इंग्लिस कप्तान स्ट्रसले लिए सन्न्यास

लन्डन, १४ भदौ । इंल्यान्डका टेस्ट कप्तान एन्ड्रियु स्ट्रसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले १० वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर समाप्त भएको घोषणा गर्ने क्रममा अब व्यावसायिक क्रिकेटसमेत नखेल्ने बताएका छन् ।
विगत तीन वर्षयता स्ट्रस टेस्ट टिमका कप्तान थिए । स्ट्रसको सन्याससँगै अहिले एकदिवसीय क्रिकेटमा इंल्यान्डलाई कप्तानी गरिरहेका एलेस्टर कुुकले टेस्टमा पनि उक्त जिम्मेवारी पाउनेछन् । टेस्टमा शीर्ष वरियता गुमाउने गरी दक्षिण अफ्रिका विरुद्ध भएको शृंखला हार र विवादहरूबीच केभिन पिटरसनलाई टिमबाहिर राख्ने निर्णयका कारण पछिल्लो समय इंग्ल्यान्ड क्रिकेट निकै चर्चामा आएको थियो । यद्यपि, पिटरसन विवादका कारण आफूले सन्यास नलिएको स्ट्रसले स्पस्ट पारेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध शृंखला सुरु हुनुअगावै आफूले सन्यासको बारेमा विचार गरेको भन्दै पिटरसन घटनाको प्रभावलाई आफ्नो पछिल्लो निर्णयमा भूमिकाविहीन भएको स्पस्ट पारेका हुन् । उनले आफ्नो खराब लयलाई सन्यासको कारण मानेका छन् । सन् १९९७ देखि क्रिकेट खेल्न सुरु गरेका स्ट्रसको अन्तर्राष्ट्रिय खेल जीवन भने सन् २००३ मा सुरु भएको थियो । सन् २००९ देखि उनी राष्ट्रिय कप्तान भएका हुन् ।
‘केही सातादेखि म कप्तानबाट राजीनामा दिएर अन्तर्राष्ट्रिय क्रिकेटबाटै सन्यास लिने मनस्थिति बनाइरहेको थिएँ,’ स्ट्रसले भनेका छन्, ‘यस्तो निर्णय लिनु निकै कठिन हुँदो रहेछ तर इंग्ल्यान्ड क्रिकेट र मेरा लागि समेत यो निर्णय हितकारी हो भन्ने विश्वास छ ।’
यसबीचमा आफूलाई दु:खसुखमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै स्ट्रसले अगाडि थपेका छन्, ‘इंग्ल्यान्ड टिमका खेलाडी, प्रशिक्षक, स्टाफ र मैले खेलेको क्लब मिडिलसेक्स सबैप्रति आभारी छु ।’ ३५ वर्षीय स्ट्रसले भर्खरै दक्षिण अफ्रिकाविरुद्ध लडर््स मैदानमा खेलेर आफ्नो सयौँ टेस्ट म्याच पूरा गरेका थिए । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलापछि उनले भनेका थिए, ‘म अब केही समय ब्रेक लिएर त्यसपछि भविष्यबारे सोच्न चाहन्छु ।’ स्ट्रसले क्रिकेटरका रूपमा आफूले पाएका सम्पूर्ण कुरामा आफूलाई गर्व रहेको बताएका छन् । ‘इंग्ल्यान्डका ठूला खेलाडीले खेलेको समयमा उनीहरूसँग आफू पनि खेल्न पाउँदा निकै खुसी अनुभव भयो । मैले यसबीच हरेक मिनेटलाई माया गरेँ । अब म इंग्ल्यान्ड टिमको राम्रो दर्शक बन्नेछु ।’
