्रिय गानमा एकरूपता ल्याएका छौँ, यसमा पनि द्वन्द्व हुँदै आएको थियो,’ बहिरा संघ गोर्खाका पन्तले भने । केन्द्रीय अध्यक्ष कल्पना वज्राचार्यले बहिराहरूको हित र नयाँ भाषाका लागि हरेक वर्ष शब्द अनुमोदनको गोष्ठी गरिने बताइन् । पाठयक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा.बालकृष्ण रञ्जितले बहिराहरूले अनुमोदन गरेका भाषालाई केन्द्रले कानुनी रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया