फ्ल्यासब्याकमा एउटा गायक

कुनैबेला श्रोताका मन–मनमा डेरा जमाएर बसेका गायक कर्णदाससँग मेरो पहिलो भेट कहिले भयो ? महिना र गते त ठ्याक्कै सम्झना छैन । तर, यति सम्झना छ– २०५७ साल, पुतलीसडकको ओपस स्टुडियोमा । लामो कपाल पालेका थिए उनले । म पनि लामै कपाल पाल्थेँ र अहिले पनि ‘पोनि–टेल’ राख्छु । सायद त्यो शरद्को याम थियो । उनी शरद् ऋतुझैँ उदास–उदास थिए । कुनै ढल्नै आँटेको मन्दिरझैँ मौन । कुन गीत/संगीतले उनलाई आघात पुर्‍याएको थियो ? सुन्दर मस्तिष्कमा कस्तो संवेदना थियो ?
त्यस दिन उनले गीतारमा धुन खोज्न थाले । संगीत जन्माउन थाले । मलाई लाग्यो, उनी जन्मजात गायक वा संगीतकर हुन् । त्यतिबेलासम्म मैले दुईवटा एल्बम निकालिसकेको थिएँ । कर्णदासचाहिँ ‘जिन्दगीको के भरोसा’ गीतबाट बजारमा ‘हिट’ बनिसकेका थिए ।
के बजारमा त्यस्ता गायक पाइन्छन् जो आत्माझैँ सफा/दिमागझैँ आकर्षक अनि जिन्दगीझैँ सुन्दर होस् ? हो, उनी मलाई यस्तै गायक लागेका थिए– सफा, आकर्षक र सुन्दर । हाम्रो अस्तित्व ब्ल्याक एन्ड ह्वाइट रंगमा छ । कर्णदासका मनमा खेलेको उदासीपन सम्झँदा उनी पनि कुनै एउटा ब्ल्याक एन्ड ह्वाइट पुरानो सिनेमाझैँ लाग्थे ।

उनी बेला–बेला भेटिन्थे, अनि कतै हिँडिहाल्थे । भन्थे– पोखरा जान्छु ।
काठमाडौंका गल्लीहरूमा जगल्टा पालेर कतै उसै हिँडिरहेको एउटा स्टार गायकका मनमा के–के खेल्दा हुन् ? लाग्थ्यो, उनलाई यस सहरको पुरातात्विक जादूले अकर्षित गरिरहेछन् ।
वास्तवमा हाम्रो जीवनमा घटनाहरूको कमी हुँदैन । मेरो जिन्दगीमा एउटा ठूलो घटना घट्यो । त्यसैले काठमाडौंका अँध्यारा अनि ओसिला गल्लीहरूमा भट्किन थालेको थिएँ । त्यहीबेला मैले एक अन्धकार रातमा एउटा गीत लेखेँ– ‘जन्मिँदा एक्लै, मर्दा नि एक्लै…’ । त्यो २०५८ सालको मध्यतिरको कुरा हो । यो गीत कसलाई गाउन दिने होला ? सोच्दासोच्दै दिमागमा आए– कर्णदास । तर त्यतिबेला उनी कुनै फकिरझैँ टाढा टाढा पुगेका हुन्थे । उनी पोखरा पुगेका रहेछन् । कुनै फोन नम्बर उपलब्ध थिएन । त्यसैले म उनको प्रतीक्षामा दैनिक रुँघेर बसेँ– ओपस स्टुडियो । केही समयपश्चात् उनीसँग त्यहीँ भेट भयो । भनेँ–तपाईंले मेरो एउटा गीत गाइदिनुपर्‍यो । गीत पढेपछि उनले भनिहाले– ‘ओके अरुणजी म गाउँछु ।’
उनीसँग अब गीतको बारेमा घन्टौँ छलफल हुन थाल्यो । मलाई त उनी नेपालका नारायणगोपाल र रामकृष्ण ढकालपछिका गायक लाग्न थाले । मेरो यस गीतका कम्पोज र एरेन्जमेन्ट जीवित जल्मीले गरेका हुन् । दीपक वज्राचार्यको स्टुडियोमा रेकर्डिङ भएको हो । कर्णदासले ‘वन टेक ओके’ गरे ।  मैले सोचेको थिएँ– यो गीत ठीकै चल्ला कि † तर, मैले सोचेको ठीक विपरीत भयो– यस गीतले बजारमा निकै राम्रो हल्ला पिट्यो । र, त्यसले मलाई मात्रै
उचाइ दिएन, कर्णदासलाई पनि एउटा
उचाइमा पुर्‍याइदियो । केही संगीत समीक्षकले भने– यो गीत कर्णदास र अरुण दुवैका लागि टर्निङ प्वाइन्ट हो ।

