बोक्सीको आरोपमा आगो लगाइयो

राजविराज, १४ भदौ । कथित बोक्सीको आरोपमा सप्तरी, मोहनपुरमा एक महिलालाई आगोले पोलिएको छ । मोहनपुर–१ की २८ वर्षीया ललितादेवी भगतलाई बोक्सीको आरोपमा धामीझाँक्री र स्थानीयले आइतबार राति कुटपिट गर्नुका साथै आगोले पोलेर घाइते बनाएका हुन् ।

भगतलाई गाउँले तथा आफूलाई महथा बताउने बर्मझिया निवासी झाँक्रीले रातभर कुटपिट गरेको तथा आगोले पोलेर घाइते बनाएको छिमेकी तारणी चौधरीले बताए । कुटपिट तथा आगोले पोलेका कारण भगतको टाउको, ढाडलगायत शरीरका विभिन्न भागमा घाउ लागेको छ । उनको सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
बहिनीलाई अनाहकमा यातना दिएको भन्दै दाजु वीरेन भगतले मंगलबार इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो । मोहनपुर–१ निवासी सन्तोष भगतकी भाइबुहारी शर्मिला भगत बिरामी भएपछि झारफुक गर्न महिला झाँक्री बोलाइएको थियो । झारफुकका क्रममा बिरामी शर्मिलाले ललितादेवीले नै आफूलाई भूत लगाइदिएको बताएपछि आक्रोशित समूहले घरबाट तानेर ललितालाई घटनास्थलमा पुर्‍याएका थिए । आफूलाई घरैबाट उठाएर घटनास्थलमा पुर्‍याएर यातना दिएको पीडितको भनाइ छ ।
पीडित महिलाले कुनै टुनामुना नजानेको र कसैलाई भूत नलगाएको बताइन् । उनले धामीझाँक्री र कुटपिट गर्नेलाई कारबाहीको माग गरिन् । पीडितका पति अनिरुद्र भगत वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
करिब तीन महिनाअघि पनि वरही
वीरपुर–५ की ३८ वर्षीया सुजनदेवी यादव र त्यसको दुई महिनाअघि वभनगामा कट्टी–३ चकलाटोलकी ४८ वर्षीया सियादेवी मण्डललाई समेत बोक्सीकै आरोपमा छिमेकी तथा धामीझाँक्रीले कुटपिट गरेर घाइते बनाएका थिए ।

प्रतिक्रिया