हत्यारा सोचहरू

सेाचहरू हत्यारा हुन् ।
यिनीहरूले कि ज्यान मार्छन् कि अज्ञान । सोचहरू बाढीझँै गडगडाउँदै आउँछन् भिडमा, एकान्तमा । बर्खाको नदीले बगाएर ल्याउने रूखका निरीह मुढाहरूझैँ यिनीहरूले मानिसलाई लछारपछार पार्छन् र फ्याँकिदिन्छन् कतै विचारको किनारामा । प्रत्येक पल हामी सोचका बाढीहरूमा हेलिइरहन्छौँ र किनारा खोज्ने प्रयत्न गरिरहन्छौँ । पौडिन जान्नुपर्छ या बाढीमा डुंगा खियाउन सिक्नुपर्छ– हामी सोचका बाढीहरूबाट किनारा लाग्न सक्छौँ । जान्ने प्रयत्न गर्नु अज्ञानलाई मार्ने सर्वश्रेष्ठ विधि हो । म हत्यारा सोचहरूलाई ज्यान होइन, अज्ञान मार्ने कलाका रूपमा प्रयोग गर्न प्रयत्नशील रहन्छु । सोचहरूले अँध्यारो र अज्ञानताविरुद्ध बौद्धिक हतियार उठाएको तपाईंहरूलाई झैँ मलाई पनि मन पर्छ । जीवनका अनन्त गोरेटाहरूमा म एक हत्यारालाई मनमस्तिष्कमा बोकेर हिँडिरहन्छु । सोचहरू हत्यारा नै हुन् ।
जीवन बुझेर बिताउन कठिन छ, नबुझेर बिताउन सहज छ । जीवन जति बुझ्यो उति अस्पष्ट देखिन्छ । जति जान्यो त्यति नै अज्ञानी महसुस हुन्छ । सुकरातले यसै भनेनन् ‘मलाई एउटै कुरा थाहा छ, त्यो हो– मलाई केही पनि थाहा छैन’ । यो जीवनको सीमा हो, यथार्थ हो । जीवनको घुमाउरो बाटोमा धेरै अस्पष्टतासँग भेट हुन्छ तर अस्पष्ट भइन्छ भनेर मानिसले जीवनलाई बुझ्ने प्रयत्न नगर्न सक्दो रहेनछ । यदि मेरो बुझ्नु भ्रम होइन भने जीवन जति बुझ्यो त्यति दुविधामय, विसंगत र पीडादायक महसुस हँुदो रहेछ ।
सोचहरू हत्यारा हुन् ।
म आफूभित्रका असंख्य अज्ञानहरूको हत्या गर्न अध्ययन गर्छु, विचार गर्छु, सोच्छु । सोच्नु एउटा कुरा, हुनु अर्को । सोचेको नहुँदा स्वाभाविक रूपमा म अरूहरूझैँ अन्तरद्वन्द्वको चक्रव्यूहमा फस्छु । थेसिस र एन्टिथेसिसको द्वन्द्वबाट मैले पनि सोचहरूको सिन्थेसिस गर्छु । सापेक्षिक रूपमा अग्लो सत्य थाहा पाउन मैले पनि द्वन्द्वको बाटो नहिँडी उपाय छैन । विचारका गोरेटाहरूमा भौँतारिँदै हिँड्दा म बाटाहरूमा पुग्छु जुन गोरेटाहरूभन्दा अलिक फराकिला छन् । विचारका बाटाहरूमा पुग्दा पनि म अलमल–अलमलमै सोचिरहेको हुन्छु । तर, हिँड्दाहिँड्दै म यस्तो ठाउँमा पुग्छु जहाँ पुगेपछि बाटो फाट्छ । अब म कुन बाटो हिँड्नुपर्ने हो ? कुन बाटो हिँड्यो भने म जीवनको नजिक पुग्छु ? म फेरि अल्मलिन्छु । अल्मलिनु मानौँ जीवनको असली चरित्र हो । अनि, म हत्यारा सोचको औँला समात्छु । मानाँै, त्यो मेरा बाको बुढीऔँला हो, जुन समाएर म पहिलोपटक स्कुल गएको थिएँ । उसले मलाई धेरै बाटाहरूमध्ये कुनै एक बाटोमा हिँड्न आदेश दिन्छ । (एकपटकमा एउटा बाटो मात्र हिँड्न सकिन्छ ।) म हिँड्दै–हिँड्दै धेरै पर पुग्छु । बाटाहरू भन्दा फराकिला सडकहरूमा । सडकमा आइपुग्नका लागि गरेको संघर्ष सम्झिँदै सडकमा हिँड्नुको आनन्द लिन्छु । फेरि त्यहाँ सडकहरू फाट्छन् । अनि, म यी अनन्त फाटिरहेका गोरेटाहरू, बाटाहरू र सडकहरूमा हिँड्दै, अल्मलिँदै गर्छु, अल्मलिँदै, हिँड्दै गर्छु । तर ,म हिँड्न छोड्दिनँ । हिँड्न छोड्नु हार स्विकार्नु हो, आत्मसमर्पण हो, पतन हो । अर्नेस्ट हेमिङ्वेको विख्यात कृति ओल्ड म्यान एन्ड द सीको पात्र स्यानटियागोझैँ म बरु परिस्थितिको आँधीमय समुद्रमा ज्यानमारा सार्कहरूसँग लड्दालड्दै सिद्धिउँला तर हार्न चाहन्नँ ।
बाटाहरूमा चौतारीहरू छन्, थाकेँ भने म त्यहाँ विश्राम लिन सक्छु । अघि बढ्नका लागि आवश्यक रणनीतिहरू बनाउन सक्छु । बाटामा भुलहरू पर्खिबसेको थाहा पाएँ भने म त्यो बाटोलाई बहिष्कार गरेर उल्टो फर्किन पनि सक्छु । या नफर्कीकनै अर्को नयाँ बाटो पहिल्याउन पनि सक्छु । तर, जीवनको बाटोमा हत्यारा सोचहरूलाई मनभरि बोकेर म हिँडिरहन अभिशप्त छु । म पुग्न चाहन्छु, कहीँ, नहिँडे म कहीँ पनि पुग्न सक्दिनँ ।
जीवनका बाटाहरूमा उकाली छन्, ओराली छन् । बाटोमा अनगिन्ती खोलानाला, नदी र पहाड छन् । ती पहाडको जगमा उभिएका अग्लाअग्ला हिमाल छन् । खोलानाला र नदीहरू हुँदै माछाझैँ हिँडेँ भने म समुद्रका अनन्त गहिराइहरूमा पुग्छु । जीवनको अभीष्ट छ– हिमालको शिखर टेग्ने र सागरको गहिराइ छाम्ने । म बाटाहरू खोज्दै, बनाउँदै, हिँड्दै फेरि शिखरहरूमा चढ्छु । मानौँ, म कुनै आरोही हुँ । पानी हुँदै अनि समुद्रको बाटो ताक्छु । म आरोहीबाट गोताखोर बन्छु । हिमशिखरहरूमा म स्वयं हिउँ बन्छु, अनुभूतिहरूमा । शिखरमा पुगेपछि अवरोहण गर्छु । पग्लिन्छु, पानी बन्छु र बग्छु– अनुभूतिहरूमा । हिउँ बन्नु एक आयाम, पग्लिनु अर्को आयाम । म जीवनलाई आयामहरूमा बाँच्ने प्रयत्न गर्छु । आरोहण मात्र जीवन होइन, बग्नु र गहिराइ छाम्नु पनि जीवनको एक अनिवार्य आयाम हो । म यसरी समष्टिमा जीवन बाँच्ने प्रयत्न गर्छु । सफलता असफलता गौण कुरा हुन् । जीवन प्राथमिक कुरा हो– मेरा लागि । म समष्टिमा बाँच्ने प्रयत्न गर्ने जीवनवादी मान्छे हुँु । तेस्रो आयामीहरूले चेप्टो नलेखौँ भनेझैँ म चेप्टो नबाँचूँ भन्छु । बरु, चौथो आयाम समयलाई पनि पक्रेर बाँचौँ भन्छु ।