दक्षिण अफ्रिकाविरुद्ध भर्खरै सम्पन्न टेस्ट शृंखला स्ट्रसका लागि निकै कठिन रह्यो । आफ्नो खराब प्रदर्शन र पिटरसनका कारण उत्पन्न तनावले उनलाई धेरै नै अप्ठेरो बनाएको थियो । उनले दक्षिण अफ्रिकाविरुद्धको तीन म्याचको टेस्ट शृंखलामा सबैभन्दा राम्रो इनिङका रूपमा ३७ रन जोडेका थिए । यसै वर्षको अन्त्यतिर भारतविरुद्ध हुने टेस्ट शृंखलामा कुकले इंग्ल्यान्डलाई कप्तानी गर्नेछन् । गत वर्ष उनी एकदिवसीय टिमको कप्तान भएका थिए । कुकले स्ट्रसको योगदानको खुलेर प्रशंसा गरेका छन् । ‘इंग्ल्यान्ड क्रिकेटका लागि पछिल्लो समय स्ट्रसले गरेको योगदान हरेक क्रिकेटरका लागि अनुकरणीय र उदाहरणीय छ । टिमको सफलतामा स्ट्रसको योगदान हामी खेलाडी जति अरू कमैलाई थाहा होला ।’ स्ट्रसको सन्यासपछि कुकले भनेका छन्, ‘उनी साँच्चै असल कप्तान हुन् । इंग्ल्यान्ड क्रिकेटलाई विगत साढे तीन वर्षदेखि अग्रपंक्तिमा रहेर सम्हालेका उनी क्रिकेटका सही एम्बेसडर हुन् । यतिबेला उनको सन्यासलाई लिएर टिमका अन्य सबै सदस्य दु:खी छन् ।’
यता इंग्ल्यान्ड क्रिकेट बोर्डका कार्यकारी प्रमुख डेभिड कोलियरले स्ट्रसको योगदानलाई लिएर उनलाई धन्यावद दिएका छन् । ‘कठिन परिस्थितिमा शान्त भएर टिमलाई सम्हाल्न सक्ने स्ट्रसको क्षमताको सबैले तारिफ गर्नुपर्छ ।’ सन् २००४ मा न्युजिल्यान्डविरुद्ध खेलेर टेस्ट क्रिकेटमा डेब्यु गर्ने क्रममा उनले सतक बनाएका थिए ।
कप्तानका रूपमा स्ट्रसले सन् २००९ र २०११/१२ मा इंल्यान्डलाई दिलाएको एसेज शृंखला सधैँ सम्झना भइरहनेछ । उनले कप्तानकै रूपमा इंल्यान्डलाई टेस्ट वरीयता क्रममा शीर्षस्थानमा पुर्‍याएका थिए । भर्खरै दक्षिण अफ्रिकाविरुद्ध बेहोरेको टेस्ट शृंखला हार स्ट्रस कप्तान भएयता तेस्रो थियो भने घरेलु मैदानमा पहिलो । इंग्ल्यान्डका लागि एक सय टेस्ट म्याच खेल्ने क्रममा उनले ४०.९१ औसतमा सात हजार ३७ रन बनाएका थिए । यसमा उनले ५० टेस्टमा इंग्ल्यान्डलाई कप्तानी गरे जसमध्ये २४ वटामा जित हात पारेका थिए । सन् २००६ मा पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा उनी टोलीका कप्तान थिए । ग्राह्म स्मिथ कप्तान रहेको अवधिमा दक्षिण अफ्रिकाविरुद्ध खेलिरहेका बेला वा खेलेलगत्तै राजीनामा वा सन्यास लिने स्ट्रस इंग्ल्यान्डका तेस्रो कप्तान हुन् । सन् २००३ मा नासिर हुसेन र सन् २००८ मा माइकल भनले स्मिथको कप्तानीमा खेलेको दक्षिण अफ्रिकाले सफलता हात पारेपछि पद छाडेका थिए ।
स्ट्रसले टेस्ट क्रिकेटमा २१ सतक र २७ अर्धशतक बनाएका छन् भने एकदिवसीय क्रिकेटमा १ सय २७ खेल खेल्दै ४ हजार २ सय ५ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले ६ सतक र २७ अर्धशतक बनाएका छन् । त्यस्तै, चार टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेले पनि यस स्वरूपको क्रिकेटमा भने उनी जम्न सकेनन् । एजेन्सी

प्रतिक्रिया