नेपालको फितलो प्रदर्शन

काठमाडौं, १५ भदौ । माल्दिभ्सविरुद्ध १–२ ले पराजित हँुदै भारतीय राजधानी नयाँदिल्लीमा जारी नेहरूकप फुटबल प्रतियोगितामा आफ्नो यात्रा सुरु गरेको नेपाल अन्तिम लिग खेलमा बिहीबार सिरियाद्वारा २–० ले पराजित भएको छ ।
आफ्नो दोस्रो खेलमा क्यामरुनविरुद्ध ०–५ को ठूलो अन्तरले पराजित भए पनि नेपाल तेस्रो खेलमा भने ‘स्पिरिटेड’ प्रदर्शन गर्दै आयोजक भारतविरुद्ध गोलरहित बराबरीमा रहन सफल रहेको थियो ।
प्रतियोगिताकै कमजोर टोलीको ‘टयाग’ पाएको नेपाल यसबीचमा सबै पक्षमा कमजोर देखियो । यही प्रवृत्ति सिरियाविरुद्धको खेलमा पनि कायम रहयो । अन्तिम खेलमा हार व्यहोर्ने क्रममा नेपालले कमजोर रक्षापंक्तिका कारण दुवै गोल व्यहोर्न पुगेको हो । नवौँ मिनेटमा हानि अल्तायर र ४९आँै मिनेटमा अलि घलियोमले सिरियाका लागि गोल गरेका थिए । नेपाली डिफेन्डरले निगरानी नगर्दा सिरियाका खेलाडीले सहजै गोल गरे । अन्य खेलमा झँै सिरियाविरुद्ध ‘स्टाइलविहीन’ भएको नेपाली टोली निकै अव्यवस्थित र योजनाविहीन देखिएको थियो ।
दोस्रो हाफमा जुमानु राई र भरत खवासको ठाउँमा अनिल गुरुङ र सन्तोष साहुखललाई प्रवेश गराइए पनि उनीहरूले खेलमा नेपालको तर्फबाट सुधार ल्याउन सकेनन् । फाइनल पुग्न असफल यी दुई टिमबीचको भिडन्त सान्त्वना जितका लागि थियो । सिरियाले पनि यसअघिका खेलमा जित हात पार्न सकेको थिएन ।
माल्दिभ्सविरुद्धको कमजोर प्रदर्शनपछि दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी क्यामरुनविरुद्ध पराजित हँुदै नेपालको फाइनल पुग्ने सम्भावना समाप्त भएको थियो । क्यामरुनविरुद्ध नेपाली खेलाडीहरू र समग्रमा टिमको प्रदर्शन विर्सनलायक रहयो । कुनै पनि नेपाली खेलाडीको प्रदर्शन व्यावसायिक स्तरको रहन सकेन । वर्षाले प्रभावित भारतविरुद्धको खेलमा भने नेपालले राम्रो प्रदर्शन गरेको थियो । खासगरी गोलकिपर किरण चेमजोङले स्तरीय र प्रशंसायोग्य प्रदर्शन गरे । त्यसअघिका खेलमा कमजोर प्रदर्शन गरेका गोलकिपर रीतेश थापाको ठाउँमा चोटका बाबजुद आएका किरणले भारतीय आक्रमणलाई पटकपटक विफल पारेका थिए । सिरियाविरुद्ध पनि किरणको व्यक्तिगत प्रदर्शन निकै राम्रो रहेको थियो । उनले सिरियाका केही आकर्षक र बलिया प्रहारलाई रोके पनि मैदानका अन्य खेलाडीबाट अपेक्षित साथ पाउन सकेनन् ।
नेपालले यस प्रतियोगितामा एक अंक प्राप्त गर्‍यो भने एक गोल मात्र गर्न सक्यो । माल्दिभ्सविरुद्ध जुमानु राईले गोल गरेका थिए । भारतसँग बराबरी खेल्दै नेपालले अंक लिएको हो । राउन्ड रोविनका आधारमा सञ्चालन भएको यस प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी भएको हो । दुई लाख अमेरिकी डलर उपाधि राशि रहेको यस प्रतियोगिताको यसपटकको फाइनलमा भारत र क्यामरुन भिड्ने पक्का भइसकेको छ । भारत पछिल्ला दुई संस्करणको विजेता हो ।

प्रतिक्रिया