मैले भोगेको वज्रपात

गद्य कविताका क्षेत्रमा बेजोड हस्ती मानिन्छन्, कवि तुलसी दिवस । जीवन भोगाइका यथार्थहरूलाई समुचित विम्बमार्फत कवितामा उधिन्ने खुबी भएका यी काव्यशिल्पीको व्यक्तिगत जीवनचाहिँ आफैँमा एउटा वियोग–काव्यजस्तो लाग्छ । दैनन्दिन भोगाइलाई जीवन सिकाउने पाठशाला ठान्छन् उनी, जहाँ उनले नियतिको कठोर वज्रपात सहेका छन्, तर पनि हाँस्नुपर्छ भन्ने सिकेका छन् । तीता भोगाइहरूको गहिराइसम्मै पुगेर जीवन–दर्शनको छुट्टै दृष्टान्त सँगेलेका छन् । पाँच वर्षअघि भएको एउटा सवारी दुर्घटनामा परिवारका पाँच सदस्य एकैपटक गुमाए उनले । जीवनभरिका लागि नमीठो ऐकान्तिकतामा धकेलिदियो दैवले । जिन्दगीका यिनै दुर्दान्त अनुभवहरूमा टेकेर मुलुकको साहित्यसमृद्धिमा लागिपरेका कवि दिवसको दृष्टिमा उनको जीवन–दर्शन :
हरिया बोटबिरुवाले ढपक्कै ढाकिएको छ, मेरो घर । प्रांगणमा फैलिएको हरियो दूबोको लयालु चौर, वरिपरि धूपीका हरिया बोटहरू । आउनेहरूले यो हरियोपनमा बाहिरी इन्द्रियले बोध गराउने सामान्य रंग मात्रै देख्लान् । तर, मैले देख्ने रंग फरक छ । म त्यहाँ जीवनको रंग देख्छु । मेरो भित्री हृदयले हरियो चोलो र सारी लगाएर घाम तापिरहेकी मेरी मुमालाई देख्छ । मेरा लागि यो रंग जीवनको मौलिकतासँग जोडिएको छ, जहाँ म आफ्नै किसिमले रम्न अभ्यस्त भएको छु । जिउनुमा छुट्टै उत्साह थपिएको अनुभूति हुन्छ ।
जीवनमा आउने मोडहरू पनि मान्छेले भोगाइलाई हेर्ने रंगसँग नै जोडिएको पाउँछु म । रंगहरूको संयोजनबाट इन्द्रेणी बनेजस्तै जीवन पनि विम्बहरूको संयोजन रहेछ । सुख, दु:ख, विस्मात्, वेदना, मिलाप, वियोगजस्ता रंग मिसिएर बनेको जीवन–इन्द्रेणी । इन्द्रेणीमा कुन रंगको प्रवलता हुन्छ, फरक कुरा हो । तर, जीवनमा इन्द्रेणी सधैँ रहँदैन, बेलाबेला आउँछ र विलुप्त हुन्छ । विम्बहरूका फरक–फरक रंगसँग नतर्सने (नभाग्ने) मानिसले नै जीवनलाई साँचो अर्थमा उपभोग गर्छ ।
मेरो भोगाइले भन्छ– मानिसजस्तो असहाय र निरीह प्राणी कुनै छैन । एकैछिनमा आइपर्ने आँधी र बाढीलाई छेक्न सक्दैन, त्यो उसको वशमा छैन पनि । मीठा रंगहरू भरेर जिउन चाहन्छ हरेक मान्छे तर समयको एकै झोँकाले उत्साहका रंगहरू बदलिदिन्छ । चुपचाप सहन बाध्य हुन्छ । लाग्थ्यो– मेरो जीवन पनि इन्द्रेणीको एक सुन्दर लहर हो । तर, समयको एउटै धक्काले त्यो इन्द्रेणी हरायो । जीवनलाई सुन्दर रंगले पोतिएको क्यानभास अनि त्यसबाट आउने आभा मात्रै ठानियो भने त्यो सोचाइले आफैँलाई कमजोर बनाउँदो रहेछ । जब कुनै मोडले नयाँ धरातलमा उभ्याउँछ, मानिस निरीहताको मैदानमा उभिन पुग्छ, नि:सहाय । त्यही निरीहता महसुस गरिरहेछु म अहिले । र, यसैभित्र चिहाइरहेछु जीवनको अर्थ पनि ।
