सुनको सिक्री र मंगलसत्रु लुटपाट

काठमाडौं, १४ भदौ । राजधानीमा दैनिक सरह लुटपाट र चोरीका घटना बढि रहेका समयमा पुनः काठमाडौंको नैकाप–९ बस्ने सुन्तली महजर्नलाई नसालु पदार्थ मिसाएको फ्रुटी खुवाएर अज्ञात समूहले लुटपाट गरेको छ ।
६८ बर्षीया महर्जनले घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री र कानमा लगाएको रिङ लुटपाट भएको प्रहरीले जनाएको छ । उनलाई बुधबार स्वयम्भूको डल्लुमा अपरिचित व्यक्तिहरुले नशालु पदार्थ मिसाएको फ्रुटी खुवाई बेहोस बनाएर लुटेका हुन् ।
यता, गोंगबु जलबिनायक चोकमा बस्ने एक महिलाले घाँटीमा लगाएको मंगल सुत्र लुटिएको छ ।
तेह्रथुम जिल्ला घर भएकी ३० बर्षीया हरिमाया भट्टराई गएराति नयाँ बसपार्क नजिकै रहेको लालीगुँरास दोहरी साँझ अगाडिबाट लुटिएकी हुन् ।
नयाँ बसपार्कस्थित कान्तिपुर मलमा रहेको पसल बन्द गरेर फर्कने क्रममा नम्वर खुल्न नसकेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उनले घाँटीमा लगाएको १ तोलाको मंगलसुत्र लुटेर भागेका थिए ।
उता, लम्जुङमा चक्कु प्रहार गरेर नगद लुटी फरार भएका धमिलिकुवा–४ बस्ने ३० बर्षीय टकेन्द्रप्रसाद सिलवाललाई प्रहरीले आज पक्राउ गरेको छ ।
उनले गएराति धमिलिकुवा र तार्कुघाट गाविसको सीमानाको लुखोला भन्ने स्थानमा धमिलिकुवा–५ बस्ने ४० बर्षीय गोपाल नेपालीलाई चक्कु प्रहार गरी नगद ४० हजार रुपियाँ लुटेका थिए ।
घाइते नेपालीलाई उपचारका लागि बेशिशहर सामुदायिक अस्पताल लगिएको छ ।

प्रतिक्रिया