पूर्वमन्त्रीका छोराले लिए दुईवटा नागरिकता

बाग्लुङ, १५ भदौ । पूर्वजलस्रोत राज्यमन्त्री नारायण शर्मा पौडेलका छोराले दुई स्थानबाट नागरिकता लिएको आशंकामा प्रहरीले छानबिन सुरु गरेको छ ।
पौडेलका छोरा सागर शर्मा पौडेलले पर्वत र चितवनबाट नागरिकता लिएको आशंकामा छानबिन सुरु गरिएको हो । पर्वतको कटुवाचौपारी–५ घर भएका पौडेल लामो समयदेखि चितवनमा बस्दै आएका छन् । ४७ वर्षीय सागरले अहिलेसम्म नागरिकता नलिएको विवरण पेस गरेर जिल्ला प्रशासन कार्यालय पर्वतबाट ४ साउन ०६९ मा ५१–०१–६९–००९२१ नम्बरको नागरिकता सागर शर्मा पौडेलको नाममा लिएका हुन् ।
नारायण शर्मा पौडेल नेपाली कांग्रेसका तर्फबाट चितवनबाट तत्कालीन प्रतिनिधिसभाको सदस्य पदमा निर्वाचित भएर जलस्रोत राज्यमन्त्रीसमेत बनेका थिए । उनका परिवारका सबै सदस्यको चितवनबाटै नागरिकता बनेकाले सागरको समेत चितवनबाट यसअघि अरू नै नाममा नागरिकता लिइसकेको अनुमान गरिएको छ । सागरले राहदानीसमेत बनाएर चितवनबाट नागरिकता लिई विदेशसमेत गएर आएको प्रशासनका कर्मचारीले अनुमान गरेका छन् । ‘पहिलेको नागरिकताको नाममा उनी कुनै अपराधमा फसेकाले नयाँ नाममा पर्वतबाट नागरिकता लिएको हुनुपर्छ,’ प्रशासनका एक उच्च अधिकृतले भने । सागरको नागरिकतामा सिडिओ टेकबहादुर केसीको निर्देशनमा सहायक सिडिओ तुलसी पौडेलले हस्ताक्षर गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले दोस्रो नागरिकता लिएको आशंकामा उनलाई राहदानी नदिन परराष्ट्र मन्त्रालयमा सिफारिस गरेको छ । सागरले पर्वत जिल्लाबाट राहदानीका लागि सिफारिस नलिएको तर अन्यत्रबाट बसाइसराइको आधारमा सिफारिस गरेर लिन सक्ने आशंका गर्दै २४ साउनमा पत्र पठाएको थियो भने २९ साउनमा नागरिकता आशंकाको घेरामा परेको भन्दै अनुसन्धान पूरा नभएसम्म नागरिकता नदिन भनिएको छ । प्रशासनको पत्रमा ‘अनुसन्धान जारी रहेसम्म निज (सागर) राहदानी लिन आएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न पठाइदिनुहोला’  भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयले पौडेलको नागरिकताबारे छानबिन भइरहेको र अहिलेसम्म यकिन नभएकोले आशंकाकै घेरामा रहेको बताएको छ । सिडिओ टेकबहादुर केसीले समस्या परेको भन्दै आएकाले विश्वासका आधारमा नागरिकता दिइएको स्वीकार गरे  । ‘पहिले लिएका छैनन् भन्ने विश्वासका आधारमा दिइएको हो,’ उनले भने, ‘गाविस सचिवले सिफारिस गर्न नमानेपछि आशंकामा छानबिन थालेका हौँ ।’
नागरिकताको प्रमाणपत्र लिनका लागि गाउँ विकास समितिका सचिवले सिफारिस गर्नुपर्छ । कटुवाचौपारी गाविसका सचिव शिवप्रसाद अधिकारीले नागरिकताको सिफारिस गर्नका लागि केही समय बुझ्नुपर्ने बताएपछि जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले गरेको सिफारिसमा नागरिकता दिइएको हो ।
सापकोटाले जिल्ला विकास समितिमा सभापतिको भूमिका निर्वाह गरिरहेका एलडिओ कृष्णप्रसाद लम्सालको निर्देशनमा सिफारिस गरेको बताए । एलडिओ आफैले सिफारिस नगरी योजना अनुगमन तथा प्रशासकीय अधिकृतमार्फत सिफारिस गराएकाले वैधानिक नहुने स्रोतको दाबी छ । नागरिकता लिनका लागि अस्थायी अभिलेखमा नाम हुनुपर्ने तथा शैक्षिक योग्यताका प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ तर कुनै प्रमाणपत्र पेस नगरे पनि नागरिकता दिइएको छ ।
सर्वसाधारणले नागरिकता माग्न आउँदा अनेक प्रमाण खोज्ने स्थानीय प्रशासनले ठूलावडाका लागि भने कागजी प्रमाणविना नै गैरव्यक्तिको सिफारिसकै आधारमा नागरिकता बनाएको प्रशासनकै एक कर्मचारी बताउँछन् । गाविस सचिवलाई पछि सिफारिस गराउने गरी अधिकृत सापकोटालाई सिफारिस गराए पनि गाविस सचिव अधिकारीले सिफारिस गरेका छैनन् । नागरिकताको सिफारिस गर्ने अधिकार स्थानीय निकायबाहेक अरूलाई छैन ।
नागरिकतामा बाबु नारायण शर्मा पौडेल र काका जिल्ला विकास समिति पर्वतका पूर्वउपसभापति राम शर्मा पौडेलले पहिले नागरिकता नलिएको भनेर सनाखत गरेका छन् । उनी लामो समयसम्म भारतको आसाममा बसेका थिए । पूर्वमन्त्री शर्माको आर्थिक अवस्था सामान्य भएको र राजनीतिक आन्दोलनमा लागेका कारण मावलीले नै सागरलाई पालनपोषण गरेको बताइएको छ । उनले अहिलेसम्म नागरिकता नलिएको र विवरण पनि झुटो नभएको काका राम शर्मा पौडेलले दाबी गरे । लामो समयसम्म आसाममा बसेकाले नेपाली नागरिकता नलिएको उनको भनाइ छ । सिडिओ केसीले दुई ठाउँबाट नागरिकता लिएको भेटिएमा छानबिन गरी रद्द गर्ने र कानुनी प्रक्रिया सुरु गर्ने बताए ।

प्रतिक्रिया