६ वर्षअघि मुमाले संसार छोड्नुभयो । बाबा हुनुहुन्थ्यो । असाध्यै माया गर्ने दिदी, बहिनी र भाइ थिए । तर, दैवले एकैपटक उहाँहरूलाई मबाट चुँडेर लग्यो । विपत्तिको आकस्मिक प्रहारसामु कति निरीह भएँ म † आफन्तको संरक्षणबाट टाढा, अभिभावकत्व चुँडिएको टुहुरो † बिछोडको पीडा असह्य थियो तर साथ लागेर जान पनि नसकिँदो रहेछ । अहिले लाग्छ– जिन्दगी जे भयो त्यो भयो, त्यसलाई ‘नभएको’ बनाउन सकिँदैन । जे भएन त्यो भएन, त्यसलाई ‘भएको’ बनाउन पनि सकिँदैन । यिनै भोगाइ लिएर बाँचिरहेछु जिन्दगीको पछिल्लो अंश । रंगहरूको विम्बमा अर्थ खोज्दै संवेदनालाई कवितामा उनेर जिइरहेको छु ।
हिजोआज लाग्छ, सबैभन्दा ठूलो ज्ञान भोगाइ हो । जीवन पढ्ने भनेको नै भोगाइलाई विश्लेषण गरेर पारदर्शी जीवन जिउनु हो । हरेक मान्छेले भोगाइको सीमाभित्र बसेर जीवन बुझिरहेको हुन्छ । सम्झिरहन्छु पाँच वर्षअघिको त्यो हृदय निचोर्ने घटना । काठमाडौं आउने क्रममा धन्सार खोलाको बाढीले भाइ जीवन, दिदीबहिनी समी, जयन्ती, इन्द्राणी र ज्वाइँ नरोत्तमराजको जीवनलीला एकैपटकमा समाप्त पार्‍यो । माइक्रोबसमा मेरा परिवारका आठ जना आइरहेका थिए, भान्जाको बिहेका लागि । धन्सार खोलामा पुल बन्दै रहेछ । बन्नुपर्ने पुल राजनीतिक भ्रष्टाचारका कारण समयमा सम्पन्न भइरहेको थिएन । बर्खाको समय थियो, औंसीको रात । कल्भर्टबाट खोला पार गर्ने क्रममा गाडी बालुवामा फसेछ । सबै जना गाडीबाट निस्किएर खोला पार गर्न लाग्दा एक्कासि बाढी आयो, पाँच जनाको जीवन एकैपटकमा बगायो । यता काठमाडौंमा म उहाँहरूलाई कुरिरहेको थिएँ । बिहान ५ बजेतिर फोन बज्यो । सोचेँ ‘सबै जना आइपुगेछन् ।’ तर, खबर सोचेभन्दा ठ्याक्कै उल्टो थियो– ‘सबै जनालाई बाढीले एकैपटक समाप्त गर्‍यो ।’ बगाउनु बीस मिनेटअगाडि उहाँहरूको उत्साहित आवाज सुन्न पाएको थिएँ– ‘हामी आउँदै छौँ है †’ तर त्यही आवाज अन्तिम रहेछ ।
मृत्यु भएका सबै जनाको शव भने त्यही पुलबाट ल्याउन स्वीकृति दिइयो । जीवित छँदै मेरा परिवारले त्यही पुलबाट आउन पाएका भए आज म आँगनीको तुलसीको मठ नियाल्दै एक्लो तुलसी भएर बाँच्नुपर्ने थिएन । आमाको सट्टामा प्यार दिने दिदीबहिनी साथै हुन्थे । आड दिने प्यारो भाइको साथ टुट्दैनथ्यो । राजनीतिक भ्रष्टाचार र ढिलासुस्तीले मजस्ता कतिको परिवार टुटाइदिएको छ ।
त्यो घटना नमीठो सपनाजस्तो लाग्छ । विश्वास नै गर्न सक्दिनँ । त्यो वेदना व्यक्त गर्ने सामथ्र्य अझै छैन मसँग । त्यही चिन्ताले बुबा पनि बित्नुभो डेढ वर्षपछि, ९५ वर्षको उमेरमा । जापान बसिरहेको भाइ बुबाकै लागि नेपाल फर्किएको थियो । कान्छो छोरा फर्किएपछि बिरामीले थलिएका मेरा पिता खुसीले तंग्रिनुभएको थियो ।
अहिले म भतिजसँग बसिरहेको छु । ७१ वर्ष पुगेँ । अहिले जीवनलाई च्यातिएको कागजका टुक्रासँग तुलना गर्न मन लाग्छ । कुनै बेला आएको एउटा पत्र च्यातेर नालीमा मिल्काउँदा टुक्राहरूमा मैले जीवनका विभिन्न पाटा अनुभूत गरेको थिएँ । टुक्राहरू बहँदै टाढा पुगे । कुनैलाई हावाको झोँकाले अझ पर पुर्‍यायो, कुनै टुक्रा त्यहीँ अल्झिरहे । मानिसको जीवनले पनि कागजका तिनै टुक्राझैँ एउटै समय, एउटै परिवेशमा फरक–फरक गन्तव्य पहिल्याउन पुग्छ ।
