चन्दा नदिए अहेवलाई मार्ने धम्की

ताप्लेजुङ, १५ भदौं । पाँचथरको सुभाङ गाविसमा रहेको उपस्वास्थ्यचौकीका अहेव रामविलाश चौधरीलाई चन्दा नदिए मारिदिने धम्की आए पछि उनले आफ्नो ज्यान बचाई दिन आग्रह गरेका छन् ।
गत साउन–३० गते तराई रेड आर्मी लेखिएको हस्तलिखित लेटरप्याड प्रयोग गरेको कागज प्राप्त भएको र उक्त कागजमा आफूलाई २ लाख रुपियाँ चन्दा नदिए मार्ने धम्की आएको उनले बताए ।
गत भदौ–९ गते राति पनि एक नकाबधारी समूह आएर १५ दिन भित्र रकम ठीक पार्न भनेको उनले जानकारी दिए । ‘कि पैसा दे, कि ज्यान दे लेखिएको कागजको टुक्रा छोडेर गएका छन्,’ पीडित चौधरीले भने, ‘दिने पैसा पनि छैन मेरो ज्यान जोखिममा छ ।’
चौधरीको लिखित उजुरी नआए पनि धम्कीको खबर पाउने वित्तिकै अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । कुनै पार्टी वा संगठन निकट नभएर स्थानीय युवाहरुले त्यस्तो गरेको हुन सक्ने उनको भनाई छ ।

प्रतिक्रिया