बढी सामानले हवाई दुर्घटना

काठमाडौं, १४ भदौ । हवाई यात्राका क्रममा तोकिएभन्दा बढी सामान लिनखोज्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा हवाई यात्रा गर्ने प्रत्येक यात्रुले सामान बढी लिनेगरेका कारण दुर्घटनाको जोखिम बढेको हो ।
विशेषगरी विदेश यात्राका क्रममा स्वदेशबाट सस्तो सामान विदेश पुर्‍याई खर्च जोगाउने लोभले यात्रुले बढी सामान लिने गरेका छन् । आन्तरिकतर्फ पनि दुई/चार केजी बढी सामानका लागि यात्रुले कर गर्ने गरेको कर्मचारीहरू बताउँछन् । ‘बढी सामान लिनखोज्नु जोखिमपूर्ण भए पनि कतिपय यात्रुलाई यो कुरा बुझाउन गाह्रो पर्छ,’ तारा एयरको त्रिभुवन विमानस्थलस्थित काउन्टरका एक कर्मचारीले भने । सुरक्षा संवेदनशीलताका कारण बढी सामानका लागि कर नगर्न यात्रुलाई उनको आग्रह छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिएभन्दा बढी सामान मिलाइदिने दलालहरूको गिरोह नै सक्रिय छ । उनीहरूले केही पैसा लिएर बढी सामान लैजान सहयोग गर्छन् । काठमाडौंबाट सोमबार बैंकक हुँदै लन्डन जान लागेका यात्रु पुष्प दाहालले पाँच हजार रुपियाँ दलाललाई दिएर केही बढी सामान लैजान लागेको बताए । कतिपयले पर्यटकीय सिजनमा सामान बढी लिन विमानस्थल तथा एयरलाइन्सका उच्च अधिकारीलाई फोन गर्न लगाउने गरेका छन् ।
दलालले समान मिलाउन प्रतिकेजी दुई सयदेखि एक हजार रुपियाँसम्म लिनेगरेको यात्रुको भनाइ छ । त्रिभुवन विमानस्थलमा बोर्डिङ पासका लागि काउन्टरमा रहेका अपरेसन प्रमुखको आँखा छलेरसमेत दलालहरूले बढी सामान मिलाउने गरेको विमानस्थल कर्मचारी बताउँछन् ।
हवाई यात्रामा बढी सामान लिन प्रयत्न गर्नु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) तथा श्रम कानुनविरुद्ध मानिन्छ । हवाई सुरक्षाका लागि तौलको संयोजन महत्त्वपूर्ण हुने भएकाले यसमा लापरवाही गर्न नहुने विज्ञ बताउँछन् । दुई वर्षअघि तारा एयरको ट्विनअटर जहाज बढी तौलका कारण दुर्घटना भएको थियो । ट्विनअटर जहाजले उडान गर्दा पाँच हजार ६ सय ७० केजी मात्र बोक्न पाउने भए पनि योभन्दा बढी तौल लिएको छानबिन प्रतिवेदनको निष्कर्ष थियो । प्रतिवेदनका अनुसार तौल बढी हँुदा जहाजको गति र उचाइ लिने क्षमतामा ह्रास आउँछ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने विमान कम्पनीले गन्तव्यअनुसार फरक–फरक तौलसम्म सामान बोक्न पाउने व्यवस्था गरेका छन् । यात्रु चाप व्यवस्थापन गर्न गन्तव्यअनुसार सामानको तौल मिलाउने गरेको विमान कम्पनीले बताएका छन् । आन्तरिक उडानमा प्रतियात्रु १५ केजी र अन्तर्राष्ट्रिय उडानमा २० केजी बराबरको सामान लिन पाउने व्यवस्था छ । तर, चाडबाड तथा हवाई यात्रुको चाप बढ्ने सिजनमा सामानको तौल घटाउने गरेको पाइन्छ ।
सामान हराउने तथा टुटफुट हुने गरेको विमानस्थल व्यवस्थापनको भनाइ छ । विमानस्थल प्रशासन तथा विमान कम्पनीमा दैनिकजसो सामान हराएको उजुरी पर्ने गरेका छन् । विमानस्थल अधिकारी भने यात्रुकै लापरबाहीका कारण सामान चोरी हुने बताउँछन् । विमानस्थल सुरक्षा अधिकारीका अनुसार मासिक २० भन्दा बढी यात्रुको सामान हराउने गरेको छ ।

प्रतिक्रिया