परिवारको वियोगले छातीमा बनाएको भ्वाङ अझै टालिएको छैन । त्यसको प्रभाव मनमा मात्रै होइन, हरेक स्मृतिमा छन् । एक्लोपनले पोलिरहन्छ र पनि म निष्क्रिय भएर बस्न सकिनँ । निष्क्रियता त एक महाशून्यता हो, त्यसले अँध्यारोको मात्रै मन्त्रणा गर्छ । त्यसैले म गतिशील छु । बैठक कोठाको टेबुलमा स्वर्गीय परिवारका तस्बिर सुरक्षित छन् । हरेक दिन हरियो पातसहित फक्रिएका फूलगुच्छा तस्बिरको आडैमा राखिदिन्छु, धूप बाल्छु अनि दैनिकी अगाडि बढाउँछु ।
जीवनको गोरेटोमा एक्लै हिँड्न विवश भइने रहेछ । जीवनलाई टक्क अड्याएर राख्न पनि नसकिने । हिजोआज लाग्छ– म बुद्धत्व प्राप्त गरेर मुक्तिको बाटोमा हिँडिरहेको छु, जन्मबाट सुरु भएर मृत्युमा अन्त्य हुने जीवनको मध्यपंक्तिमा । भोगाइहरूलाई कवितामा छताछुल्ल बगाउन सक्ने शब्दहरूले नै यही जीवनमा ‘नांगो सत्य’ स्वीकार गर्न सक्ने सामथ्र्य दिलाएझैँ लाग्छ मलाई ।
हिँड्दा–हिँड्दै मोडमा,
हिँडेको बाटो नै मोडिएपछि,
हिँड्नेको पनि केही लाग्दो रहेनछ †
उक्लँदा–उक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लेपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ †
पहाडघर धनकुटाको उकालो सकसपूर्वक चढ्दै गर्दा रचना गरेको यो कविता सम्झन्छु । आफ्नो बाटो पनि त्यस्तै रहेछ भनी स्वीकार्छु । जिन्दगीको पहाड चढ्नेहरू जीवनलाई उकाली नै सोच्छन् । ओराली झर्नेहरूले जीवनका मोडलाई ओह्रालो नै देख्छन् । जीवन बाटोजस्तै हो । जहाँबाट जीवनसँगको सम्बन्ध स्थापित गरिन्छ, जीवनलाई परिभाषित गर्ने आधार पनि त्यही नै हुन्छ । जीवनको ‘नांगो सत्य’ सँग परिचालित भएर मृत्युलाई स्वीकार गर्नुपर्छ, निरीहतासाथ । सोच्छु– ‘दु:ख पर्‍यो भन्दैमा चुपचाप सुतेर पनि त जिन्दगी रोकिँदैन नि †’ त्यसैले एक्लिएर बाँच्नु निरर्थक देख्छु । समाजका यथार्थसँग आफ्नो ज्ञानको सदुपयोगले नै मानिसको जीवन सार्थक हुन्छ ।
आफ्नो मान्छेसँगको वियोगले प्रेमको अर्थलाई अझ बलियोसँग बुझ्न मद्दत गर्ने रहेछ । मैले बिहे गरिनँ तर यसको अर्थ यो होइन कि मैले जीवनमा प्रेम नै गरिनँ । पारिवारिक माया मात्रै होइन, प्रेमिकाको आत्मिक प्रेमको अनुभूति पनि मसँग छ । अनि, वियोगको पीडा पनि । प्रेमभावले चट्टान त रसाएर आउँछ भन्छन्, म त कोमल हृदय भएको मानव । मायाको पूर्णता थाहा छ, रित्तिएर एक्लो हुनुको अनुभूति पनि छ । परिभाषाभित्र नअटाउने सम्बन्ध हो प्रेम । टुट्न सक्छ, ओइलिएर झर्न पनि सक्छ, पलाएर परिपक्व बन्न पनि सक्छ । यही अनुभूति त जीवन हो । सायद यस्ता सुखदु:खका अनुभूति नभए मानव, मानव हुने थिएन । अनुभूति व्यक्त गर्ने माध्यम विकसित हुने थिएनन् । मजस्ता कविले आफ्ना भोगाइलाई पारदर्शी बनाएर व्यक्त गर्ने सामथ्र्य राख्ने थिएनौँ । म जे भोग्छु, त्यही कविता लेख्छु । प्रेमिकाको वियोगमा तड्पिएर ‘रातो गुलाब’का कविता रचना भएका हुन् । ‘हिँड्दाहिँड्दै..’ कविता जीवन भोगाइको उपज हो । विभिन्न शीर्षकमा विभाजित भएर जीवनका भाव कवितामा पोखिएका छन्, जसले जीवनका उकाली–ओरालीलाई भावनाका शब्दमार्फत समाजमा पोख्ने बाटो बनाएको छ । यिनै भोगाइले मभित्र कविताको गर्भाधान गराउँछ ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया