विश्वकै होचाहोचीको इटलीमा भेट

काठमाडौं, १५ भदौ । विश्वकै होचा मानिसको कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको कीर्तिमान थपिएको छ । उनले विश्वकै होची महिला ज्योति अम्गेसँग भेटेर नयाँ कीर्तिमान राखेका हुन् ।
इटालीमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ ले गरेको कार्यक्रममा सँगै सहभागी भएर डाँगी र अम्गेले संयुक्त रूपमा कीर्तिमान कायम गरे । विश्वकै होचा पुरुष र महिलाबीच यसअघि भेट भएको थिएन । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले आफ्नो वेबसाइटमा बिहीबार दुईजनाले सँगै खिचाएको फोटो सार्वजनिक गरेको छ । गिनिज बुकको वार्षिक पुस्तक (सन् २०१३ को अंक) को प्रचार–प्रसार गर्ने उद्देश्यले उनीहरूलाई सँगै राखी फोटो खिचाइएको हो ।
फोटोमा नेपाली नागरिक डाँगी र भारतीय नागरिक अम्गे दुवै परम्परागत पोसाकमा देखा परेका थिए । ७२ वर्षीय डाँगी र १८ वर्षीय अम्गेबीचको उमेरमा ठूलै भिन्नता रहे पनि भेट हुँदा उनीहरू एकअर्कासँग जिस्केको गिनिज बुकले जनाएको छ ।
काठमाडौंबाट अढाई सय माइल पूर्वको रिमखोला गाउँ स्थायी घर भएका डाँगीले गत फेब्रुअरीमा विश्वकै होचो मानिसको दर्जा पाएका थिए । ५४.६ सेन्टिमिटर उचाइका उनले २२.५ इन्च अग्ला भारतीय नागरिक गुल मोहम्मदको कीर्तिमान भंग गरेका थिए । नयाँ कीर्तिमान थपेपछि मख्ख पर्दै डाँगीले भने, ‘फेरि (गिनिज बुकमा) नाम लेखाउन पाउँदा म असाध्यै खुसी भएको छु ।’ आफ्नो नयाँ कीर्तिमान परिवार, गाउँ र पूरै राष्ट्रको गौरवको विषय भएको उनले बताएका छन् । भारतीय नागरिक अम्गेले १८औँ जन्मदिनका अवसरमा गत डिसेम्बर १६ मा विश्वकै होची महिलाको उपाधि प्राप्त गरेकी थिइन् । मध्यभारतको नागपुर स्थायी घर भएकी उनी ६२.८० सेन्टिमिटर अग्ली छन् । बेलायतमा भव्य कार्यक्रमका बीच सेप्टेम्बरमा गिनिज बुकको वार्षिक पुस्तक सार्वजनिक हुनेछ ।

प्रतिक्रिया