राष्ट्रपति सहमतिकै पक्षमाः दाहाल

जनकपुर, १६ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले अत्यावश्यक विधेयकका बारेमा केही नबोलेर गतिरोध अन्त्यका लागि दलहरुलाई दबाव दिएको टिप्पणी गरेका छन् ।
जनकपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘राष्ट्रपति विधेयकहरुका बारेमा नबोलेर सहमतिका लागि दबाव दिएको पनि हुन सक्छ ।’
कांग्रेस र एमालेसँग राजनीतिक गतिरोध अन्त्यका लागि विघटित संविधानसभा पुनःस्थापनाबारे छलफल भएको उनले बताए ।
‘गम्भीरतापूर्वक विवादित विषयमा केन्द्रित भएर छलफल भएको छ,’ अध्यक्ष दाहालले भने, ‘ती विषयमा एमाले र कांग्रेस पनि सहमतिमा आउने सम्भावना बनेको छ ।’
राष्ट्रिय सहमतिको सरकारमा विवाद नरहेको बताएका दाहालले सरकार बनाउन तीन दलबीच सहमति आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘सरकारका विषयमा कांग्रेस र एमालेसँग छलफल भईरहेको छ निकास आउँछ ।’
उनले दलहरुका बीच एक–दुई दिनमै सहमति हुने दाबी गरे । यदि सहमति नभए ताजा जनादेशका लागि निर्वाचनमा जानेबारेमा पनि छलफल हुने उनको भनाई थियो ।

प्रतिक्रिया