विद्यार्थीद्वारा आन्दोलनको चेतावनी

काठमाडौं : विद्यार्थी नेताहरूले नौ विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच भएको सहमति कार्यान्वयन नभए अर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारसँग भएको सहमति जुनै मूल्यमा भए पनि कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ ।
नौ विद्यार्थी संगठनले उच्च माध्यमिक शिक्षा परिषद् र सिटिइभिटीबारे उठाएका मागको सम्बोधन भएपछि उपलब्धि सार्वजनिक गर्न शुक्रबार गरिएको कार्यक्रममा विद्यार्थी नेताले सहमति जसरी पनि कार्यान्वयन गर्ने जनाएका हुन् । शिक्षा मन्त्रालयको वार्ता टोली र नौ विद्यार्थी संगठनबीच बिहीबार सम्झौता भएको थियो । अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले जसरी पनि सहमति कार्यान्वयन गराउने प्रतिबद्धता जनाए । नेविसंघका अध्यक्ष रञ्जित कर्णले सहमति कार्यान्वयन नभए आन्दोलनको अर्को कार्यक्रम घोषणा गरिने बताए ।
उच्च माध्यमिक विद्यालयले अबदेखि एक सिजनमा एक लाख ५० हजार रुपियाँभन्दा बढीको विज्ञापन गर्न नपाउने भएका छन् । भड्किलो विज्ञापन गर्न नपाउनेलगायत माग राखेर आन्दोलनमा लागेका नौ विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच बिहीबार भएको वार्तामा यस्तो सहमति भएको हो । नेविसंघका नेता लेखनाथ पोखरेलका अनुसार बिहीबार शिक्षा मन्त्रालयका तर्फबाट टेकनारायण पाण्डे र आन्दोलनरत नौ विद्यार्थी संगठनबीच ११ बुँदे समहति भएको थियो । वार्तामा उच्च माविमा छात्रवृत्ति वृद्धि गर्ने, विदेशी नामलाई तीन महिनामा परिवर्तन गर्नेलगायत विषयमा सहमति भएको छ ।     अन्जु लामा (प्रशिक्षार्थी)

प्रतिक्रिया