म सत्य जान्न साहित्य पढ्छु, दर्शन पढ्छु । जीवन, व्यक्ति र समाज पढ्छु । पढ्नका लागि मैले विद्यालय र विश्वविद्यालयमा जीवनका धेरै नै ऊर्जाशील क्षण बिताएको छु । म कोठा, कक्षाकोठा र पुस्तकालयमा जीवन खोज्न छिरेको छु, त्यहाँबाट निस्किएको छु । जीवनमा सत्यान्वेषणका निम्ति एउटा व्यक्ति मात्र सम्पूर्ण कक्षाकोठा र पुस्तकालय हुनसक्छ भन्ने मलाई कहिल्यै लागेन । सुकरात, बुद्ध वा माक्र्स मात्र पढेर समग्र जीवन बुझिन्न । प्लेटो, सात्र्र वा डेरिडामात्र पढेर समग्र साहित्य बुझ्न सकिन्न । कविताको माध्यमबाट मैले सत्य जान्ने प्रयत्न गरेँ । त्यसैले मैले साहित्य रोजेँ । मलाई थाहा छ, निरपेक्ष सत्य कहिल्यै भेट्टिँदैन । भेटिनु पनि हुँदैन । निरपेक्ष सत्य भेटिएको दिन हाम्रो मस्तिष्कको उपयोगिता समाप्त भएर जानेछ । सत्य त्यही प्रेमिका हो, जसलाई मैले जीवनभरि प्रेम गर्नेछु तर ऊसँग कहिल्यै मेरो भेट हुनेछैन । भेटेँ–भेटेँजस्तो मात्र हुनेछ ।
सत्य सापेक्षित छ, सत्यको निरपेक्षता भ्रम हो । मेरो समय मात्र समय होइन, मपछि पनि यस विश्वब्रह्माण्डमा समय रहिरहनेछ । मेरो समयका सत्य भावी समयमा शास्त्रीय हुन सक्नेछन् । मैले बुझेको सत्य ‘समय’ हो ।
म जीवनमा एउटै कुरासँग बढी त्रसित रहिरहन्छु । कतै म मानसिक रूपमा पुरानो हुन्छु कि भन्ने डर नै मेरो मुख्य डर हो । म शारीरिक अवयवमा पुरानो भएर जानेछु । मेरो काया पुरानो पाटपुर्जाझैँ एकदिन काम नलाग्ने हुँदै जानेछ । तर, म त हत्यारा सोचहरूलाई निर्ममतासाथ बोकेर ‘समय सत्य हो’ भन्ने मानिस हुँ । कतै सोचविचारमा नै पुरानो भएर जान्छु कि भन्ने त्रासले म झस्किरहन्छु । हिजो जुन सत्य थियो, त्यो आज रहेन र आज जुन सत्य मानिएको छ, त्यो भोलि रहनेछैन । समयले सबै कुरालाई बदल्दै लानेछ । त्यसै भनिएको होइन रहेछ– यो दुनियाँमा परिवर्तन भन्ने शब्दबाहेक अरू सबै चिज परिवर्तनशील छन् । तर्कका चक्कुले अझै कति विश्वासका ट्युमरहरू ताछ्न त बाँकी नै छ ।
यसरी सत्य अस्पष्ट छ भनेर पनि म आत्मसन्तुष्टि प्राप्त गर्न सक्दिनँ । त्यसैले म समय नै सत्य हो भनेर मान्न अभिशप्त हुन्छु । प्रसिद्ध कवि किट्सले ‘सत्य नै सुन्दर हो, सुन्दर नै सत्य हो’ भनेझैँ म भन्न चाहन्छु– ‘समय नै सत्य हो, सत्य नै समय हो ।’ तर, यो सत्य पनि निरपेक्ष होइन ।

प्रतिक्रिया