शोधनान्तर बचत हालसम्मकै उच्च

काठमाडौं १५, भदौ । आर्थिक वर्ष ०६८।६८ मा देशको शोधनान्तर स्थिति हालसम्मकै उच्च देखिएको छ । अघिल्लो वर्ष एक अर्ब मात्र रहेको शोधनान्तर बचत सो वर्ष एक खर्ब २७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष दुई अर्ब १८ करोडले मात्र शोधनान्तर बचतमा रहेको थियो । खासगरी विप्रेषण आयमा भएको उल्लेख्य वृद्धि एवं सेवा खातामा भएको उल्लेख्य सुधारका कारण चालु खातामा उत्साहजनक बचत भएको नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकी डलरमा समीक्षा वर्षमा शोधनान्तर बचत एक अर्ब ५७ करोड २७ लाख डलर पुगेको छ भने चालु खाता बचत ९० करोड ९० लाख डलर पुगेको छ । अघिल्लो वर्ष शोधनान्तर बचत तीन करोड ४७ लाख अमेरिकी डलर तथा चालु खाता घाटा १७ करोड ७० लाख अमेरिकी डलर रहेको थियो । आव ०६८/६९ मा चालु खाता ७५ अर्ब ९८ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता १२ अर्ब ९४ करोड रुपियाँले घाटामा रहेको थियो ।
विगत केही वर्षदेखि घाटामा रहेको खुद सेवा आय समीक्षा वर्षमा १४ अर्ब ६ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्ष खुद सेवा खाता घाटा आठ अर्ब ६७ करोड रुपियाँ रहेको थियो । सेवाअन्तर्गत अघिल्लो वर्ष पर्यटन आय साढे प्रतिशतले ह्रास भएकामा समीक्षा वर्षमा २४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, खुद ट्रान्सफर आय अघिल्लो वर्षको ८ दशमलव ९ प्रतिशत वृद्धिका तुलनामा समीक्षा वर्षमा ३७ दशमलव ३ प्रतिशतले वृद्धि भई ४ खर्ब २२ अर्ब ७७ करोड पुगेको छ । ट्रान्सफरअन्तर्गत विप्रेषण आप्रवाह अघिल्लो वर्षको ९ दशमलव ४ प्रतिशत वृद्धिको तुलनामा समीक्षा वर्षमा ४१ दशमलव ८ प्रतिशतले वृद्धि भई ३ सय ५९ अर्ब ५५ करोड रूपियाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति चार खर्ब ३९ अर्ब ४६ करोड रुपियाँ पुगेको छ आर्थिक वर्ष ०६८/६९ को आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले ११ दशमलव ६ महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
समीक्षा वर्षमा उद्योग विभागले सात अर्ब १४ करोडको वैदेशिक लगानी प्रतिबद्धता भएका कुल दुई सय २७ वटा विदेशी संयुक्त लगानीका कम्पनीहरु स्थापना गर्न स्वीकृति प्रदान गरेको छ । विभागले अघिल्लो वर्ष १० अर्ब पाँच करोडको वैदेशिक लगानी प्रतिबद्धता भएका कुल दुई सय नौवटा यस्ता कम्पनी स्थापना गर्न स्वीकृति दिएको थियो । समीक्षा वर्षमा दर्ता भएका कुल दुई सय २७ वटा परियोजनामध्ये सेवासम्बन्धी एक सय ६, पर्यटनसम्बन्धी ६४ वटा, उत्पादनसम्बन्धी ३१, कृषिसम्बन्धी १५, खानीसम्बन्धी सात र ऊर्जासम्बन्धी चारवटा रहेका छन् । अघिल्लो वर्ष स्वीकृत भएका यस्ता परियोजनामध्ये सेवासम्बन्धी ८८, पर्यटनसम्बन्धी ४७, उत्पादनसम्बन्धी ३९, कृषिसम्बन्धी २३, ऊर्जा सम्बन्धी ६, खानीसम्बन्धी पाँच र निर्माणसम्बन्धी एकवटा परियोजना रहेका थिए । अघिल्लो वर्षका तुलनामा समीक्षा वर्षमा सेवा तथा खानीसम्बन्धी परियोजनाको संख्या तथा लगानी रकम दुवैमा वृद्धि भएको छ भने कृषि तथा उत्पादनसम्बन्धी परियोजनाको संख्या तथा लगानी रकम दुवैमा गिरावट आएको छ ।

प्रतिक्रिया