स्लिमको विपक्षमा

फास्टफुड खाद्य संस्कृतिका कारण पश्चिमा मुलुकमा ‘मोटापे’ बढेका अध्ययन रिपोर्टहरू बारबार अखबारहरूमा आइरहेकै हुन् । उनीहरूमा ‘स्लिम’ हुने प्रशस्त चाह छ भन्ने पनि पढ्न पाइएकै हो । तर, जबसम्म उनीहरू अर्गानिक खान्कीमा फर्कंदैनन्, उनीहरूको ‘मोटापे’को कुनै समाधान छैन । यो उदाहरण उति मिल्दो त छैन तर नेपाली माक्र्सवादी सौन्दर्य चिन्तन र समालोचनामा भीमकाय व्यक्तित्वका निनु चापागाईंलाई भने यस उल्टो ‘स्लिम’ समालोचनामा उति साह्रो विश्वास छैन । स्वयं निनु चापागाईंले एकपटक ठट्टा गर्दै भनेका थिए, ‘होइन हो, निनु चापागाईंले छोटो समालोचना लेख्यो भने त अचम्म भइहाल्यो नि †’
साझा प्रकाशनबाट हालै प्रकाशित ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ ग्रन्थबाहेक यसअघि प्रकाशित उनका ग्रन्थहरू पढ्ने हो भने जोकोहीलाई पनि यो निष्कर्षमा पुग्न कुनै अप्ठ्यारो लाग्ने छैन । तर, पश्चिमी ‘मोटापे’ र निनूकरण भएको मोटोपनमा भने आधारभूत भिन्नता छ । पश्चिमीहरूको खान्कीमा अर्गानिकताको अभाव भएका कारण मोटापे बढेको हो भने चापागाईंका रचनामा चाहिँ अर्गानिकता (माक्र्सवादी दर्शन र सौन्दर्य चिन्तनलाई मज्जाले पचाएर गरिएको विश्लेषण) प्रचुर भएर मोटोपन आएको हो । पश्चिमा मोटापे स्वास्थ्यका लागि हानिकारक छ, निनूकृत मोटोपनचाहिँ वैचारिक समृद्धिका लागि लाभदायी ।
उनको पछिल्लो कृति ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ आवेगका साथ पढेको हुँ । केही रचना त पहिल्यै पत्रपत्रिकामा पढिसकेको थिएँ । तर, यसमाथि प्रतिक्रियात्मक समीक्षा लेख्ने कुराचाहिँ ‘स्लो मोसन’को नाच हुन पुग्यो, ‘आस्ते आस्ते गुरुजी’ जस्तै । हप्तौँ भयो लेख्न थालेको कहिल्यै पूरा भएको होइन † निनु चापागाईंलाई ‘दाइको पुस्तकमाथि म घगडान समीक्षा लेख्दै छु है’ भनेर कति दिन ढाँट्नु ? आखिर ढाँट्नुको पनि त सीमा हुन्छ ।
ग्रन्थ चार सयभन्दा बढी पृष्ठको छ । यसमा राजनीतिमा ‘किरण’, साहित्यमा ‘चैतन्य’ नामले परिचित मोहन वैद्यको दस पृष्ठ लामो भूमिका जोड्नुस् । अरू अगडम–बगडम छँदै छ । यति भएपछि पुगिहाल्छ चार सय चौबीस पृष्ठ । जसमा विभिन्न कालखण्डमा लेखिएका मोटामोटा तेह्र थान समालोचना र टिप्पणी समेटिएका छन् । समीक्षा लेख्न बस्दा अपर्झट दिमागमा आएको उटपट्याङ ‘आइडिया’ को वशमा परेर मैले ‘ब्ल्याक एन्ड ह्वाइट’ नोकिया मोबाइलको ‘एक्स्ट्रा’ शीर्षकअन्तर्गत रहेको क्यालकुलेटरमा हिसाब गरेको त प्रतिलेख औसतमा ३१.२३ पृष्ठ भाग पर्दो रहेछ । यो त औसतको कुरा हो, लक्ष्मीप्रसाद देवकोटा र रविलाल अधिकारीमाथि लेखिएको लेख साठी–साठी पृष्ठ लामो छ । योभन्दा मात्र पाँच पृष्ठ सानो रचना छ ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ । र, पहिलो नम्बरमा राखिएको ‘भानुभक्त र लोकतन्त्र’ तीस पृष्ठको छ । मेरो ‘ब्रह्मले देखे’अनुसार, यी रचनाहरू नै यस संग्रहको ‘एचक्यू’ (हेडक्वाटर) हो । यसमा पनि पार्टी अध्यक्षचाहिँ ‘भानुभक्त र लोकतन्त्र’ । ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ जसबाट पुस्तकको नाम जुराइएको छ, यो रचना मेरो ठम्याइमा वरिष्ठ उपाध्यक्ष मात्र हो । (अध्यक्ष हुँदैमा उसैको नामबाट पार्टीको नाम त जुराइँदैन नि । हामी यो पनि बुझ्न सक्छौँ ।)