कर्णदाससँग म झन् नजिकिएँ । अब त ती दिन मलाई किंवदन्तीझैँ लाग्छन् । त्यसअघि मेरा गीत रामकृष्ण ढकाल र नागेन्द्र श्रेष्ठले गाएका थिए र बजारमा चलेका पनि थिए । तर, मलाई वास्तविक परिचय भने ‘जन्मिँदा एक्लै’ले नै दियो । कर्णदास यही गीतपछि पूर्णव्यवसायिक गायक बने । उनी अरू गीतकार/संगीतकारको खोजीको विषय हुन थाले । यस गीतका क्यासेट उत्पादक कम्पनी ‘रञ्जना क्यासेट सेन्टर’ ले मलाई यसको ‘लिरिक्स’का लागि मात्रै ३० हजार रुपियाँ दियो, ०५९ सालमा । त्यही साल ‘जन्मिँदा एक्लै’को सर्वाधिक सफलताका लागि त्यतिबेलाको एक मात्र अवार्ड वितरण गर्ने एफएमले म र कर्णदास दुवैलाई मनोनित गर्‍यो । तर, अवार्ड पाए कर्णदासले मात्रै । मलाई दिइएन । मलाई दिने भनिएको अवार्ड कुनै अमूक पूर्व–जर्नेलकी पत्नीले पाइन् । हलभित्र चर्को हो–हल्ला भयो । संगीतप्रेमीहरूको ‘अरुण–अरुण’ भन्ने हुटिङ म कहिल्यै बिर्सन्नँ । मलाई गुनासो छैन, मैले अवार्डका लागि गीत लेखेको थिइनँ ।
….
कर्णदास जति राम्रो गाउँथे, उति नै नम्र र भलाद्मी थिए । उनी काठमाडौं आउँदा सुन्धाराको एउटा लजमा बस्थे । कठमाडौं आएपिच्छे मलाई बोलाउँथे । उनी कुनै साधु/सन्तहरूजत्तिकै वा फकिरझैँ अलमस्त लाग्थे । उनलाई साहित्य, चित्रकलाले विशेष प्रभावित गर्थे । अध्ययनमा निकै रुचि भएका र भावुक थिए । भन्थे– म सधैँ स्वदेशमै बस्छु । तर, अचानक उनी अमेरिका पलायन हुँदा म निकै झस्केको थिएँ । आजकाल पश्चिमी राष्ट्रहरूले हाम्रा स्टारहरूलाई भिसा नदिँदा म निकै पुलकित हुने गर्छु । किनभने, सोच्छु–अर्को एकजना स्टार भए पनि यो देशबाट पलायन नहुने भयो । सुन्दैछु– अब कर्णदास तीन/चार महिनामा सधैँ नेपालमा बस्ने गरी फर्कंदैछन् । म उनको प्रतीक्षामा छु, उनलाई भेट्न व्यग्र छु ।

‘जन्मिँदा एक्लै’ को सफलतापिछ हामीले ०६० मा अर्को गीत रेकर्ड गरायौँ– ‘म मरेको छैन अझै…।’ यसले पनि चर्चा पायो र कर्णदास अनि म दुवैले ०६१ सालको इमेज अवार्ड पायाँै । कर्णदाससँग मेरो दुईवटा गीतमा मात्रै सहकार्य भयो । दिमागको च्याम्बरमा उनीसँगका ती रमाइला दिन सल्बलाउँछन् । उनीसँग एउटै डेस्कमा कफीसँगै देखापरेको साँझ सम्झन्छु । उनीसँग भावुक हुँदै गरेको कफी–गफ सम्झन्छु । यी दुवै गीतको म्युजिक भिडियोमा मैले नै मोडलिङ गरेको छु । नचिन्नेहरू मलाई मोडेल नै सोच्दारहेछन् । उनीहरूको मीठो प्रतिक्रिया पाउँदा म निकै खुसी हुन्छु । जिन्दगीसँग बेलाबेला दार्शनिक/आध्यात्मिक संवाद गर्दा म आफूलाई ‘नायक’को रूपमा उभ्याउँछु र केहीछिनमै त्यो नायकको विम्ब
सिसाझैँ फुट्छ ।
म व्यावसायिक गीतकार हुँ । तर, कर्णदासजस्तो गायक भने पाएको छुइनँ । मलाई नेपाली संगीतमै कर्णदास नभएको अतृप्ता महसुस हुन्छ । तीजस्ता गायनशिल्पीलाई नेपालले पक्कै मिस गरेको हुनुपर्छ । मेरो बुबा सुधानिधि तिवारी कर्णदासको गीत सुन्नुहुन्थ्यो । उहाँ ‘जन्मिँदा एक्लै’ सुन्दै भन्नुहुन्थ्यो– ‘बाबु तेरो यो गीत मलाई निकै मनपर्छ ।’ दुर्भाग्य, आज उहाँ यस संसारमा हुनुहुन्न । जब–जब म यो गीत सुन्छु, मेरो पिजाती एउटा बेन्चीमा टोलाउँदै यो गीत सुनेको साँझको सम्झना आउँछ । म कर्णदाससँग मेरो असफल प्रेमको कुरा गर्थें । उनीचाहिँ कैयन संगीतकार र गीतकारले पारिश्रमिकमा झुलाएको कुरा गर्थे । चार वर्षअघि उनी अमेरिका जाँदा म आमा
(ललिता तिवारी) को अवसानको पीडामा थिएँ र उनलाई भेट्न पाइनँ ।
मेरा चार सय बढी गीत रेकर्ड भइसके । तर, ‘जन्मिँदा एक्लै’ मेरो ‘सिग्नेचर सङ’ बनेको छ । यो पनि कर्णदासलाई सम्झने अर्को कारण बनेको छ । कर्णदास मलाई बेला–बेला परीकथा सुनाउँथे । काठमाडौंमा आपातकालीन दिन बिताउने उनी प्राय: कालो रंगको लुगामा मेरोअघि प्रकट हुन्थे । काठमाडौंमा उनको खल्ती रित्तो हुन्थ्यो, उनलाई यहाँ घर बनाउनु थिएन, गायक बन्नु थियो, त्यसैले घर बनाउनचाहिँ उनी अमेरिकै पुगेका हुन सक्छन् । जीवन कुनै बटुवाले बजाएको बाँसुरीझैँ संगीतमय छ । र, भव्य एक्लोपना बाँकी छन् । जीवनमा घटनाहरूको साँच्चै कमी हुँदैनन् । उनी विदेश पलायन हुनु पनि नेपाली संगीतका लागि एउटा महान् दुर्घटना थियो ।

प्रतिक्रिया