यसमा मेरो भन्नु के हो भने रचना लामो हुनु आफैँमा बैगुन होइन । र, लामो लेख्नु कमजोरी पनि होइन । बरु कतिपय अवस्थामा लामो र मसिनोसँग नलेख्दा रचनाको ओजन नपुग्न सक्छ, रुन्चे बेथा (क्वासिवार्कर) लागेको बच्चाजस्तै । जस्तो कि निनुले भानुभक्तमाथि जसरी लेखेका छन्, जति लेखेका छन्, त्यति नलेखेको भए त्यो रचना या त अपूर्ण हुन्थ्यो, या अति नै खँदिलो । अर्कातिर, भानुभक्तमाथि समकालीन समाजको परिवर्तित आकांक्षाअनुसार नलेखेको भए सायद यो रचना झुर हुन्थ्यो । तर, यथार्थ के हो भने भानुभक्तमाथि थुप्रै झुर रचना लेखिएका कारण यो उत्कृष्ट रचनाको आवश्यकता परेको हो । भानुभक्तलाई पूरै क्षमा दिएर लेख्नेहरू अथवा भानुभक्तलाई सर्वोच्च स्थान दिएर लेख्नेहरूका लागि निनु चापागाईंको यो रचना धेरै शक्तिशाली हस्तक्षेप हो । यो रचनाबारे मैले निनु दाइसँग ठट्टा पनि गरेको थिएँ– ‘दाइलाई त ‘भानुभक्त र लोकतन्त्र’ लेखेबापत डोरबहादुर विष्ट बनाउने खतरा रहेछ ।’ नेपाली समाजको एकात्मक सोचको वैशाखी नचढ्ने हो भने भानुभक्तको सांस्कृतिक नायकत्वलाई अब कुनै पनि अर्थमा स्वीकार गर्न सकिँदैन । भानुभक्तमाथि यसअघि नै नयाँ शिराबाट सुरु भइसकेको बहसलाई निनु चापागाईंले साहसिलो उचाइ दिएका छन् । भानुभक्तमाथि उनले उठाएको प्रश्न समकालीन समाजले सानाठूला थुप्रैथरी एकात्मक सत्ताहरूमाथि सोधिरहेको प्रश्न हो ।
निनु चापागाईंको अर्को बलशाली रचना ‘दलित साहित्य र सौन्दर्यशास्त्र’ पनि परम्परागत नेपाली बौद्धिक र उनीहरूले कब्जामा राखेर राज गरिरहेका अखडाहरूमाथि गतिलो चुनौती हो । हिन्दू वर्णवादको चरम सिकार भएका उत्पीडित जातिहरूको छुट्टै सौन्दर्यदृष्टि अथवा शास्त्र हुन्छ कि हुँदैन, यसबारे नेपालमा गम्भीर बहस प्रारम्भ भइसकेको छैन । भारतमा त यो बहसले धेरै गति लिइसकेको देखिन्छ । यसैलाई सन्दर्भमा राखेर निनु चापागाईंले नेपाली सन्दर्भमा दलित साहित्य र त्यसको सौन्दर्यशास्त्रमाथि नयाँ थालनी गर्ने प्रयत्न गरेका छन् । तर, यो दलित सौन्दर्यशास्त्रसम्बन्धी पूर्ण रचना भने होइन । विषय उठान जो भएको छ त्यो नै यस रचनाको सामथ्र्य हो । यसमाथि निनु चापागाईंले नै पनि निकै काम गर्ने ठाउँ बाँकी छ जस्तो लाग्छ । यस्तो माग गर्ने हक यो रचनाले दिएको छ ।
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा निनु चापागाईंको स्तरबाट अर्को एउटा प्रश्नमाथि पनि ध्यान जानुपर्ने देखिन्छ । त्यो हो ‘नेपाली साहित्य’ । अब खस भाषामा लेखिएको साहित्य मात्र नेपाली साहित्य हुन सक्दैन । अब पनि एउटा भाषामा लेखिएको साहित्यलाई मात्र नेपाली भन्ने हो भने त्यो सांस्कृतिक अधिनायकत्व र झडपको कारण मात्र बन्न पुग्छ । नेपालमा बोलिने, लेखिने सबै मातृभाषाका साहित्य नेपाली साहित्य हो भन्ने बृहत्तर सोच र संघीयताको मर्मलाई निनु चापागाईंले पनि ध्यान दिन सकेका छैनन् । यो खट्किने विषय हो ।
यस संग्रहमा मूलत: स्रष्टाकेन्द्रित समालोचनाहरू समावेश छन् । त्यसमध्ये लक्ष्मीप्रसाद देवकोटा, नरेन्द्र चापागाईं र रविलाल अधिकारीमाथि निकै न्यायपूर्वक र सांगोपांगो लेखेका छन् चापागाईंले । अन्य कतिपय रचनाहरू भने यसअघिका उनका रचनाहरूको पूरकझैँ लाग्छ । कतिपय लेख लेख्न बाँकी र अपूर्ण लाग्छन् । खासगरीकन भानुभक्त, देवकोटा, दलित साहित्य र सौन्दर्यशास्त्रमाथि लेखिएका उनका रचना पढेपछि त्यो बोध हुन्छ । तर, यतिचाहिँ पक्का भन्न सकिन्छ, आफूले आफैँमाथि गरेको ठट्टाको मान भने निनु चापागाईंले गर्विलोसँग राखेका छन् ।

प्रतिक्रिया